कृषिको तथ्याङ्क लिनै समस्या छ, काम कसरी गर्ने ?

कृषिको जडता नतोडी समृद्धि आउदैन !

 मंसिर २२, २०७६ आइतबार २०:५८:२४ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै - कार्यभार सम्हालेको झण्डै एक दुई हप्ता बितिसक्दा पनि कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले पत्रकारसँग खुलेर बाेल्नुभएको छैन । तर बाहिरबाट निकै चासोका साथ मन्त्री भुसालको काम कारबाही हेरिएको छ ।

मन्त्री भुसाल भने ‘अहिले आन्तरिक छलफलमै छु, छलफल सकेपछि नयाँ योजना बनाएर बोल्छु’ भन्दै आउनुभएको छ । आइतबार मन्त्रालयमा अनौपचारिक भेटघाटका लागि पुगेका कृषि पत्रकारसँग पनि मन्त्री भुसालले पुरानै जवाफ फकाउनुभयो ।

‘मैले कृषि राम्ररी बुझिसकेको छैन । बल्ल बुझ्दैछु’ पत्रकारसँगको कुराकानीमा मन्त्री भुसालले भन्नुभयो, ‘सबै बुझेर सकेपछि, छलफल गरेपछि यो यो काम गर्छु भनेर योजना बनाएपछि तपाईहरुसँग अवश्य बोल्छु ।’

औपचारिक रुपमा नभनेपनि मन्त्री भुसालले केही कामको थालनी भने गर्नुभएको छ । रिक्त रहेका केही निकायमा पदपूर्तिका लागि सार्वजनिक सुचना नै निकालेर योग्य र दक्ष व्यक्ति ल्याउने तयारी थालिसक्नु भएको छ ।

यसबाहेक दैनिकजसो मन्त्रालयका कामकारबाही र यसअघि भइरहेका तर प्रभावकारी हुन नसकेका कामबारे पनि कर्मचारीबाट समीक्षा लिइरहनु भएको छ । 
मन्त्रालय अन्तर्गतका विभाग, महाशाखा लगायत हरेक निकायका प्रमुखसँग सकेसम्म ‘वान टु वान’ नभए सामुहिक भएपनि समीक्षामार्फत ‘रिपाेर्टिङ’ लिइरहनु भएको छ । तर समस्या यही हो र यसरी समाधान गर्छु भनेर ‘भिजन मिसन’ बनाइसक्नु भएको छैन ।

‘मन्त्रीज्युले बुझ्दै हुनुहुन्छ । कम्तीमा एक डेढ महिना सबै बुझेर मात्रै काम सुरु गर्ने योजना बनाउनु भएको छ’, मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भन्नुभयो, ‘धेरैले आश गरेपछि त्यही अनुसार काम गर्नुपर्ने चुनौती भएकाले सबैसँग सल्लाह गरेर अघि बढ्ने तयारी छ ।’ 

प्रदेशका मन्त्रीसँग छलफल

यसक्रममा मन्त्री भुषालले प्रदेशका कृषिमन्त्रीसँग आइतबारदेखि परामर्श सुरु गर्नुभएको छ । सिंहदरबारमा सातै प्रदेशका कृषि मन्त्री बोलाएर उहाँले प्रत्यक्ष छलफल गर्नु भएको हो । 

संघीयता सुरु भएपछि अधिकार बाँडफाडको लडाईँ चलिरहेकाले संघीय सरकारले कृषिको तथ्याङ्क माग्दा पनि पाउन सक्ने स्थिति छैन । केही समयअघि टोर्नाडाे आँधीका कारण बारा र पर्साका विभिन्न ठाउँमा कृषि र पशुको क्षति भयो । तथ्याङ्क लिन मन्त्रालयबाट एक सहसचिवको टोली नै घटनास्थल पुगेको थियो ।

जिल्ला र प्रदेशमा यस्ता काम पर्दा अहिले पहिलेको जस्तो मन्त्रालयले निर्देशन दिन सक्दैन । निर्देशन दिइहाले पनि प्रदेशका मन्त्रालय र पालिकाले जवाफ फर्काउँदैनन ।

आइतबार पत्रकारसामु मन्त्री भुसालले यही समस्या सुनाउँदै भन्नुभयो, ‘समस्या कतिसम्म छ भने अहिले तथ्याङ्क लिनै समस्या छ । मुख्य कुरा तथ्याङ्क र वस्तुस्थिति हो । त्यही नभएपछि कसरी योजना बनाउने ? कसरी काम गर्ने ? काम गरिहाले पनि त्यो प्रभावकारी भइहाल्दैन ।’

पालिका, प्रदेश र संघीय सरकारबीच समन्वय फितलो बनेका बेला मन्त्री भुसालले प्रदेशका कृषिमन्त्रीसँग छलफल र परामर्श थाल्नु भएको छ । यसपछि प्रदेश सरकारका मन्त्रीले पालिकाका जनप्रतिनिधिसँग समन्वय गर्नेछन् ।

‘अहिलेसम्म भइरहेका काम र भोगेका कठिनाईबारेमा मन्त्रीज्युलाई भन्छौँ’, गण्डकी प्रदेशका कृषिमन्त्री लेखबहादुर थापामगरले भन्नुभयो, ‘मन्त्रीज्युकै संयोजकत्वमा संयोजन समिति निर्माण गरेपछि त्यही अनुसार जनप्रतिनिधिसँग सल्लाह गर्ने योजना बनाएका छौँ ।’

मन्त्री भुसालले सबैसँग छलफल र परामर्शपछि तीनै तहको संयोजन र समन्वयका लागि एकिकृत योजना बनाएर अघि बढ्ने बताउनु भएको छ । छलफल र परामर्श सकिएपछि आफूले गर्ने प्रत्येक कामको विवरण सार्वजनिक गर्ने पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया