'कपाल हल्लाउँदै, मोबाइल चलाउँदै अनि बाटो काट्दै'

 मंसिर १२, २०७६ बिहिबार १३:५८:३९ | रासस
unn.prixa.net

काठमाण्डौ – पुतलीसडकको जेब्राक्रसिङकै छेउमा मानिसको ठूलो भीड थियो । दायाँबायाँ टल्कने रातो ट्राफिक स्वयंसेवक ज्याकेट लगाएका किशोरीहरु देखेपछि धेरैले जथाभाबी बाटो काट्ने हिम्मत गरेनन् । 

बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बोटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् ।

सुन्धारामा रहेको नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परवाह नगरि बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्राक्रसिङ नभए पनि नागबेलीझैँ गाडी छल्दै बाटो काट्नेमा नेपाली सेनासमेत सहभागी भए । सिंहदरबारको मूल गेट नजिक गाडी चल्दाचल्दै एक युवाले जोखिम मोलेरै जेब्राक्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । 

‘ती दाई गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको”, प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका मानिसको भिडको उनीहरुले ख्यालै गरेनन् । 

बुधबार बिहान ११ बजेको समयमा यहाँको सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायत क्षेत्रमा राससकर्मी घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लंघनमा लागेको पनि देखियो । तर जहाँजहाँ स्वयंसेवक छन्, त्यहाँत्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निक्कै प्रभावकारी भेटियो । 

स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन् । हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन् । गाडीको कुनै मतबल गर्दैनन् । गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । जुन दुर्घटनाको कारक बन्न पुग्छ ।

‘जेब्राक्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्’, पुतलीसडकमा स्वयंसेवक खटिएकी समिक्षा पुन मगरले भन्नुभयो । सात दिनको समयमा ट्राफिक नियमबारे उहाँलाई पनि धेरै सिक्ने मौका मिलेको छ ।  

अर्की स्वयंसेवक सुमिना डङ्गोलले ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महसुस गरिएको बताउनुभयो । ‘घरि यता कुदद्नुपर्ने, घरि उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरि सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने अझ त्यो धूलो, धुँवा, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला, त्यसको लेखाजोखा छैन’, उहाँले थप्नुभयो ।

यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाको विभिन्न ३५ ठाउँमा तीन सय ३५ ट्राफिक स्वयंसेवक खटाएको छ । 

बिहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन–तीन घण्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीँ ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय प्रहरी साझेदारी अवधारणा अनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको उहाँले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीको अभिलेखमा उपत्यकामा पछिल्लो चार महिनामा सवारीको ठक्करबाट २३ पैदलयात्रुको ज्यान गएको छ । झण्डै सात सय घाइते भएका छन् । कतिपय घटना पैदलयात्रुकै कारण हुने भए पनि धेरै घटना भने चालकको लापर्वाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताउनुभयो । नियम उल्लङ्घनदेखि बढी दुर्घटना सङ्ख्याका हिसाबले मोटरसाइकल छ । गएको वर्ष चार हजार सवारी दुर्घटनामध्ये तीन हजार सात सय दुर्घटनामा चालकको लापर्वाही देखिन्छ । 

नियमअनुसार गाडी चलाउने हो भने झण्डै ६० प्रतिशत दुर्घटना आफैँ रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठूलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्राक्रसिङबाट जथाभाबी बाटो काट्न दिँदैनन् । पिक एण्ड ड्रपमा छिटो सवारी पठाउन खटिन्छन् । स्काइब्रिजको प्रयोग र लेनअनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्नसमेत खटिने गरेका छन् । यसअघि राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा पहिलो चरणको स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् ।

अर्को चरणका लागि पद्मकन्या क्याम्पस, रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गरिने महाशाखाले जनाएको छ । ‘यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्नेहुँदा ट्राफिक नियममा गम्भीर हुन सिकाउँछ, घर र परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैँ पनि सच्चिन्छन्’, महाशाखा प्रमुख ढकालले भन्नुभयो । स्वयंसेवक भएबापत् पाउने प्रमाणपत्र हरेक ठाउँमा प्राथमिकता हुने भन्दै ढकालले प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने बताउनुभयो । 

उनीहरुले कसरी काम गरेका छन्, समयमा आए कि आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमाण्डरले निगरानी गर्ने गर्छ । त्यसैको आधारमा स्वयंसेवकको मूल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंँले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

उपत्यकाको बढी सवारी चाप हुने ३५ ठाउँमा स्वयंसेवक खटिएका छन् । यस पटक काठमाण्डौ स्कुल अफ् ल, चक्रवर्ती अवि एजुकेशन एकेडेमी र नेशनल ल कलेजका तीन सय ५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले गएको असोज ५ गते पहिलो चरणअन्तर्गत पाँच सय युवा परिचालन गरेको थियो । गृहमन्त्री रामबहादुर थापाले यसलाई देशव्यापी बनाउने योजना अघि सार्नुभएको छ 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया