‘सबैजसो कर्मचारी फिल्डमा छन्, रेलको काम अब फटाफट हुन्छ’

 मंसिर २५, २०७६ बुधबार १७:११:२९ | अर्जुन पोख्रेल
unn.prixa.net

नेपालमा रेलको कुरा चलेको धेरै समय भयो । तर कुरा अनुसारको काम भएको छैन । पूर्व पश्चिम विद्युतीय रेल, काठमाण्डौबाट रसुवा हुँदै चीन जोड्ने रेल, काठमाण्डौ – पोखरा –लुम्बिनी रेल, काठमाण्डौ – रक्सौल, काठमाडौंमा मेट्रो र मोनोरेल लगायतका परियोजना गएको चुनावमा पनि धेरै दलका घोषणापत्रमा उल्लेख थिए । तर अहिलेसम्म घोषणामै सीमित छन् । 

पूर्व पश्चिम रेलको लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार भएको छ । काम भने बर्दिवास, निजगढ क्षेत्रमा मात्रै भैरहेको छ । यस्तै काठमाण्डौबाट रसुवा हुँदै चीन जाने रेल परियोजनाको सम्भाव्यता अध्ययन पनि भएको छैन ।  यस्तै काठमाण्डौमा मोनो र मेट्रो रेलको लागि पनि काम अघि बढेको छैन ।

सबै रेल परियोजना खर्ब रुपैयाँभन्दा तलको लगानीमा बन्नै सक्दैनन् । त्यसैले सरकारलाई लगानी जुटाउन हम्मेहम्मे पर्ने पनि देखिन्छ । यसै विषयमा अर्जुन पोख्रेलले अहिले चर्चामा रहेका रेल परियोजनाबारे रेल विभागका महानिर्देशक बलराम मिश्रसँग कुराकानी गर्नुभएको छ ।

रेल विभागले अहिले के काम गरिरहेको छ ?

रेल विभाग गठन भएको ८ वर्ष भयो । पहिले मेट्रो तथा मोनोरेल आयोजना भिन्नै कार्यालय थियो । अहिले त्यो आयोजना पनि यही विभाग अन्तर्गत छ । देशमा अहिले रेलको बारेमा धेरै बहस भैरहेका छन् । केही परियोजना अघि बढेका छन् । केही परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम भैरहेको छ । केही परियोजनाको लागि सम्भाव्यता अध्ययनको काम पनि भैरहेको छ । समग्रमा भन्नुपर्दा अहिले हामीले व्यस्त तालिका बनाएर काम गर्नुपरेको छ । 

३ वर्ष अघिसम्म रेल विभागमा आउँदा सबैजसो कर्मचारी फुर्सदिलो अवस्थामा भेटिन्थे । कार्यालय सुनसान हुन्थ्यो, अहिले त त्यस्तो छैन भन्नुभयो, फटाफट काम भैरहेको छ हो ?

अहिले तपाइँ रेल विभागमा मान्छे नै देख्न मुश्किल पर्छ । किनकि धेरैतिर काम भैरहेको छ, कर्मचारी जति फिल्डमा छन् । पूर्व पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास–निजगढ खण्डमा काम भैरहेको छ, त्यहाँ यहीँबाटै साथीहरु गएका छन् । यस्तै बर्दिवास–बिजलपुरा–जयनगर खण्डको काम पनि भैरहेकाले केही कर्मचारी त्यता छन् । केही कर्मचारी विराटनगर–जोगबनी खण्डमा छन् । चीनसँग भर्खरै भएको सहमतिअनुसार काम गर्न केही कर्मचारी त्यता पनि खटिएका छन् । रेल विभागका सबै कर्मचारी काममै छन् । 

अब हामीले आयोजनाअनुसार कुरा गरौं । पूर्व पश्चिम रेलमार्गको काम के भैरहेको छ ?

लिंक मार्ग छाड्ने हो भने अहिले काकडभिट्टादेखि गड्डाचौकीसम्मको ९ सय ४५ किलोमिटर क्षेत्रको डीपीआर तयार भैसकेको छ । केही खण्डमा काम पनि सुरु भैसकेको छ । जस्तै बर्दिवासदेखि निजगढसम्म रेलवे ट्रयाकको काम अघि बढेको छ । ट्याक भनेको लिग बिच्छ्याउने भन्दा अगाडिको काम हो ।

यो क्षेत्रमा पुलको काम पनि अघि बढिसकेको छ । मैले यहाँ अलिकति जयनगर–बिजलपुरा–कुर्था रेलको कुरा जोड्न चाहन्छु । यो मार्गमा अबको केही महिनामै रेल चढ्न पाइनेछ । हामीले लिग तयार गरिसकेका छौं । दुईवटा रेल पनि खरिद गरिसकेका छौँ । केही दिनभित्र हामीलाई प्राप्त हुनेछ । कर्मचारी व्यवस्थापनको काम पनि भैरहेको छ । अबको २ देखि ३ महिनामा यो क्षेत्रमा रेल चल्नेछ । 

तर रेल आउन ढिलाइ गर्दा त्यहाँका सामग्री चोरी भएका खबर आइरहेका छन् नि ?

रेल स्टेशनमा कतै धारा चोरी भएको, कतै केही नट बोल्ट चोरी भएको लगायतका जानकारी आएका छन् । त्यसले ठूलो क्षति पुग्दैन र रेल सञ्चालनमा असर पनि पर्दैन । तर अब नयाँ रेलवे ऐन आउँदैछ । त्यसमा रेलमा गर्ने यस्ता उच्छृङखल गतिविधी गर्नेलाई कडा सजाय तोकिएको छ । त्यसले पनि कन्ट्रोल होला । अनि अबको २÷३ महिनामा रेल सञ्चालन हुन्छ, रेल सञ्चालन भैसकेपछि चहलपहल पनि बढ्नेछ र चोरी पनि रोकिनेछ । 

पूर्व पश्चिम रेलमार्गको डीपीआर तयार भैसकेको र बर्दिवास–निजगढ क्षेत्रमा काम भैरहेको बताउनुभयो । पुरै पूर्व पश्चिम रेलमार्गको लागि लगानी कति चाहिने अनुमान छ ?

पूर्व पश्चिम रेलमार्गको लम्बाइ ९ सय ४५ किलोमिटर हो । तर लिंकरेल सहित १ हजार ५६ किलोमिटर लामो हुनेछ । लिंक भन्नाले बुटबल–लुम्बिनी, कोहलपुर–नेपालगञ्ज, यस्तै अन्य क्षेत्रमा पनि लिंक जोड्दा यो केही लामो हुनेछ । लिंकसहितको रेलमार्गको लागि कूल लागत १० खर्ब रुपैयाँ जति लाग्ने देखिएको छ । यसमा जग्गा अधिग्रहण पनि पर्नेछ । 

१० खर्ब रुपैयाँ भनेको नेपालको लागि निकै ठूलो रकम हो । एकैपटक त यो बनाउन सकिन्न होला हैन ?

अहिले बर्दिवासदेखि निजगढसम्मको काम भैरहेको छ । जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्म भारतको सहयोगमा रेल बनिरहेको छ । त्यसपछि खण्ड खण्डमा डीपीआर भएको छ । जस्तो बर्दिवासदेखि इनरुवा, इनरुवादेखि काकडभिट्टाकेको छ  । नेपाल सरकारले बजेट दिएको आधारमा हामीले काम गरि, निजगढदेखि बुटवल, बुटवल लमइ, लमही कोहलपुर, कोहलपुर सुख्खड र सुख्ख्ड  गड्डाचौकी खण्ड गरेर ७ खण्डको डीपीआर भैसरहेका छौं । 

तर रेलको कुरा गर्दा सुरुवाती बिन्दुसँग जोड्नैपर्छ, तब मात्रै फाइदा हुन्छ । उदाहरणको लागि काकडभिट्टादेखि बुटवलसम्म रेल बनाएमा मात्रै त्यसले मनग्य फाइदा दिन सक्छ । 

अब चीनतर्फ बन्ने रेलको कुरा गरौं । केही दिनअघि चीनसँग सम्झौता पनि भएको छ । काठमाण्डौ–केरुङ रेलमार्गको कुरा के हो ?

चीनतर्फको रेल परियोजनामा अहिले हामी धेरै नै प्रारम्भिक चरणमा छौं । अहिले इञ्जिनियरिङको हिसाबले मात्रै यो परियोजना सम्भव छ भन्ने मात्रै थाहा छ । कसरी बन्छ, लगानी कति लाग्छ, कसले बनाउने लगायतका सबै कुरा अब अध्ययन गरेपछि मात्रै थाहा हुन्छ ।

यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन नगरेसम्म केही पनि भन्न सक्ने अवस्था छैन । चीनका राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएको सहमति अनुसार चीनले यसको विस्तृत सम्भाव्यता  अध्ययन गर्ने सम्झौता भएको छ । चीनले अनुदानमा विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ र त्यो गरेपछि मात्रै धेरै कुरा थाहा हुन्छ ।

अहिलेसम्म यो परियोजनाको बारेमा कुरा मात्रै भएको हो, काम भएको छैन, त्यसैले धेरै बोल्नु उपयुक्त छैन । 

अब काठमाण्डौको कुरा गरौं । मोनोरेल र मेट्रोरेल चलाउने भनेर हल्ला भएको धेरै समय भैसक्यो, काम अघि बढेको छ त ?

मोनोरेल काठमाण्डौलाई चाहिएकै छैन । यति ठूलो सहरलाई मोनोरेलले धान्छ भन्नु र त्यसमै लगानी गर्नु हास्यास्पद मात्रै हुन्छ । एसियाली विकास बैंक एडीबी, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका लगायतका निकायले गरेको अध्ययनले पनि काठमाण्डौमा मोनोरेलले नधान्ने देखाइसकेका छन् । त्यसैले रेल विभागले मोनोरेल भन्दा पनि मेट्रोरेलमा भने केही तयारी थालेको छ । 

तर काठमाण्डौ महानगरपालिकाले त मोनोरेल बनाउन पैसा खर्च गर्न  थालेको छ नि ?

अध्ययनहरुले नै काठमाण्डौमा मोनोरेल उपयुक्त छैन भनेका छन् । कार्यक्षेत्रको कुरा गर्ने हो भने मोनोरेल र मेट्रोरेल हेर्ने पनि हाम्रै निकाय हो । मैले पनि मिडियाबाट खै कुन निकायले ले मोनोरेलको अध्ययन थालेको भन्ने सुनेको छु । तर आधिकारिक रुपमा हामीलाई कुनै पनि जानकारी आएको छैन । 

तपाईँहरुले मेट्रोरेलबारे त काम गरिरहनुभएको छ नि ?

हामीले अहिलेलाई काठमाण्डौमा ७२ किलोमिटर लामो मेट्रोरेलको लागि पूर्व सम्भाव्यता अध्ययन  गरिसकेका छौं । त्यसमध्ये ४६ किलोमिटर क्षेत्रमा लगानी बोर्डले हेरिरहेको छ । त्यसमा केही विदेशी कम्पनीले पनि चासो देखाएको भन्ने सुनेको छु ।

बाँकी २६ किलोमिटर क्षेत्रको सम्भाव्यता अध्ययन हामीले अगाडि बढाइसकेका छौं । बुढानिलकण्ठ, महाराजगञ्ज, रत्नपार्क, सातदोबाटो हुँदै खोकनासम्मको २६ किलोमिटर मेट्रोरेलको लागि हामीले अध्ययन गरिरहेका हौं । यसमा केही भागको डिपिआर बनाउने र केही भागको सम्भाव्यता अध्ययन सँगसँगै अघि बढाउने तयारीमा छौं । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया