सागको कुस्ती प्रतियाेगिताका लागि जनकपुरधाममा सम्पूर्ण तयारी पूरा

 मंसिर १९, २०७६ बिहिबार १८:०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - शुक्रबारदेखि जनकपुरधाममा हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताकाे मैदानसहित सम्पूर्ण तयारी पूरा भएको छ ।

सागका केही खेल जनकपुरधाममा हुने भएपछि यहाँ रहेकाे जिल्ला खेलकुद विकास समितिको वर्षौँदेखि जीर्ण रहेको कभर्ड हल अहिले रंगरोगन गरी चिटिक्क बनाइएको छ ।

जनकपुरमा पहिलो पटक हुन लागेको साग अन्तर्गत कुस्ती प्रतियोगिताको सबै खेल मंसिर २० गते देखि २३ गतेसम्म आयोजना हुँदैछ र त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको साथै खेलाडीहरु पनि जनकपुरधाम आइसकेको जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कमल चौधरीले बताउनु भयाे ।

प्रतियोगितालाई लक्षित गरेर खेल, पूर्वाधार, खेलाडीको सुरक्षा, पाहुनाको स्वागत, प्रचार–प्रसार, आवास व्यवस्थापन लगायतका सम्पूर्ण कार्य पूरा भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयाे ।

सागको कुस्तिमा पुरुष र महिला गरी ५ देशका ७५ खेलाडीसहित अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्रि, व्यवस्थापक गरी जम्मा १ सय २५ जना जनकपुरधाममा आइ पुगेको समेत उहाँले जानकारी दिनु भयो ।

साग अन्तर्गतको कुस्ती खेलमा माल्दिभ्स र भुटान बाहेक नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका खेलाडीले सहभागिता जनाएका छन् ।

कुस्ती प्रतियोगितामा सहभागी हुन नेपालबाट १० पुरुष, ५ महिला, बंगलादेशबाट १० पुरुष र १० महिला, भारतबाट महिला र पुरुष गरी झण्डै २० जना, श्रीलंकाबाट महिला ८ र पुरुष १० जना साथै पाकिस्तानबाट १० जना पुरुष खेलाडी आइसकेको समितिका प्रमुख विनोद कुमार सिंंहले जानकारी दिनुभयाे ।

प्रतियोगिता बिहान ९ बजेदेखि सुरु हुने भए पनि खेलको औपचारिक उद्घाटन ३ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा गरिने जनाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया