म सरकारी नियम अनुसार मलेसिया जान चाहन्छु, तर कसले पठाउँछ ?

 मंसिर १८, २०७६ बुधबार १३:१२:३७ | मेरो कथा मेरो भोगाई

सुरेश कुस्मी, कैलाली ।

म तीन वर्ष ६ महिना मलेसिया बसेर फर्किंएको हुँ । अहिले एक वर्ष मात्र भयो । र फेरि पनि मलेसिया जान चाहन्छु । तर सरकारको नियम अनुसार । सरकारले शून्य लागतमा नेपाली श्रमिक जान पाउने गरी गरेको समझदारी अनुसार नै कुन म्यानपावरले पठाउँछ, त्यो चाहिँ अहिलेसम्म भेटेको छैन ।

पहिले जाँदा अहिलेको जस्तो व्यवस्था थिएन । एजेण्टमार्फत डेढलाख रुपैयाँ बुझाएर गएको थिएँ । तर अहिले त मलेसिया जाने श्रमिकले एक रुपैयाँ पनि तिर्न नपर्नेगरी सरकारले मलेसियासँग श्रम समझदारी गरेको छ । तर पनि म्यानपावरले पैसा मागिरहेकै छन् ।

मलेसियाको रोजगारी खुलेपछि म काठमाण्डौमा दर्जनभन्दा बढी म्यानपावर धाएँ । कामको बारेमा बुझ्न । तर कुरा पैसामा आएर अड्किन्छ । सबैले यति लाग्छ भन्छन् । मैले मलेसिया जान त एक रुपैयाँ पनि तिर्न पर्दैन हैन र भन्दा जहाँसुकै गएर बुझ्नुस् भन्छन् ।

हुन पनि हो रहेछ सबैले एउटै रेट भन्छन् । मलाई एउटा म्यानपावरले सुरुमै ४० हजार रुपैयाँ माग्यो । ४० हजार रुपैयाँ बुझाएपछि प्रक्रिया थाल्ने र भिसा आएपछि बाँकी रकम बुझाउनुपर्ने उनीहरुको माग छ । तर म पैसा तिर्ने पक्षमा छैन ।

म जतिको मान्छेले सरकारको नियम विपरित जान हुँदैन भन्ने लाग्छ मलाई । तर मैले नियम मानेर नहुने रहेछ, पठाउने म्यानपावर कम्पनीले नपठाएपछि । सरकारले शून्य लागत भनेर सम्झौता त गरिदियो तर हामीलाई अप्ठ्यारो भयो ।

न म्यानपावरले पैसा नलिइ पठाउँछन्, न हामी पैसा तिरेर जान सक्छौं । त्यसैले यदि सरकारले साँच्चै नियम लागू गर्ने हो भने कुन म्यानपावरले मलेसियाको डिमाण्ड ल्याएको छ । कसरी पठाइरहेको छ भनेर अनुगमन गर्न पर्छ ।

नत्र बाहिर देखाउने एउटा र गर्ने अर्को कुरा हुन्छ । आखिर ठगीमा पर्ने त हामी नै हो । म्यानपावरले पनि सरकारले लागू गरेको नियम मान्नुपर्छ भन्ने लाग्छ । सुरुवात मबाटै गर्न चाहन्छु । म सरकारको नियम विपरित जाँदिन र आफैं मेरो कम्पनीले फ्री भिसा, फ्री टिकट पठाएको छ कि छैन बुझ्छु ।

म्यानपावरसँग कुरा गर्छु र पनि पैसा माग्यो भने वैदेशिक रोजगार विभागमा उजुरी दिन्छु । तपाईँलाई पनि मलेसिया पठाइदिन्छु भन्दै पैसा मागेको भए, नदिनुस्, बुझ्नुस् र ठगी गर्न खोजे उजुरी दिनुहोस् ।

अन्तिम अपडेट: चैत ४, २०८०

2 Comments

  • db lama

    Dec. 14, 2019, 6:02 p.m.

    zero paisa pay zero nepali going to malaysia.

  •  0 Reply
  • shankar Adhikari

    Dec. 4, 2019, 4:35 p.m.

    म पनि यस्तै मेनपावर को खोजिमा हो लौ न सरकार कि त्यस्तो मेनपावर तोकिदिनु पर्यो हैन भने झुक्काउने काम बन्द गर्नु पर्यो .

  •  0 Reply

तपाईको प्रतिक्रिया