जाडोमा मोटरसाइकल चलाउँदा यी कुरामा ध्यान दिऔँ

 मंसिर २३, २०७६ सोमबार २०:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

चिसोको यो बेला मोटरसाइकल चलाउन गाह्रो हुन्छ । जति नै गाह्रो भए मोटरसाइकल चलाएर हिँड्नु धेरैको बाध्यता पनि हो । चिसोको योबेला मोटरसाइकल चालकले केही कुरामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

१) मोटरसाइकलको इञ्जिन राम्रोसँग तताउने 

जाडोको बेलामा मोटरसाइकल चलाउनुअघि इन्जिनलाई राम्रोसँग तताउनुपर्छ । मोटरसाइकलको चोक तानेर स्टार्ट गर्नुपर्छ । जाडोको समयमा पेट्रोल र मोबिल बाक्लिन सक्ने र बग्ने पाइपमा राम्रोसँग तेल पास नभएको हुन सक्छ ।

२) पेट्रोल ट्याङकीमा पानी नपार्ने

चिसोमा सकेसम्म आफ्नो मोटरसाइकलको पेट्रोल ट्याङकीमा पानी पार्नु हुँदैन र ट्याङकी पुरै भर्नुपर्छ । जाडोको समयमा पानी जमेको हामीले देखेका छौं । त्यसैगरी मोटरसाइकलको ट्याङकीमा पानीको मात्रा रहेमा जाडोका कारण जमेर समस्या आउन सक्दछ ।

साथै बेलाबेलामा पेट्रोल पाइप र मोबिल जाने पाइप पनि सफा गर्नुपर्छ । यदि कुनै कारणले त्यसमा पानी रहेछ भने त्यहाँ पनि जम्न सक्ने भएकोले यो ख्याल राख्नुपर्छ । साथै फ्युल ककभन्दा मुनिको भागमा रहेको पानी र फोहोरलाई पनि समय समयमा सफा गर्नुपर्छ ।

चिसोका  कारण मोटरसाइकलका बिभिन्न भागहरुमा पानी जम्ने र खिया लाग्न सक्ने हुनाले बेलाबेलामा मोटरसाइकल सफा गरिराख्नुपर्छ ।

मोटरसाइकल चालकले ध्यान दिनुपर्ने कुरा  

१) फुल हेलमेट र चस्माको प्रयोग गर्ने

मोटरसाइकल चालक मोटरसाइकल चलाउँदा चिउँडोसम्म ढाक्ने किसिमको हेलमेटको प्रयोग गर्नुपर्छ । सुरक्षाको हिसाबले निकै उपयोगी हुने यो किसिमको हेलमेटले चालकलाई जाडोबाट पनि बचाउँछ ।

चस्माको प्रयोग गर्नाले यसले चिसोले सिधा आँखामा पर्न सक्ने सम्पर्क कम गर्न मद्दत गर्छ । चिसोको कारणले आँखाबाट आँसु आउन सक्छ र यसले पनि आँखामा समस्या आउनुका साथै दुर्घटनाको सम्भावना बढाउन सक्ने हुँदा राम्ररी आँखा छोप्ने चस्मा प्रयोग गर्नुपर्छ ।

२) तातो लुगा र पञ्जाको प्रयोग गर्ने

जाडो समयमा हावा नछिर्ने किसिमको तातो ज्याकेट वा लुगाको प्रयोग गर्नुपर्छ । र जाडो छ भन्दैमा मोटो र मोटरसाइकल चलाउँदा अप्ठ्यारो हुने किसिमको लुगा पनि लगाउन हुँदैन । जाडोमा हावा नछिर्ने, चिसोबाट बचाउने र मोटरसाइकल चलाउँदा सजिलो हुने ज्याकेटको लगाउनु पर्दछ ।

जाडोमा मोटरसाइकल चलाउँदा सबैभन्दा आवश्यक कुरा हो, पञ्जा । एक्सिलेटर, क्लज र बे्रक सजिलैसँग चलाउन मिल्ने र जाडोबाट बचाउने खालको पञ्जा लगाउनुपर्छ ।

साथै मोटरसाइकल चलाउँदा लगाउने पञ्जा नचिप्लने किसिमको र मोटरसाइकलको ह्यान्डलमा राम्रो पकड हुने किसिमको हुनुपर्छ । पन्जाको प्रयोग गर्दा पनि जाडोले हात चिसो हुने, कठ्याङग्रिने सम्भावना रहेमा मोटरसाइकल रोकेर हात तातो बनाउने कोशिस गरेर मात्रै अघि बढ्नुपर्छ ।

मोटरसाइकल चलाउँदा पुरै बाउला भएको पाइन्ट, ट्राउजर लगाउनुपर्छ । प्वाल परेको, चिसो छिर्ने किसिमको लुगा लगाउन हुँदैन ।

३) जालीवाला जुत्ताको प्रयोग नगर्ने

सकेसम्म जाडोमा मोटरसाइकल चलाउँदा जाली भएको, हाफ जुत्ता चलाउनु हुँदैन । सकेसम्म बुट जस्तो पुरै खुट्टा छोप्ने जुत्ता लगाउनु पर्छ । यस्तो जुत्ताको प्रयोग गर्दा गियर र ब्रेक प्रयोग गर्दा सजिलो हुने र नअल्झिने किसिमको हुनुपर्छ । र लामो दूरीमा यात्रा गर्दा सकेसम्म चिसो हुनेबित्तिकै आगो बालेर वा न्यानो हुने ठाउँमा गएर हात र खुट्टा तताउनु पर्छ ।

४) फग लाइटको प्रयोग गर्ने

जाडोमा हुस्सोको कारण सडकमा आउने र जाने गाडीहरु राम्रोसँग देखिने सम्भावना कम हुन्छ । तराई र पुर्वी क्षेत्रमा हुस्सो कारण धेरै दुर्घटना हुने गरेको छ । यसलाई कम गर्नको लागि मोटरसाइकल वा ठूला गाडी सबैले फग लाइट बाल्नुपर्छ । चालकले बेलाबेला आफ्नो गाडी र मोटरसाइकलको पास लाइट बालेर पनि आफू आएको सङकेत अगाडिको गाडीलाई दिन सक्छन् ।

५) चिप्लिएला, गति कम गर्ने

जाडोमा सडकमा शीत झरेको हुन सक्छ । शीत जमेको ठाउँमा मोटरसाइकलको पाङग्रा पर्दा चिप्लन सक्छ । अझै गति धेरै र अनियन्त्रित हुँदा मोटरसाइकल चिप्लने हुन सक्ने हुँदा मोटरसाइकल चालकले मध्यम गतिमा मोटरसाइकल चलाउनु पर्छ ।

६) टल्कने लुगा लगाउने

सकेसम्म मोटरसाइकल चालक, साइकल यात्री र पैदलयात्रीले सडकमा निस्किदा बत्ती र प्रकाश पर्दा टल्कने किसिमको कपडाको प्रयोग गर्नुपर्छ ।

विशेषतः रातिको समयमा पछाडि र अगाडिबाट आएको गाडीलाई सडकमा आफ्नो उपस्थिति झल्काउनका लागि यस्तो किसिमको लुगाले निकै महत्वपूर्ण भूमिका खेल्दछ भने सुरक्षित यात्रामा पनि सघाउँछ । 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया