नारायणगढ–मुग्लिन सडक खण्ड मर्मत गर्न २ हप्ता बन्द गरिने

 मंसिर २५, २०७६ बुधबार १३:१४:१४ | राधेश्याम खतिवडा
unn.prixa.net

फाइल फोटो

चितवन – नारायणगढ-मुग्लिन सडक खण्डमा दुई हप्ताका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ । 

सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै यही मंसिर २७ गते देखि ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले बताउनु भयो । 

सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुदैँछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम सुरु गरेको खनालले बताउनुभयो । 

नारायणगढबाट मुग्लिनतर्फ आउने सवारीसाधनमध्ये यात्रुवाहक मिनिबस, माइक्रो बस, साना सवारीसाधन लाई पन्ध्र किलो बजारमा र मालवाहक सवारी टक, लरी, टेलर, टिप्पर र ट्यांकरलाई दासढुङ्गामा रोकिने खनालले बताउनु भयो । 

पोखराबाट काठमाण्डौ आवतजावत गर्ने सवारी साधन नरोकिने उहाँले जानकारी दिनुभयो ।   

आयोजनाले ३ हप्ताको समय मागे पनि मुख्य राजमार्ग भएकाले २ हप्तामा नै काम सक्नेगरी स्रोत, साधन प्रयोग गरेर काम गर्न निर्देशन दिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । 

आयोजनाले केही समय अगाडि नै सडक बन्द गरेर काम गर्न अनुमति मागेको थियो । भरतपुर विमानस्थल मर्मतको काम हुने क्रममा विमानस्थल पनि बन्द र सडक मार्ग पनि बन्द हुँदा समस्या पर्ने भएकाले विमानस्थल खुलेपछि अहिले काम गर्न अनुमति दिएको भट्टराईले बताउनु भयो । 

विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्ड को डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरोको काम बाँकी रहेको थियो । ६ महिनाको अवधिमा काम सक्नेगरी काम सुरु भएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया