धरान उपचुनाव : तीन तहको सुरक्षा घेरा, छड्के जाँच र सीमामा निगरानी

 मंसिर १२, २०७६ बिहिबार १३:२८:२७ | सुमन पुरी
unn.prixa.net

धरान – उपचुनावलाई मध्यनजर गर्दै ध्यानमा राखेर सुनसरीमा तीन घेराका सुरक्षा योजना बनाइएको छ । 

निर्वाचन केन्द्र र मतदान गर्ने ठाउँको पहिलो घेरामा नेपाल प्रहरीले सुरक्षा दिनेछन् । मतदान गर्ने ठाउँभन्दा बाहिर सशस्त्र प्रहरीले सुरक्षा दिने छन् र त्योभन्दा बाहिरी घेरामा नेपाली सेनाले सुरक्षाको प्रबन्ध गर्ने छ  । 

साथै जिल्लाको सुरक्षा अवस्था र सुरक्षा संवेदनशीलताको सूचना संकलन र विश्लेषण गर्न राष्ट्रिय अनुसन्धान आयोगलाई परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनु भयो । 

चुनावमा घट्न सक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राखेर अहिले पनि गस्ती र छड्के जाँचलाई तीव्र बनाइएको छ । यो बाहेक सीमा नाकामा समेत सुरक्षा अवस्था कडा पारिएको पौडेलले जानकारी दिनुभयाे ।  

विप्वलको डर 

धरानको उपचुनावको सुरक्षा संवेदनशीलतामा विप्लव समूहको  डर रहेको सुरक्षा निकायले निश्कर्ष निकालेको छ । औपचारिक रुपमा सुरक्षा अवस्था मजबुत भएको भनिए पनि सुरक्षा निकायले विप्लव समूहको गतिविधिमा ध्यान राख्नेछ । 

एक जना प्रहरी अधिकृतका अनुसार सुरक्षा निकायको ध्यान अहिले नेत्र विक्रम चन्द नेतृत्वको नेकपामा केन्द्रित छ ।  सोमबारमात्रै धरानबाट विप्लवका नौ जना कार्यकर्ता पक्राउ परेका छन् । मंसिर १४ गतेको उपचुनावलाई लक्षित गरेर बम विस्फोटको योजना बनाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुलाई बम बनाउन प्रयोग हुने प्रेसर कुुकरसहित पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धरानको विशेष टोलीले उनीहरुलाई सोमबार धरानको भानुचोक र धरान १५ को निराजन वस्तीबाट पक्राउ गरेको थियो ।  उनीहरुको साथबाट नयाँ प्रेसर कुकर एक थानसहित आर्थिक सहयोगको रसिद दुई थान, मोबाइल सेट १० थान र सिम १२ थान बरामद भएको थियो । 

साथै उनीहरुको साथबाट एक लाख १२ हजार पाँच सय रुपैयाँ, डायरी एक थान र मोटरसाइकल दुई थान पनि बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले यसअघि धरानको भानुचोकबाट पुर्ववाईसीएल नेता रमेश ढकाललाई पक्राउ गरेको थियो । 

ढकालको बयानको आधारमा आधारमा धरान उपमहानगरपालिका १५ का वडाध्यक्ष नरेश इवाराम लिम्बुको पुख्र्यौली घरमा डेरा गरी बस्ने थप आठ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतकाअनुसार विप्लव कार्यकर्ताहरुले पोखरासँगै धरानमा पनि चुनावलाई लक्षित गरी बम पड्काउने तयारी गरेको थियो ।  

पक्राउ परेकाहरुको साथबाट केही महत्वपूर्ण डाइरी समेत बरामद गरिएको छ । जसमा चुनाव प्रभावित बनाउन कुन कुन ठाउँमा बम राख्ने योजना उल्लेख गरिएको बताइएको छ ।

तयारी पूरा 

धरान उपमहानगरपालिकामा हुने उपचुनावको तयारी पूरा भएको छ । यही मंसिर १४ गते धरान उपमहानगरपालिका प्रमुख र वडा नम्बर सातका अध्यक्षका लागि उपचुनाव हुँदैछ । यसका लागि मतदान केन्द्रमा गर्नुपर्ने आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । 

उपचुनावका लागि २८ ठाउँमा ९९ मतदान केन्द्र तोकिएको छ । धरानमा यस पटक ९२ हजार पाँच सय ५३ मतदाता रहेका छन् । यी मतदान केन्द्रमा बुधबारदेखि चार सय ९५ जना कर्मचारी खटाइएको छ । यस्तै मतदान सामग्री पनि पठाइएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी तथा निमित्त प्रमुख अजय मिश्रले बताउनु भयो । 

यसअघि नै जिल्ला निर्वाचन कार्यालय सुनसरीले मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन भइसकेको छ । मतदान केन्द्रमा पाँच जनाका दरले स्वयंसेवकसमेत परिचालन गरिने छ । सहायक निर्वाचन अधिकृत निधिराम दाहालका अनुसार  बुधबार रातिदेखि मौन अवधि सुरु भएकाले यस अवधिमा हुने आचारसंहिता उल्लंघनका घटना नियन्त्रणका लागि समेत अनुगमन भइरहेको बताउनु भयो । 

बुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरुले आवश्यक सामग्री बुझिसकेका छन् । शुक्रबार मतपत्र बुझ्ने कार्यक्रम रहेको छ ।  धरान उपचुनावमा मेयर पदका लागि २३ जनाको उम्मेद्वारी परेको छ । यस्तै वडा अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया