बेलायत आमचुनाव : बोरिस जोनसोनको कन्जर्भेटिभ पार्टीलाई पूर्ण बहुमत- 'एक्जिट पोल'

 मंसिर २७, २०७६ शुक्रबार ७:३:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – बेलायतको आमचुनावमा कन्जर्भेटिभ पार्टी फेरि एकपटक सत्तामा फर्किने संकेत देखिएको छ । 

बिहीबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदान भएको थियो । मनदान सकिएलगत्तै बीबीसी–स्काई–आईटिभीले ‘एक्जिट पोल’ जारी गरेका छन् । 

जारी गरिएको एक्जिट पोलमा बोरिस जोनसनको कन्जर्भेटिभ पार्टीलाई पूर्ण बहुमत मिल्ने संकेत देखिएको छ । 

एक्जिट पोलका अनुसार ६ सय ५० सिटको संसदमा कन्जर्भेटिभ पार्टीलाई ३ सय ६८, लेबर पार्टीलाई १ सय ९१, लिबरल डेमोक्रेट्सलाई १३, एसएनपीलाई ५५ र ब्रेक्जिट पार्टीलाई भने एक पनि सिट मिलेको देखिँदैन । 

कन्जर्भेटिभ पार्टीलाई सन् २०१७ को चुनावको नतिजाभन्दा ५० सिट फाइदा भएको देख्न सकिन्छ । सरकार बनाउनका लागि कुनै पनि पार्टीलाई ३ सय २६ सांसदको समर्थन जरुरी हुन्छ । 

आफ्नो पहिलो प्रतिक्रियामा प्रधानमन्त्री बोरिस जोनसनले ट्वीट गरेका छन्, ‘हाम्रो महान देशमा मतदान गर्ने सबैलाई धन्यवाद । हामीले पार्टीको लागि काम गर्यौँ, पार्टीको उम्मेदवार बन्यौँ । हामी विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा छौँ ।’

यता लेबर पार्टीका शैडो चान्सलरले जोन म्याकडनलले भने यदि एक्जिट पोल सही हुने हो भने निकै निराशाजनक हुने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मैले प्रतिस्पर्धा निकै टक्करको हुने सोचेको थिएँ । सबैले यही सोचेका थिए कि दुई पार्टीको अन्तर निकै कम हुन्छ ।’

यदि नतिजा एक्जिट पोलकाअनुसार आयो भने सन् १९८७ पछि कन्जर्भेटिभ पार्टीको सबैभन्दा ठूलो जित हुनेछ । त्यस्तै लेबर पार्टीको लागि सन् १९३५ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ, जसको ७१ सिट गुमेको देखिएको छ । 

एक्जिट पोल आएसँगै ट्विटरमा ट्रेण्ड चलेको छ । लेबरका एक उम्मेदवार सियोभान म्याकडोनाले कोर्बिनलाई निशाना बनाउँदै ट्वीट गरेका छन्, ‘यो एक जना मानिसको गल्तीले भएको हो । उनको चुनाव प्रचार, घोषणापत्र र उनको नेतृत्व ।’

एक्जिट पोलमा कन्जर्भेटिभ पार्टीलाई बहुमत मिलेको देखेपछि बेलायती मुद्रा पाउण्डमा पनि वृद्धि भएको देख्न सकिन्छ ।  

५ वर्षभन्दा कम समयको अवधिमा बेलायतमा यो तेस्रो चुनाव हो । सन् २०१५ र सन् २०१७ मा पनि बेलायतमा चुनाव भएको थियो । त्यस्तै गएको १ सय वर्षमा डिसेम्बर महिनामा भएको यो पहिलो आमचुनाव हो । 

बिहीबार मतदान सुरु हुनेबित्तिकै प्रधानमन्त्री बोरिस जोनसन, लेबर पार्टीका नेता जेरेमी कोर्बिन, लिबरल डेमोक्रेट पार्टीका नेता जो स्विनसन, एसएनपीकी नेतृ निकोला स्टरजियोनले मतदान केन्द्रमा गएर आ–आफ्नो भोट खसालेका थिए । तर ब्रेक्जिट नेता निजेल फराजले मतदान गर्न पोस्टल ब्यालेटको प्रयोग गरेका थिए । 

नतिजाले ब्रेक्जिटमा कस्तो असर गर्छ ?

यदि अन्तिम नतिजा एक्जिट पोलअनुसार आयो भने प्रधानमन्त्री बोरिस जोनसोन आफ्नो शर्तमा युरोपेली संघ (इयू) बाट अलग हुनेछन् । 

गृह मन्त्री प्रीति पटेलले नयाँ सरकार ब्रेक्जिट लागू गर्न तत्काल कदम उठाउने बताएकी छिन् । उनका अनुसर क्रिमसमअघि नै संसदमा विधायक पेस गरिनेछ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया