मध्यरातमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका नर्सहरुकाे तस्बिर र भिडियाे कसले खिच्याे ?

 मंसिर १२, २०७६ बिहिबार १८:५०:३५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पटक पटक नचिनेका मान्छेको समूह आएर हल्ला गर्ने र धम्की दिने क्रम बढेको छ ।

बुधबार राति नचिनेका मान्छेको समूहले प्रतिष्ठानको इमर्जेन्सीमा रहेका नर्सहरुको तस्बिर खिच्न थालेपछि अस्पताल आधा घण्टासम्म तनावग्रस्त भएको थियो । 

‘अस्पतालमा राति ड्युटीमा थियौँ । तीन/चार जना नचिनेका मान्छे आए, एकाएक भिडियो र तस्बिर खिच्न थालेपछि हामी डरायाैँ’, प्रतिष्ठानमा कार्यरत एक नर्सले भनिन्, ‘हामीले फोटो नखिच्नुहोस् भन्यौँ, उनीहरुले फोटो र भिडियो खिचिरहे, बाहिर आएपछि ठिक पार्छौँ भनेर धम्की दिए ।’

अस्पतालबाट बाहिरिइ सकेपछि मात्र प्रहरीकाे टाेली आइपुगेकाे थियाे । जुम्लाकाे प्रहरीले उनीहरुकाे खाेजी भैरहेकाे र कारबाहीकाे दायरामा ल्याउने बताएकाे छ । 

पटक पटक अस्पतालमा घट्ने यस्ता घटनाले आफूहरु असुरक्षित भएको र डर लाग्ने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् ।  

अस्पतालका सुरक्षा गार्ड माथिल्लो तलामा गएको बेला घटना घटेको थियो । अस्पतालमा सुरक्षाकर्मीको डयुटी हुने गर्दछ तर त्यस्तो घटना कहिले घट्छ थाहा नहुने हुँदा डर लाग्ने गरेको महिला कर्मचारीहरुले बताए । 

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन राेकायाले घटनाको बारेमा छलफल हुने बताउनुभयो । अस्पतालका विशेषज्ञ चिकित्सक डा. निरेश थापाले अस्पतालको इमरजेन्सी कक्ष २४ घण्टा नै खुला हुने भएकाले विभिन्न प्रकारका मानिस आएर अनावश्यक कुरा गर्न खोज्ने र हल्ला गर्ने भएकाले कर्मचारीलाई काम गर्ने जाँगर घट्ने बताउनु भयो । 

यसैगरी कर्णाली प्रतिष्ठान शिक्षण अस्पतालको बिल काउण्टर पनि रातभरि नै खुला रहन्छ । मध्यरातमा एक जनाको मात्रै ड्युटी हुने भएकाले डर लाग्ने गरेको एक जना कर्मचारीले बताए ।  काउण्टरको बाहिर सुरक्षा गार्ड हुने भए पनि जनशक्ति कम हुँदा राति एक्लै ड्युटी गर्न डर लाग्ने उनीहरु बताउँछन् । फार्मेसी कक्ष पनि बाहिरै छ । 

केही वर्षअघि प्रतिष्ठानमा राति एक जना अपरिचित व्यक्ति डाक्टरको भेषमा अस्पतालमा छिरेर बिरामीलाई जाँच गर्ने भनेपछि लखेटिएका थिए । 

अन्तिम अपडेट: चैत ६, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया