१३ औँ साग : पुरुष फुटबलमा श्रीलंकालाई तीन शून्यले हराउँदै भुटान पहिलाेपटक फाइनलमा

 मंसिर २१, २०७६ शनिबार २०:९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा भुटान पहिलाेपटक ऐतिहासिक रुपमा सागको फाइनलमा पुगेको छ ।

जारी प्रतियोगितामा खेलेका तीनै खेलमा जित निकाल्दै भुटानले कम्तिमा रजत पक्का गरेको छ ।

शनिबार दशरथ रंगशालामा भएको खेलमा भुटानले श्रीलंकालाई तीन शून्यले हरायो । भुटानको जितमा छिमी दोर्जीले २ गोल गरे । यो सागमा उत्कृष्ट प्रदर्शन गरेको भुटानले श्रीलंकाविरुद्ध खेलको १८ औंँ मिनेटमा छिमी दोर्जीकाे गाेलमार्फत अग्रता बनायो ।

पहिलो हाफमा एक गोलकाे अग्रता बनाएको भुटानले दोस्रो हाफमा अर्को गोल थप्यो । यसपटक उसले पेनाल्टीबाट गोल गरे । ६८ औं मिनेटमा श्रीलंकाका खेलाडीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीलाई भुटानका जिग्मे छििङले गोलमा परिणत गरे ।

त्यसपछि ८० औंँ मिनेटमा भुटानले तेस्रो गोल थप्यो । त्यसपछि श्रीलंका खेलमा फर्कन सकेन र भुटानले सागको इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनायो ।

यो जितले नेपालले पनि लगभग फाइनलमा स्थान बनाएको छ । आएतबार नेपालले बंगलादेशसँग खेल्नेछ । आइतबारकाे खेलमा नेपाल बंगलादेशसँग पाँच शून्य गोलको फरकमा हारेमा मात्र नेपाल फाइनल पुग्नबाट वञ्चित हुनेछ । जित वा बराबरीले नेपालकाे फाइनल यात्रामा विराम लगाउँदैन ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया