बहुपति प्रथामा आधारित वृत्तचित्र ‘सहायक श्रीमान’

 मंसिर २६, २०७६ बिहिबार १६:५२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बहुचर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’ निर्देशन गरेका गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव(किम्फ) मा शुक्रबार दिउँसो १ बजे रिलिज हुँदैछ । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । त्यही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौँ’, निर्देशक पाण्डेले भने, ‘करिब ४ वर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । त्यसैले पनि हाम्रो मेहनतलाई दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया