नेपालको स्वर्णिम प्रदर्शन !

 मंसिर २४, २०७६ मंगलबार २०:१४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करणमा खेलकुदका सबै विधाका खेलहरु सकिएका छन् ।

यस पटकको साग नेपालका लागि निकै उपलब्धिमूलक रह्यो । सागको इतिहासमा पहिलो पटक ५० स्वर्ण पार गरेको छ । नेपाल ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्न सफल भयो ।

यतिमात्र होइन, सागको इतिहासमा पहिलो पटक धेरै खेलमा नेपालले स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले १२ वटा फरक खेलमा स्वर्ण जित्न सफल भयो । यसपटकको सागमा नेपालले एथ्लेटिक्स, पौडी, बक्सिङ, भारत्तोलन, फुटबल, कराते, तेक्वान्दो, साइक्लिङ, ट्रायथलन, जुडो, उसुलगायतका खेलमा स्वर्ण हात पार्यो ।

नेपालले कुल २६ खेलमध्ये २५ खेलमा पदक जित्यो । नेपालले स्वर्ण जित्न नसकेको खेल भनेको सुटिङ मात्र रह्यो । यतिमात्र होइन, यस पटकको सागमा नेपाल पदक तालिकाको दोस्रो स्थानमा रह्यो ।

सन् १९९९ पछि नेपालले घरेलु मैदानमा फुटबलमा स्वर्ण जित्न सफल भयो । यस्तै यही सागमा नेपालका धेरै खेलाडीले कीर्तिमान बनाए, चाहे त्यो पहिलो पटक स्वर्ण जित्नु होस् या एकै सागमा दुई वा त्योभन्दा बढी स्वर्ण जित्नु ।

करातेबाट सुरु भएको नेपालको पदक अन्तिममा फुटबलमा पुगेर सकियो । घरेलु भूमिको फाइदा पनि पाएको नेपालका लागि अल्टिच्युडले पनि निकै राम्रो साथ दियो । विदेशी खेलाडीले अल्टिच्युडका कारण राम्रो गर्न नसक्दा नेपालले त्यसका फाइदा उठाए । त्यस्तै पाैडीमा चार स्वर्ण जित्दै गाैरिका सिंहले कीर्तिमान कायम गरेकी छिन् ।

नेपालमा साग हुन्छ कि हुँदैन भन्ने अन्योलबीच साग सम्पन्न भएको छ । यसपटक जुन किसिमको तयारी भएको थियो, त्यो हिसाबले नेपालले सफल रुपमा आयोजना गर्यो । पूर्वाधारको तयारी अन्तिम समयसम्म हुनु, खेलाडीले आफ्नो प्रतियोगिता भेन्यूमा नै तयारी गर्न नपाउनु यसपटकको सागमा कमजोरी रह्यो ।

यसका साथै व्यवस्थापनका हिसाबले भने नेपाल कतै न कतै चुक्न पुगेको थियो । सागको जस्तो व्यवस्थापन नलागे पनि नेपालले सक्दो प्रयास गर्यो । जस्तोसुकै कमजोरी भए पनि त्यसलाई नेपालले जितेका पदकले छोपिदियो । नेपालले साँच्चै नै छाेटाे अवधिमा स्वर्णिम प्रदर्शन गरेर नेपाली खेलप्रेमीलाई खुशी बनाएकाे छ ।

१३औँ सागमा नेपालका लागि स्वर्ण जित्नेहरु

१. मण्डेकाजी श्रेष्ठ– (पुरुष एकल काता) कराँते
२. मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर– (पुरुष टिम काता) कराँते 
३. निर्मला तामाङ, संगीता मगर र सरु कार्की– (महिला टिम काता) कराँते
४. लक्ष्मण तामाङ– (५५ केजी) कराँते
५. विल्पवलाल श्रेष्ठ– (८४ केजीमाथि) कराँते 
६. कुसुम खड्का– (४५ केजीमुनि) कराँते
७. अनु अधिकारी– (५० केजीमुनि) कराँते
८. नवीन रसाइली– (६७ केजी) कराँते
९. सुनिता महर्जन– (६८ केजी) कराँते
१०. अनुपमा मगर– (६८ केजी) कराँते
११. कलम श्रेष्ठ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१२. सिना मादेन लिम्बू– (१७–२३ वर्ष) तेक्वान्दो पुम्से
१३. पार्वती गुरुङ– (२३–२९ वर्ष) तेक्वान्दो पुम्से
१४. आयशा शाक्य– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१५. आयशा शाक्य र सञ्जिवकुमार पाण्डे– (२९ वर्षमाथि) तेक्वान्दो पुम्से
१६. निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना– (१७–२३ वर्ष) पुम्से महिला टिम
१७. निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई– (२३–२९ वर्ष) पुम्से महिला टिम
१८. काजल श्रेष्ठ– (४६ केजीमुनि) तेक्वान्दो 
१९. वीरबहादुर महरा– (६८ केजीमुनि) तेक्वान्दो
२०. सोनी गुरुङ – ट्रायथलन
२१. हिमाल टमाटा– डुवालोथन
२२. विजय सिञ्जाली– उसु (थाउलो)
२३. सुस्मिता गुरुङ– उसु (थाउलो)
२४. दीपक हमाल– उसु (थाउलो)
२५. सन्तोषी श्रेष्ठ– एथलेटिक्स (१० हजार मिटर) 
२६. राजेश मगर– साइक्लिङ (डाउनहिल)
२७. निश्मा श्रेष्ठ– साइक्लिङ (डाउनहिल)
२८. संगीता बस्याल– (६२ केजीमुनि) तेक्वान्दो
२९. सक्षम कार्की– तेक्वान्दो
३०. निमा घर्ती मगर - उसु
३१. लक्ष्मी मगर– साइक्लिङ
३२. बुद्धिबहादुर तामाङ– साइक्लिङ
३३. सञ्जु चाैधरी - भाराेत्तलन
३४. गाैरिका सिंह - पाैडी
३५. जुनी राई - उसु
३६. भुपेन श्रेष्ठ– तेक्वान्दो
३७. गोपीचन्द्र पार्की– दौड 
३८. सुवास तामाङ– गल्फ (व्यक्तिगत)
३९. सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ–  गल्फ (टिम इभेन्ट) 
४०. विकास थापा– भाराेत्ताेलन
४१. गाैरिका सिंह– पाैडी
४२. किरणसिंह बाेगटी– म्याराथन
४३. संगीता धामी– कुस्ती
४४. गाैरिका सिंह- पाैडी
४५. देविका खड्का- जुडाे
४६. मिनु गुरुङ- बक्सिङ
४७. भूपेन्द्र थापा- बक्सिङ
४८. पुनम श्रेष्ठ- जुडाे
४९. गाैरिका सिंह- पाैडी
५०. सनिल शाही - बक्सिङ
५१. पुरुष फुटबल टिम 

भारत शीर्ष स्थानमा

विगतका सागमा झैँ यस पटक पनि भारतले सबैभन्दा बढी स्वर्ण जित्दै पहिलो भएको छ ।  भारतले १७४ स्वर्ण, ९३ रजत र ४५ कांस्य गरी जम्मा ३१० पदक जित्दै प्रथम हुन सफल भएको छ ।

दोस्रो भएको आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य पदक जितेको छ ।

चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य पदक जितेको छ । पाँचौँ स्थानमा रहेको बंगलादेशले भने १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य पदक जितेको छ । 

१ स्वर्ण र ३ कांस्य पदक जितेको मालदिभ्स पदक तालिकाको छैटौँ स्थानमा रहेको छ । एउटा पनि स्वर्ण जित्न नसकेको भुटान ७ रजत र १३ कांस्य पदक जित्दै सातौँ अर्थात पुच्छारमा रहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया