'चित्र लैजानुस्, पैसा हाेइन अस्पताललाई चाहिने सामान दिनुस्'

 मंसिर ८, २०७६ आइतबार १२:५२:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम – ‘यदि तपाईँलाई इच्छा लाग्यो भने यहाँका चित्रहरु लैजान सक्नुहुनेछ, बदलामा अस्पतालका लागि आवश्यक पर्ने सामग्रीहरु दिन सक्नुहुनेछ, हामी नेपालमा एउटा सामुदायिक अस्पताल बनाउँदैछाैँ’– सन् २०११ मा जर्मनीमा भएको एक जना नेपालीको एकल चित्रकला प्रदर्शनीस्थलमा लेखिएको वाक्य हो यो ।

प्रदर्शनीमा चित्र हेर्न आएकाहरु माथिको वाक्यको भावले दंग परे । एउटा कलाकारको कलाकारिता भित्रको अर्को नविनतम् एवम् उच्चतम सोचले नेपालको नवलपुर जिल्लामा पहिलो पटक ५१ शैेयाको अस्पताल बनेको छ । 

‘जीवनको लागि कला र समुदायका लागि कला’ भन्ने सोच बोक्नुभएका कलाकार भीम शर्माको लोभलाग्दो कला, सिर्जना र पृथक सोचाइको परिणाम हो, नवलपुरको सहज सामुदायिक अस्पताल । 

चित्रकला सजिलै नबिक्ने समाजमा चित्रै कोरेर अस्पताल सुरु गर्ने भीमको सिर्जनशीलताले फरक तरंग पैदा गर्ने गरेको छ । कलाकारिताको हुटहुटीले स्थायी शिक्षण पेशा त्यागेर कलाकारिता अँगाल्नुभएका शर्माको जन्म बागलुङमा भएको हो । उहाँ नवलपुरको गैँडाकोटका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ सानैदेखि प्रकृति र चराचुरुङ्गीको चित्र कोर्न बढी रुचि राख्नु हुन्थ्यो ।  

सन् २०११ को मार्च र अप्रिल महिनामा जर्मनीका तीन वटा शहर विटमण्ड, स्कोर्टेन्स र विलम्स हेभनमा उहाँले एकल चित्रकला प्रर्दशनी गर्नुभयो । जहाँ नेपालका चराहरुको बारेमा कोरिएका चित्र र रंगिएका भावहरु सार्वजनिक भएका थिए । 

चित्र प्रदर्शनीमा उहाँले चित्रको कुनै मूल्य राख्नुभएन र माग्नुभयो उपचार अभावमा अकालमैै ज्यान गुमाउने ग्रामीण नेपाली नागरिकको लामो आयु । कलात्मक चित्र साटेर उहाँले अस्पतालका लागि आवश्यक सरसामाग्री जुटाउनुभयो र बन्यो जिल्लाकै एकमात्र ५१ शैयाको सहज सामुदायिक अस्पताल । 

जर्मनीका केही चिकित्सक, त्यहाँको नगरपालिकाका मेयर, लेखकलगायतसँगको सहकार्यमा गरिएको चित्रकला प्रदर्शनीका १ सय १९ वटा सबै चित्रको सट्टामा अस्पतालका लागि बेड, डिजिटल एक्सरे मेसिन, अल्ट्रासाउण्ड मेसिन, ल्याबको सामाग्री, अपरेशन थिएटरको सामाग्रीलगायत थुप्रै सामाग्री प्राप्त भयो । 

आफूले अथक मेहनत गरेर कोरेका चित्रहरु प्रदर्शनी गरेर जनताको स्वास्थ्य सेवाका आधार माग्ने शर्माले स्वदेश तथा विदेशमा पटक पटक एकल चित्रकला प्रदर्शनी गर्दै आइरहनु भएको छ । जर्मनीमा चित्रसँग साटेका अस्पताल सञ्चालनका सामाग्री ल्याउन उहाँले धुलिखेल अस्पतालका डा. रामकण्ठ मकाजुको सहयोग लिनुभयो ।  

अस्पताल निर्माणको अभियानमा जुट्नुभएका भीमलाई पटक पटक लाग्थ्यो ‘एउटा समुद्रको बीचमा म एक्लै हाम फालेको छु, सक्छु कि सक्दिनँ ।’ उहाँको यो परिकल्पनाअनुसार गैँडाकोट क्षेत्रका व्यक्तिसँगको सहकार्यमा गैँडाकोटमा अस्पताल बनेको हो । नवलपुरको गैँडाकोटमा रहेको सहज सामुदायिक अस्पतालमा अहिले चित्रकला प्रदर्शनीकै क्रममा पाइएका अत्याधुनिक सामाग्रीहरु छन् ।   

हुँदाखाँदाको जागिर छोडेर कलाकारितामा होमिनु भएका भीम शर्मालाई कलाकारिताको नशाले यतिसम्म तान्यो कि उहाँले स्थायी शिक्षण पेसा नै छोडिदिनु भयो । विक्रम संवत २०४० सालको कुरा हो, मुस्ताङको एक विद्यालयको प्रधानाध्यापक रहुनुभएका शर्माले जाडो बिदामा घर आएका बेला गैँडाकोटमा चलेको ‘मिनी सर्कस’का लागि पोस्टरहरु बनाउनुपर्ने भयो । 

त्यही बेला वरिष्ठ कलाकार एवं साहित्यकार गोविन्दराज विनोदीसँग शर्माको भेट भयो र उहाँसग मिलेर झण्डै दुई महिना कार्यक्रमका लागि पोूटर बनाउनुभयो । फोटोग्राफी, साइनबोर्ड लेख्ने काम पहिलेदेखि नै गर्दै आउनुभएका शर्मालाई साहित्यकार विनोदीले कलाकारिताको प्यास देखेर स्कुल छोड्न सुझाउनुभयो । आफ्नै रुचीमा फर्कन गरेको विनोदीको आग्रहलाई स्वीकारेर शर्माले तत्काल जागिर छोड्नुभयो । त्यसपछि औपचारिक रुपमा नै चित्रकलातर्फ शर्माको यात्रा सुरु भयो । 

गैँडाकोटमा विनोदीले सुरु गर्नुभएको प्रेस पसलसँगै शर्माले फोटाग्राफीको कामलाई अगाडि बढाउनुभयो । चित्र बनाउन बु्रस, रंग र क्यानभाससँगै भीमसँग अहिले पनि एउटा क्यामरा छुुुट्दैन । उहाँ जति मनमोहक चित्र उतार्नुहुन्छ, त्यति नै लोभलाग्दो फोटो पनि खिच्नुहुन्छ । 

अहिलेसम्म नौ वटा एकल चित्रकला प्रदर्शनी गरिसक्नु भएका शर्मा भन्नुहुन्छ, ‘नेपालमा कलाकृतिको बिक्री निकै कम हुन्छ । यहाँ हुने चित्रकलामा बिक्रीको झण्डै ६० प्रतिशत विदेशीहरुले किन्छन् ।’ उहाँले अहिलेसम्म जर्मनी, क्यानडा, डेनमार्क, अफगानिस्तान, भारत, कोरिया लगायतका देशमा प्रदर्शन गरिसक्नुभएको छ ।

अफगानिस्तानको वामियामा नेपालको प्रतिनिधित्व गर्दै उहाँसहित १० जना नेपाली कलाकारले सार्क चित्रकला प्रदर्शनी गर्नुभएको थियो । जसमा शर्माका तीन वटा चित्रहरु समावेश थिए । प्रदर्शनीमा एउटै चित्र ७० हजार रुपैयाँको हाराहारीमा बिक्री भएको उहाँले भन्नुभयो । 

त्यस्तै एनआरएनले डेनमार्कमा आयोजना गरेको नेपाली साँस्कृतिक तथा सामाजिक अभ्यास विषयमा आधारित प्रदर्शनीमा पनि उहाँका चित्रहरु बिक्री भएका थिए । गएको वर्ष कोरियामा आयोजना भएको प्रदर्शनीमा उहाँका दुई वटा चित्रहरु ६ सय डलरमा बिक्री भएका थिए । शर्माले अहिलेसम्म तीन हजारभन्दा बढी चित्रहरु क्यानभासमा कोर्नुभएको छ भने पाँच वटा चित्रकथाहरु प्रकाशित गर्नुभएको छ । 

विशेषगरी प्रकृति, मानिसको दैनिकी, चराचुरुङ्गीको जीवन लगायतका विषयलाई आधार मानेर चित्र कोर्न रुचाउने शर्मा अहिले चराचुरुङ्गीको जीवनमा आधारित चित्रहरुको प्रदर्शनी गर्ने तयारीमा पनि हुनुहुन्छ । चित्र कोर्ने सुरुवाती समयमा फोेटोग्राफी र साइनबोर्ड बनाएर गुजारा चलाउनु भएका उहाँ आफ्नो भित्री आत्माले चाहेर नै चित्रकारितामा लागेको बताउनुहुन्छ । 

नवलपुरको गैँडाकोट नगरपालिका ५ मा रहेको कलावती आर्ट काउन्सिलमा उहाँका एक हजारभन्दा बढी चित्रकला छन् । काठमाण्डौ उपत्यकाबाहिर यो नै एउटा ठूलो आर्ट ग्यालरी हो । पेन्टिङ किन्ने र सजाउने प्रवृति नेपालमा विकसित नभइसकेको उहाँको अनुभव छ । ‘प्रायः विदेशीहरुले नै किन्ने गर्छन् । काठमाण्डौमा आर्ट किन्ने संस्कारको सुरुमात्रै भएको छ । तर राजधानीबाहिर यसको प्रचलन छैन’ शर्माले भन्नुभयो । 

शर्मा आर्टको माध्यमबाट समाज र राष्ट्रका लागि योगदान गर्नुपर्नेमा जोड दिनुहुन्छ । आर्ट बनाउने र बिक्री मात्र गर्ने होइन, त्यसका माध्यमबाट समाजको आवश्यकता र अवस्थाअनुसार त्यसको सदुपयोग हुनुपर्नेमा शर्मा  जोड दिनुहुन्छ । कलाकार भीम शर्माको कला, कौशल, सीप, मेहनत, आदर्श सोच, नवीन कार्यशैलीले हरेकलाई केही गरेर देखाउन प्रेरित त गर्छ नै, समाजमा अविस्मरणीय छाप बसाल्न पनि मार्गदर्शक बनेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया