'चुनावमा उठेकाे ऋण तिर्न मलेसिया पुगे, बाकसमा फर्किए'

 मंसिर २०, २०७६ शुक्रबार १८:४४:३४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुग्नु भएका छविसपाथिभेरा गाँउपालिका ७ का रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहसंस्कार भएको छ । 

आठ वर्षीय छोरा अंकितले बुवालाई दागबत्ती दिनुभयो । छोराछोरीको पढाइ खर्च, घरायसी खर्चसँगै गाँउघरमा आफूले काम गर्दा लागेको ऋण तिर्न भन्दै बोहरा २०७४ सालको पालिका चुनावपछि मलेसिया पुग्नुभएको थियो । 

कामको सिलसिलमा मलेसियामा रहनुभएका बोहोरा गएको मंसिर १३ गते सुत्ने कोठामा मृत अवस्थामा फेला पर्नुभएको आफन्तले बताएका छन् । शुक्रबार छविसपाथिभेरा गाँउपालिकाको खोरीगाड दोभानमा उहाँको दाहसंस्कार गरिएको हो । 

बोहराको मृत्यु कसरी भयो भन्ने कुरा अहिलेसम्म थाहा भएको छैन । कतिपयले बोहराको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताएका छन् ।

बोहरा पालिकाको चुनावमा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदको उम्मेदवार पनि हुनुहुन्थ्यो । त्यो चुनावमा बोहरा १०२ मतले पराजित हुनुभएको थियो । ‘चुनावमा झण्डै ७/८ लाख रुपैयाँ खर्च भयो, पराजय पनि भोग्नुपर्यो । त्यसपछि गाँउघरमा कुनै विकल्प नभएपछि दाइ मलेसिया पुग्नुभयो’, भाइ वसन्तले भन्नुभयो । 

चुनावमा भएको आधाभन्दा बढी खर्चको ऋण रमेशले दुई वर्षमा नै तिर्नु पनि भयो । ‘पालिकाको चुनाव निकै खर्चिलो भयो’, उहाँकी पत्नी अन्जनादेवीले भावुक हुँदै भन्नुभयो, ‘ऋण तिर्न भन्दै विदेश गएका थिए । पैसा पठाउँछु, ऋणको केही चिन्ता नलिनु भन्थे तर आज आएर आफै बाकसमा फर्किए ।’

‘छोराछोरीको पढाइ खर्चका लागि पनि पैसा जम्मा गर्नुपर्छ भनेर रमेश मलेसिया पुग्नुभएको हो । तर आज आएर यो दिन देख्नु पर्‍याे । अबको चैत महिनाभित्र त घरमा आउँछु, चिन्ता नलिनु भन्दै हुनुहुन्थ्यो तर आज ...’, अन्जनाले भन्नुभयो ।  

उहाँका दुई छाेरी र एक छाेरा छन् । जेठी छाेरी १० वर्षीया, कान्छी छाेरी ३ वर्षीया र छाेरा ८ वर्षका छन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया