निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे काम तत्काल अघि नबढाउन सर्वोच्चकाे आदेश

 मंसिर २०, २०७६ शुक्रबार १८:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तत्काल अघि नबढाउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

निजगढ विमानस्थल बनाउँदा लाखौँ रुख काटिने र यसले वन्यजन्तुलाई समेत असर गर्ने भन्दै सर्वोच्चमा दायर भएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले तत्कालका लागि विमानस्थल बनाउने काम यथास्थितिमै राख्न आदेश दिएको हो ।

आदेशमा रिटका सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई छलफलका लागि मंसिर २९ गते बोलाइएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो ।

रिटका सम्बन्धमा अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने बारेमा दुवै पक्षको छलफलपछि निर्णय लिने आदेशमा उल्लेख छ ।

सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निजगढमा विमानस्थल निर्माणको प्रक्रिया अघि बढाएपछि निजगढ वन संरक्षण समिति तर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुंगेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी लगायत नौजनाले गएको सोमबार रिट दायर गर्नुभएको थियो ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया