बहुचर्चित कोरला नाका : सीमापारि सानदार भौतिक संरचना, वारि सुनसान !

 मंसिर १३, २०७६ शुक्रबार ८:२:५७ | प्रताप बानियाँ
unn.prixa.net

मुस्ताङ - हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी देश चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला नाकाको चीनतर्फ भौतिक संरचनाले तीव्रता पाएको छ । कोरला नाकाको पारिपट्टि चीनले धमाधम संरचना बनाइरहँदा नाकाको वारिपट्टि नेपालतर्फको भूमिमा भने सुनसान जस्तै छ ।

मुस्ताङ र चीनस्थित तिब्बतको कोरला नाका खुलाउन बेलाबेलामा चर्चा चले पनि अहिलेसम्म नाका खोल्नका लागि ठोस पहल हुन सकेको छैन । छिमेकी देश चीनले आफ्नो सीमा क्षेत्रमा धमाधम करोडौंका भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भने भौतिक संरचना निर्माणको कुनै काम हुन नसकेको हो । दुई देशबीच नाका खोल्ने बहस भैरहँदा नेपालतर्फको भूगोलमा अति आवश्यक संरचनाहरु समेत बनेका छैनन् ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट एक दिनको यात्रामा सजिलै कोरला नाका पुग्न सकिन्छ । कोरला नाकाको नेपालतर्फ २०२९ सालमा गाडिएको २४ नम्बर पिल्लर मात्रै छ । त्यसको सामुन्ने ताला ठोकिएको एउटा ठूलो गेट बनाइएको छ ।

गेटबाट नजिकै देखिन्छ, तारबारले घेरिएको ठूलो मैदानमा भव्य संरचनाहरु बनिरहेका छन् । चीनको सिमानातर्फ भौतिक संरचनाहरु धमाधम बनिरहँदा नेपालतर्फ त्यसको कुनै प्रक्रिया अगाडि बढेको छैन ।

चीनले आफ्नो क्षेत्रमा धमाधम भौतिक संरचनाहरु बनाइरहँदा नेपालतर्फ भने सडकको पहुँच मात्रै पुगेको छ । २४ नम्बर पिल्लरदेखि पारि चीनतर्फ एकीकृत भन्सार कार्यालयको संरचनाका साथै सुरक्षाका लागि आवश्यक भवनहरु निर्माण भैरहेका छन् ।

सडक स्तरोन्नतिको काम पनि जारी रहेको छ । २०७४ सालदेखि नै चीनतर्फ भन्सार कार्यालय, सडक, बिजुली, खानेपानीलगायतका पूर्वाधारहरुको काम भए पनि नेपालतर्फ भने अहिलेसम्म पनि कुनै संरचना नबनेको हो ।

चीनले ठाउँठाउँमा सीसी क्यामेरा जडान गरेर नाकामा निगरानी बढाइरहेको छ । तर, नेपालतर्फ त्यस्तो कुनै पनि संरचना निर्माण भएकै छैन । कोरला नाकादेखि १२ किलोमिटर तल छोसेरमा नेपाल प्रहरीको सीमा प्रहरीचौकी र भन्सार कार्यालय रहेको छ । त्यहीँको प्रहरीले नै कोरला नाका हेर्ने जिम्मेवारी पाएको छ । तर, नाकासम्म निगरानी बढाउनका लागि न त्यहाँ कुनै प्रहरीको जनशक्ति छ न त कुनै संरचना नै बनाइएको छ । 

मुस्ताङ-तिब्बत व्यापार मेला चलिरहेको समयमा समेत नेपालीहरु सिमानाको गेट पास गरेर भित्र जान पाउँदैनन् । लोमान्थाङ गाउँपालिकाका केही वडाका स्थानीयलाई मात्र प्रवेश दिने गरिएको छ । त्यो पनि स्थानीय प्रशासनको पास लिएर मात्र ।

पर्यटकहरु पनि नाकाको सिमानामा धेरै समय रोकिन चाहेमा चिनियाँ सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्ने गरेका छन् । नाका खोल्न तथा यस खालका गतिविधिलाई नियन्त्रणमा लिन माथिल्लो निकायबाटै पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

यसैबीच गएको असोज अन्तिम सातातिर चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले सीमा नाकाहरु भने खुल्ने आशा पलाएको छ । नेपालसँग सीमा जोडिएको मुस्ताङ–तिब्बत कोरला नाका खुलाउनका लागि आफूले सरकारसँग पहल गरिरहेको मुस्ताङबाट निर्वाचित सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाकाको नेपालतर्फको भूमिमा गेट निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया