विदेशबाट फर्किएर ‘ड्रयागन फ्रुट’ खेती

 मंसिर २१, २०७६ शनिबार १३:५७:३६ | दयाराम आचार्य

नवलपरासी – परदेशमा काम गर्दा पैसा मात्र कमाइदैन । ज्ञान, सीप र अनुभव पनि बटुलिन्छ । त्यही ज्ञान, सीप र अनुभव स्वदेशमा गरिखाने साधन बन्छ । कोरियामा ७ वर्ष बिताउदा बटुलेको अनुभव कावासोती १२ का ज्ञानु गुरुङका लागि पनि यस्तै भएको छ । 

सन् २०१० मा कोरिया जानुभएका ज्ञानुले त्यहाँ गार्मेन्ट (कपडा बनाउने) कम्पनीमा काम गर्नुभयो । कोरिया बसाइमा नै उहाँले ड्रयागन फ्रुट देख्नुभयो र यसको महत्व बुझ्नुभयो । आफूले गार्मेन्ट कम्पनीमा काम गरे पनि उहाँको ध्यान भने ड्रयागन फ्रुटतर्फ तानियो ।

स्वास्थ्यको लागि जति लाभदायी छ आम्दानीको लागि पनि त्यति नै बलियो आधार हुने देखेर नेपाल फर्किंएपछि आफूले ड्रयागन फ्रुट खेती गर्ने निधो गरेको उहाँ बताउनुहुन्छ ।

उहाँ सात वर्षको बसाइलाई बिट मार्दै २०१७ मा नेपाल फर्किनुभयो । दुई वर्षको अवधिमा उहाँले नेपालमा यसको बजारको बारेमा राम्रोसँग बुझ्नुभयो । विज्ञसँग सल्लाह लिनुभयो र यही मंसिरदेखि उहाँले ड्रयागन फ्रुट खेती सुरु गर्नुभयो ।

‘मैले कोरिया बस्दा नै ड्रयागन फ्रुटको महत्व र बजार बुझेको थिएँ’, उहाँ भन्नुहुन्छ, ‘नेपालमा यसको खेती कम मात्रामा हुन्छ भन्ने थाहा पाएपछि मैले यसकै खेति गर्ने निर्णय गरेँ ।’

केही गर्छु भन्ने आँट भएपछि असम्भव के छ र । उहाँले यही कुरा सावित पनि गर्नुभयो । अहिले उहाँले एक लाखको लगानीमा दुई सय बोट ड्रयागन फ्रुट लगाउनुभएको छ । सुरुमा उहाँले काठमाण्डौबाट बोट ल्याएर यो खेती थाल्नुभएको हो । 

यो सिउडी प्रजातिको फल हो । यस फलको उत्पती मेक्सिकोमा भएको हो । अन्य देशमा यो फल व्यवसायिक रुपमा स्थापित भइसकेको भए पनि नेपालमा भने यसले भर्खरै व्यवसायिकता पाउन थालेको छ ।

यो खेतीमा धेरै मेहनत गर्न पर्दैन । तर प्रतिफल भने राम्रो पाइने ज्ञानु बताउनुुहुन्छ । यो फलको मुल्य एक किलोको आठ सयदेखि एकहजार रुपैयाँसम्म पर्छ । ६ महिनामा तयार हुन्छ । ६ महिनापछि फल दिन्छ । 

विदेशमा जति मेहनत गरे सम्भावना नेपालमै छ

ज्ञानुलाई लाग्छ सम्भावना र अवसरको पहिचान गरी स्वदेशमै मेहनत गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । विदेशको जति खट्ने हो भने कमाइ पनि विदेशको जत्तिकै गर्न सकिन्छ भन्नुहुन्छ उहाँ ।

अहिले गरिरहेको खेतीलाई डेढ बिगाहा क्षेत्रफलमा गर्ने र विस्तारै यसलाई बढाउने ज्ञानु सुनाउनुहुन्छ । भोलीका दिनमा यसको विस्तार गर्दै लैजाने साथै अन्य कृषि उपजहरु समेत थप्ने उहाँको योजना छ । 

‘भोलीका दिनमा यसलाई अझै व्यवसायीक बनाउदै लैजाने सोचमा छु, मेरो दिर्घकालीन लक्ष्य गड्यौला खेती साथै एग्रो टुरिजमको रुपमा विकास गर्ने रहेको छ ’ ज्ञानु आफ्नो योजना सुनाउनुहुन्छ । 


 

अन्तिम अपडेट: चैत ८, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया