स्वर्णमा भारतकाे दबदबा कायमै, नेपाल दाेस्राे स्थानमा

 मंसिर २०, २०७६ शुक्रबार २०:२४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत अहिलेसम्म नेपालले ४१ वटा स्वर्ण पदक जितेको छ । यो साग सुरु भएदेखिकै सर्वाधिक धेरै स्वर्ण पदक पनि हो ।

पहिलो संस्करणदेखि लगातार सागमा सहभागिता जनाएको नेपालले १९९९मा भएको आठौं सागमा ३१ स्वर्ण जित्दै इतिहास कायम गरेको नेपालले  नयाँ इतिहास कायम गर्न सफल भएको हो । शुक्रबार नेपालले पदक तालिकामा थप ५ स्वर्ण थप्दै ४१ पुर्‍याएको हो ।

नेपाललाई ४१ औं स्वर्ण पदक पौडीबाट गौरिका सिंहले दिलाएकी हुन् । गौरिकाले शुक्रबार २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् । उनले २ मिनेट १७ दशमलव ७३ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जित्न सफल भएकी हुन् । गौरिकाले आफैले बनाएको राष्ट्रिय रेकर्डमा पनि सुधार गरिन् ।

नेपालका लागि शुक्रबार भारत्तोलनमा ८९ किलो तौल समूहमा विकास थापाले स्वर्ण पदक जिते । भारोत्तोलनमा नेपालले पुरुषतर्फ स्वर्ण पदक जितेको यो दोस्रो पटक हो । विकासले स्न्याचतर्फ १२३ किलो र क्लिन एण्ड जर्कतर्फ १४६ किलो गरी समग्रमा २६९ किलो भार उचालेका थिए ।

त्यस्तै गल्फमा नेपालले दुई स्वर्ण पदक जितेको छ । पुरुष व्यक्तिगत स्पर्धा सुवास तामाङले स्वर्ण पदक जितेका हुन् । टीम इभेन्टमा पनि नेपालले स्वर्ण जित्यो । टिममा शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ थिए । सागमा गल्फ समावेश गरिएको यो दोस्रो पटक हो ।

२०१० मा बंगलादेशमा भएको दशौं सागमा गल्फ समावेश गरिएको थियो । त्यसपछिका संस्करणमा भने गल्फ समावेश थिएन । तर नेपालले यस पटक आयोजना गरेको  सागमा गल्फलाई समावेश गरेको हो । गल्फमा अझै २ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा बाँकी छ ।

त्यस्तै एथलेटिक्सतर्फ गोपीचन्द्र पार्कीले नेपालका लागि अर्को स्वर्ण दिलाएका छन् । उनले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका हुन् ।

भारतकाे दबदबा कायमै

अहिलेसम्म भारत ८१ स्वर्णसहित तालिकाको शीर्ष स्थानमा छ । उसले ५९ रजत तथा २५ कांस्यसहित कुल १६५ पदक हात पारेको छ । दोस्रो स्थानमा रहेको नेपालले ४१ स्वर्ण, २७ रजत र ४८ का‌ंस्यसहित ११६ पदक जितेको छ ।

कुल १३४ स्वर्ण पदक जितेको श्रीलंका तेस्रो स्थानमा रहे पनि २३ स्वर्ण, ४२ रजत र ६९ कास्य पदक जितेको छ । चौथो स्थानमा पाकिस्तान रहेको छ । पाकिस्तानले १९ स्वर्ण, २५ रजत र २९ का‌ंस्यसहित ७३ पदक जितेको छ ।

पाँचौं स्थानमा बंगलादेश रहेको छ । बंगलादेशले ४ स्वर्ण, १८ रजत र ५१ कांस्यसहित कुल ७३ पदक जितेको छ ।

छैटौं स्थानमा रहेको माल्दिभ्सले १ स्वर्ण र २ कास्यसहित तीन पदक हात पार्दा सातौं स्थानमा रहेको भुटानले स्वर्ण पदकमा भने खाता खोल्न सकेको छैन । भुटानले अहिलेसम्म ६ कास्य पदक हात पारेको छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी - भाराेत्तलन
३४. गाैरिका सिंह - पाैडी
३५. जुनी राई - उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड 
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ - टिम इभेन्ट, गल्फ 
४०. विकास थापा - भाराेत्ताेलन
४१. गाैरिका सिंह - पाैडी

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया