पावर समिटमा भए तीन समझदारी

 मंसिर ६, २०७६ शुक्रबार २०:५८:२१ | रासस
unn.prixa.net

काठमाण्डाै - स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट, २०१९ को क्रममा विभिन्न तीन सम्झौता एवं समझदारीमा हस्ताक्षर भएको छ ।

सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेस्टमेन्ट लिमिटेड (एचआईडीसीएल) र भारतको सरकारी स्वामित्वको एनएचपीसी लिमिटेडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सरकारले जलविद्युत् आयोजनामा लगानी जुटाउनका लागि स्थापना गरेको एचआइडिसिएलसँग दुवै छिमेकी देशका प्रख्यात कम्पनीले सहकार्य गर्न लागेका हुन् ।

यसअघि चीनको सरकारी स्वामित्वकै पावर चाइनासँगसमेत समझदारी भइसकेको छ । पावर समिटका क्रममा भएको समझदारीले भारतको प्रविधि, ज्ञान तथा लगानी भित्र्याउनका लागिसमेत मार्ग प्रशस्त भएको एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताउनुहुन्छ । 

एनएचपीसी भारतको केन्द्रीय सरकारको स्वामित्वको सरकारी कम्पनी हो । कम्पनीले भारत र भुटानमा जलविद्युत्मा लगानी गरिसकेको छ । एनएचपीसीले हिमाञ्चल प्रदेशमा १८० मेगावाटको बैरासिलु पावर स्टेशन, ५४० मेगावाटको चमेरा, ३०० मेगावाटको चमेरा दोस्रो र २३१ मेगावाटको चमेरा तेस्रो जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेको छ । 

प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार सरकारले अगाडि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्नका लागि आफ्नो संस्थाको भूमिका विशेष हुने भएकाले पनि ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खोलिएको हो । 

पावर समिटकै क्रममा भारतको इण्डियन इनर्जी लिमिटेड र स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इपान)बीच समेत समझदारीमा हस्ताक्षर भएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो । अध्यक्ष गुरागाईँका अनुसार सरकारले सरकारीस्तरमा, निजी क्षेत्रले निजीस्तरमा नै सहकार्य गरी देशको आवश्यकतालाई सम्बोधन गर्ने प्रयासस्वरुप समझदारीमा हस्ताक्षर भएको बताउनुभयो । 

यस्तै आज नेदरल्याण्ड्सको वित्तीय संस्था एफएमओ र नेपाल बैंकर्स सङ्घबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया