खप्तड र हुम्लामा हिमपात, जनजीवन प्रभावित

 मंसिर २६, २०७६ बिहिबार १४:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी - सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल खप्तड राष्ट्रय निकुञ्जमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ ।

बुधबार रातिबाट हिमपात भैरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरु गोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बुधबार साँझदेखि नै अत्याधिक चिसो छ । बेलाबेला हिमपात पनि भैरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।’

उहाँका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो । यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । यस वर्ष खप्तडमा दोस्रो पटक हिमपात भएको हो ।

हुम्लामा फेरि हिमपात : हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

त्यस्तै कर्णाली प्रदेशकाे हुम्लामा दोस्रो पटक हिमपात हुँदा हुम्लाको  जनजीवन प्रभावित भएको छ ।

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात सुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एअरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यहाँको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ । हिमपातले बिहानी कक्षा लिँदै आएका कैलाश बोर्डिङ र हिमाली बोर्डिङका विद्यार्थीलाई समस्या बनाएको कैलाश बोर्डिङका प्रधानाध्यापक छवाङ लामाले बताउनुभयो । 
    
दोस्रो पटक हिमापात हुँदा जिल्लाका दक्षिण क्षेत्रका किसानलाई भने फाइदा पुगेको छ । हिउँदे बाली गहुँ, जौ, खनजोत गर्ने समयमा हिमपात हुँदा सजिलो हुने भएको सर्केगाड गाउँपालिकाका फागुने महतराले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया