सरकार सपना मात्रै बाँड्छ, काम चाहिँ गर्दैन : कांग्रेस नेता केसी

 मंसिर २१, २०७६ शनिबार १८:३२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ –नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले सपना बाँड्ने तर काम नगर्ने प्रवृत्तिलाई प्रोत्साहन गरेको आरोप लगाउनुभएको छ । 

नेता केसीले सरकारले भ्रष्टाचारलाई पनि बढवा दिएको आरोप लगाउनुभयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले आग्रह पूर्वाग्रहलाई प्रोत्साहन दिएकाले ३३ केजी सुन काण्ड, वाइडबडीमा अनियमितता, एनसेल काण्ड, नेपाल टेलिकमको फोरजीमा भएको अनियमितता तथा बालुवाटार जग्गा काण्डका दोषीलाई कारबाही गर्न नसकेको बताउनुभयो । 

साथै उहाँले सरकार आफू कमजोर भएर काम गर्न नसकेको दोष कर्मचारी प्रशासनलाई लगाएको आरोप समेत लगाउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री चित्रबहादुर केसीले नेपालले भारतसँग सीमा विवादको विषयलाई स्पष्टसँग राख्न नसकेको बताउनुभयो । उहाँले आवश्यक परे नेपाल सीमा विवादको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय अदालतमा पनि जान पछि पर्न नहुने बताउनुभयो ।

सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधान मन्त्री टोपबहादुर रायमाझीले सरकार राष्ट्रियता, सुशासन र विकास र समृद्धिको यात्रामा अघि बढेको बताउनुभयो । 

उहाँले जुन स्तरमा काम हुनुपर्ने थियो त्यो स्तरमा नभए पनि प्रतिपक्षी दलले लगाएको आरोपमा सत्यता नभएको टिप्पणी गर्नुभयो । नेता रायमाझीले सीमा विवादको लागि सरकारले कुटनीतिक पहलकदमी अगाडि बढाएको दाबी गर्नुभयो । 

नेताहरुले सीमा विवादको समाधानका लागि सबै दलहरुले सरकारलाई साथ दिएकाले तत्काल पहल गरी आफुनो भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया