रेड स्टार बेल्ग्रेडको पोस्टमा बायर्न म्युनिखको आधा दर्जन गोल

 मंसिर ११, २०७६ बुधबार ७:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिख समूहको विजेता बनेको छ । दुई खेल अगावै नकआउट चरणमा पुगिसकेको बायर्नले सर्वियाको रेड स्टार बेल्ग्रेडलाई ६–० ले हरायो ।

सर्वियामा भएको खेलमा बायर्नले एक पक्षीय खेल प्रस्तुत गर्‍यो । ७० प्रतिशतभन्दा बढी बल पोसेसन आफ्नो पक्षमा राखेको बायर्नले कुल १६ वटा सट फ्रेममा हानेको थियो । जसमध्य ६ वटा गोलमा परिणत भए । 

रोबर्ट लेवान्दोस्कीले चार गोल गर्दै यो सिजनको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिए । उनले १४ मिनेट ३१ सेकेण्डभित्र चार गोल गरेका थिए ।

१४औँ मिनेटमा लियोन गोरेज्काले फिलिप कोउटिन्होको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । 

५३औँ मिनेटमा पाएको पेनाल्टीलाई लेवान्दोस्कीले गोलमा परिणत गर्दै बायर्नको अग्रता लम्ब्याए । 

त्यसपछि ६०, ६४ र ६७औं मिनेटमा लेवान्दोस्कीले थप तीन गोल गरे । 

खेलमा निरीह बनेको रेड स्टारविरुद्ध कोरेन्टिन टोलिसोले ८९औं मिनेटमा छैटौं गोल गरे । 

यो सिजनको च्याम्पियन्स लिगमा बायर्नले मात्र शतप्रतिशत जित निकालेको छ । त्यससँगै समूह चरणमा अहिलेसम्म सबैभन्दा धेरै गोल गर्ने टिम पनि बायर्न नै हो । उसले पाँच खेलमा २१ गोल गरिसकेको छ । 

बायर्न म्युनिख समूह विजेता बनेर नकआउट चरणमा पुग्दा टोटनह्याम उपविजेता बनेको छ । टोटनह्याम स्टेडियममा भएको खेलमा जोसे मोरिन्होको टिमले ग्रिसको ओलम्पियाकोसलाई ४–२ ले हरायो ।

दुई गोलले पछि परेको अवस्थामा टोटनह्यामले नतिजा उल्टाएको थियो । छैटौँ मिनेटमै युसुफ एल अराबिले गोल गर्दै ओलम्पियाकोसलाई अग्रता दिलाएका थिए । १३ मिनेटपछि रुवेन सेमेडोले कर्नरबाट आएको बललाई गोलमा परिणत गर्दा टोटनह्याम २–० ले पछि रह्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा डेले अलिले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । 

दोस्रो हाफको खेल टोटनह्यामले आफ्नो पकडमा लियो । ५०औं मिनेटमा ह्यारी केनले लुकास मोउराको पासमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि ७३औँ मिनेटमा सर्जी अउरियरले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ७७औँ मिनेटमा क्रिष्टियन इरिक्सनको फ्रिकिकलाई ह्यारी केनले गोलमा परिणत गर्दै टोटनह्यामलाई नकआउट चरणको यात्रा गराए ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया