कुवेत पठाउँछु भनेर एजेण्टले भारतको जेल पठाए

 मंसिर २०, २०७६ शुक्रबार १४:३५:४२ | सन्जिता देवकोटा

झापा – झण्डै दुई महिना दिल्लीको बासपछि ज्ञानीमाया (नाम परिवर्तन) कुवेत जान जहाज चढिन् । झण्डै तीन घण्टापछि जहाज ल्याण्ड भयो । कुवेतभन्दा अघि जहाज यूएई जान्छ भनिएको थियो ।

यूएईमा जहाजबाट ओर्लेपछि कुवेत जाने जहाज चढ्नु भनेर एजेण्टले भनेका थिए ।

एजेण्टले भनेअनुसार कुवेत जाने जहाज चढ्न भन्दै उनी विमानस्थलमा अघि बढिन् । तर कुवेत जाने जहाज चढ्न नपाउँदै ज्ञानीमाया पक्राउ परिन् । पक्राउ परेको केही घण्टामा जेल पुगिन् । आफू यूएई नभइ भारतको केरला पुगेको र एजेण्टकै छलले जेल परेको कुरा ज्ञानीमायाले बल्ल पो थाहा पाइन । 

कमाउन कुवेत हिँडेको मानिस बीचबाटोमै जेलपर्दा कस्तो होला ?

ज्ञानीमाया भन्छिन् – केरलाको जेल त सपनामा पनि देख्न नपरोस् । तर कमाउने सपना देख्दा भोगेको त्यो ६ महिने जेल सजाय चाहेर पनि बिर्सन सकिने छैन । 

‘साथीको कुरामा विश्वास गर्दा फसें’

कुवेत हिँड्दा केरलाको जेलमा ६ महिना बिताएर फर्किएकी ज्ञानीमायाले कुराको सुरुवात गर्दा भनिन् – ‘म सबै कुरा भन्छु तर मेरो नाम नभनिदिनु, मैले जस्तो दुःख अरुले नपाउन र मेरो कुरा पढेर अरुले मलाई नराम्रो पनि नभनुन् ।’ ज्ञानीमाया, उनको वास्तविक नाम होइन । 

विदेश जाने बाध्यताको कुरा गर्दा उनी भन्छिन्, ‘सबै मानिसको जीवनमा दुःख त हुन्छ तर मलाई विदेश नै जानुपर्ने बाध्यता त थिएन ।’

तर ज्ञानीमायालाई छिमेकी साथीले विदेशको सपना देख्न सिकाइन् । आफू पनि विदेशमा काम गरेर फर्किएको, राम्रो कमाइ हुन्छ भनेर उनको कान फुकिन् । ती दिदीको कुरा सुन्दा ज्ञानीमायाको मन विदेशको सपनाले भरियो । 

श्रीमानलाई आफ्नो परदेश जाने रहर सुनाइन् । सुरुमा त श्रीमानले अनुमति दिएनन् । तर ती छिमेकीले श्रीमानको पनि मन जितिन् । कुवेतमा राम्रो कमाइ हुने विश्वास दिलाइन् । 

ज्ञानीमायाका श्रीमानलाई लाग्यो, हिजोआज महिला पुरुष बरार, कमाइ नभए पनि देश हेरेर फर्किंन्छिन् । परिवारको सहमतिमै ज्ञानीमाया २०७५ पुसमा काकडभिट्टा हुँदै कुवेत जान हिँडिन् । 

एजेण्टले दिल्ली पुर्‍याए । दिल्लीबाट तीनचार दिनपछि कुवेत जाने जहाज चढाउने एजेण्टको प्रतिवद्धता थियो । दिल्लीमा एउटै कोठामा तीनचार दिन बित्यो । तर कुवेत जाने दिन आएन ।

दिनसँगै एजेण्टको कुरा परिवर्तन हुँदै गयो । ज्ञानीमायाको एजेण्टप्रतिको विश्वास पनि घट्दै थियो । घरमा श्रीमानलाई फोन गरेर आफ्नो अवस्थाबारे सुनाइन् । 

श्रीमानले दिल्लीको लोकेशन पठाउन भने । ज्ञानीमायालाई न आफूलाई कहाँ राखिएको छ भन्ने थाहा थियो, न त बाहिर निस्कनै दिइन्थ्यो । 

त्यसमाथि पनि कहिले प्रहरी आउँछ भनेर त, कहिले के बहाना गरेर एजेण्टले कोठा सारिरहन्थे । दिल्लीमा आफूजस्तै धेरैलाई आज, भोलि भन्दै झुलाएको देखेपछि ज्ञानीमायालाई एजेण्टले गलत गर्दैछन् भन्ने अनुभव त भइसकेको थियो । 

‘मैले त कतिपटक यसरी विदेश जाँदिन, मलाई घर नै फर्काइदेउ पनि भनेको, ज्ञानीमाया भन्नुहुन्छ, ‘मैले घर फर्किन धेरै दबाब दिएपछि मलाई तिम्रो उडान निश्चित भयो भनेर केरला पठाएछ ।’

दिल्ली बसेको झण्डै डेढ महिनापछि भिसा लाग्यो भनेर एजेण्टले जहाज चढाइदिए । विमानस्थलमा पासपोर्ट देखाउन परेन । कर्मचारीले कहाँ हिँडेको भनेर पनि सोधेनन । 

यूएईमा जहाजको ट्रान्जिट छ, यूएईबाट अर्को जहाज चढेर कुवेत जान पर्छ भनेका थिए एजेण्टले । 

दिल्लीमा एउटै कोठमा बस्दा बस्दा निस्सासिएको मन जहाजले भुईं छाड्दा फुरुङ्ग भएको थियो । छोराछोरी र श्रीमान छाडेर परदेश हिँडेकी आमाको घर परिवारको खुशीभन्दा टाढा अरु खुशी के हुन्छ र ! सोचेकी थिइन् – दुईतीन वर्ष बस्छु, धेरथोर कमाउछु र फर्किन्छु । 

ज्ञानीमायालाई लागेको थियो, जहाज यूएई उड्दै छ । यूएईबाट केही घण्टामै कुवेत पुगिनेछ । जहाज आफ्नो गन्तव्यमा पुग्यो । तर ज्ञानीमाया पुगिनन् । 

जहाजबाट अर्लेर कुवेत जाने जहाज चढ्न अघि बढ्दा विमानस्थलका कर्मचारीले बीचैमा रोके । पासपोर्ट र कागजपत्र हेरे । भने, ‘तपाईँको पासपोर्टमा लगाएको भिसा र स्टिकर नै नक्कली छ, तपाईँ जान पाउनुहुन्न ।’

ज्ञानीमायाले प्रश्न गरिन् ‘त्यसो भए यहाँसम्म चाहिँ किन आउन दिएको त ?’ यूएई पुगियो भन्ने ठानेकी ज्ञानीमायालाई विमानस्थलका कर्मचारीले नै यूएई नभइ भारतकै केरला राज्य हो भनेर बुझाए । 

यूएई भनेर हिँडेको मानिस केरला पुग्दा कस्तो होला ! 

ज्ञानीमाया भन्छिन्, ‘छक्क परें ।’

‘जान्दैनन्, बुझेका छैनन् भन्दैमा जे पनि गर्न पाइन्छ र ?’ ज्ञानीमायाको एक मन रिसले भरिएको थियो । 

अब के होला ? डरले हातखुट्टा काँपेका थिए । 

अब जेलमा कतिञ्जेल राख्छ होला ?

छुटाउन को आउला ? 

पठाएको त एजेण्टले हो नि, हामीले के अपराध गरेका छौं र ?

यस्तै कुराले दिमाग घुम्यो । तर यो कुरा कोसँग सोध्ने ? कसलाई बुझाउने ? न त्यहाँ कुरा सुनिदिने कोही थियो, न त भाषा नै बुझिन्थ्यो । 

ज्ञानीमायासँगै अर्की साथी पनि थिइन् । दुवैलाई केरलाको सेन्ट्रल जेलमा राखियो । उनीहरु जेल परेको तीन दिनपछि अर्को एक नेपाली महिला पनि थपिन पुगिन् । जेलमा तीन जना भए । सुरुको एक हप्ता त ज्ञानीमायालाई जेल परें भनेर स्वीकार्न नै औधी गाह्रो भयो । 

‘मलाई त सास फेर्नै मुश्किल भयो, घरीघरी त मलाई सास रोकिन्छ कि जस्तो लाग्यो,’ जेल पर्दाको दिन सम्झँदै ज्ञानीमाया सुनाउँछिन्, ‘प्रहरीलाई इसाराले मलाई सास फेर्न गाह्रो भयो मर्छु जस्तै भएको छ भनें, त्यसपछि अस्पताल लगे नि ।’

सँगैका दुई साथीले भन्थे– हाम्रो जीवन त यहीँ सड्छ होला ।

साथीहरु कमजोर हुँदा मन दह्रो पार्दै आशाको दियो ज्ञानीमायाले नै बाल्थिन् । 

श्रीमती केरलाको जेलमा परेको कुरा एक हप्तापछि श्रीमान राजनले पनि पत्तो पाए । एजेण्टलाई फोन गरे र छुटाउनेबारे सल्लाह गरे । एजेण्टले तपाईँ नै गए जेलबाट छुटाउन सजिलो हुन्छ भनेपछि घरमा  बालबच्चालाई एक्लै छाडेर राजन केरला पुगे । 

श्रीमानलाई देखेपछि भने ज्ञानीमाया ढुक्क भइन् । 

राजनले स्थानीय वकिलको सहयोग लिएर छुटाउने प्रयास गरे । तर अनुसन्धान भइरहकाले समय लाग्ने भनियो । चिन्ता नलिनु, जसरी पनि छुटाउँछु भन्दै राजन फर्किए । 

ज्ञानीमाया १६ वर्षका छोरा र ११ वर्षकी छोरी सम्झिन्थिन् । पछुतोले मन भरिन्थ्यो । 

‘उनीहरुलाई छाडेर बेक्कार हिँडेछु, मिठोमसिनो घरमै गर्नुरैछ जस्तो लाग्थ्यो, जेल बसुन्जुेल छोराछोरीको खुब याद आयो,’ ज्ञानीमाया भन्छिन् । 

३८ वर्षकी ज्ञानीमायालाई जीवनमा पहिलोपटक आफूले गरेको निर्णयप्रति निकै पछुतो भयो । तर के गर्नु, विकल्प थिएन । 

जेल परेको झण्डै तीन महिनापछि भारतस्थित नेपाली दूतावासका कर्मचारीसँग फोनमा कुराकानी भयो । छिट्टै छुटाउने आश्वासन दिए फोनमा । ‘तपाईँहरु नै लिन आउनुस्, हामी त आत्तिएरै मर्ने भयौं भनेको नि आएनन्,’ ज्ञानीमाया गुनासो गर्छिन् । 

दूतावासका प्रतिनिधिसँग कुरा गरेपछि भने घर फर्कने आशा पलायो । जेलमा मानिसहरु सोधपुछका लागि आइरहन्थे । सोधपुछ गरिरहन्थे ।

ज्ञानीमायाका श्रीमानले एजेण्टलाई तारन्तर दबाब दिइरहे । एजेण्टले पनि छुटाउने आश्वासन दिन छाडेनन् । यतिकैमा झण्डै ६ महिना बस्नु पर्‍यो जेलमा । 
खानपान समयमा दिन्थे ।

कुटपिट त गर्दैन थिए, तर पनि बिना अपराध जेल बस्दा मन किन मान्थ्यो र ! अदालतमा सुनुवाई थियो । फैसला हुने केही दिनअघि एजेण्ट पनि जेलमा ज्ञानीमायालाई भेट्न पुगे ।

‘एजेण्टले तिमीले मेरो नाम भनेको भए पनि, नाम मिलेको हो यो एजेण्ट हैन भन है भनेको थियो, जे हुनु भयो अब पुरानो कुरा माफ गर भनेको थियो, तर मलाई ढाँट्यौ भने तिमीहरु फेरि जेल पर्छौ भनेका थिए’ एजेण्टको कुराले आफू दोधारमा परेको ज्ञानीमायाले सुनाइन् । 

एक मनमा त आफूलाई लिन आएको व्यक्ति देख्दा माया पनि लाग्यो । जे भए पनि लिन आएको छ । उसले भनेझैं गरौं कि भन्ने पनि लागेको थियो ।
तर आफूलाई बिनाकारण जेल पठाउने व्यक्तिलाई माफ गर्न मनले मानेन । 

‘दिल्लीमा दिएको दुःख अनि त्यात्रो महिना जेल बस्दाको सास्ती सम्झें, अदालतमा सत्य बोलिदिएँ’ ज्ञानीमायाले भनिन् । 

श्रीमान राजन पनि एजेण्टसँगै ज्ञानीमायालाई लिन केराला पुगेका थिए । गएको साउन ५ गते उनी केरालको जेलबाट छुटिन् । ज्ञानीसहित अरु तीनजनाले दिएको बयानको आधारमा झापाकै एजेण्ट गोपाल पक्राउ परे ।

‘जेल कस्तो हुन्छ भनेर उसले पनि थाहा पाओस्’

ज्ञानीमाया श्रीमानको साथमा घर फर्किइन् । त्यो काहलीलाग्दो जेल बसाइले थुप्रै कुरा सिकाएको छ । पहिलो कुरा त ज्ञानीमायाले फेरि विदेश जाने सपना नदेख्ने अठोट लिएकी छन् । ‘जानेलाई पनि वैधानिक बाटो र प्रक्रिया अपनाउन पर्ने रहेछ,’ ज्ञानीमाया भन्छिन् । 

त्यो जेल । नबुझिने भाषा । अनि बिनाकारण यतिको महिना थुनिनुपर्दाको पीडा । तर ज्ञानीमाया ती दिन फेरि नसम्झने कोसिस गर्छिन् । 

छोराछोरीसँग रमाएकी छिन् । सकेसम्म घरकै काममा आफूलाई व्यस्त राख्छिन् । हिजोआज आफ्नैले परदेशको लोभ देखाएर धेरैलाई असाध्यै पीडा दिएका छन् ।

ज्ञानीमायालाई लाग्छ, कम्तिमा आफूलाई फसाउने एजेण्टले फेरि यस्तो काम नगरोस् । जेल बस्दाको पीडा उसले पनि अनुभव गरोस् । सोझा दिदीबहिनीलाई कमाइको आश देखाएर फेरि जेलको बास नबनाओस् । 
 

अन्तिम अपडेट: पुस २७, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया