उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

 मंसिर २७, २०७६ शुक्रबार ८:४८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ । 

शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ । 

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ । यस्तै शनिबार र आइतबार पनि केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहे पनि भारी हिमपात भने नहुने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ ।

यसैबीच मौसम बद्ली भएर देशका विभिन्न ठाउँमा पानी पर्ने र हिमपात भए पनि न्यूनतम तापक्रम भने खासै घटेको छैन । केही ठाउँको न्यूनतम तापक्रम झनै बढेको छ । 

बिहीबार बिहान ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको न्यूनतम तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस मापन गरिएको छ । 

बिहीबार सबैभन्दा कम जोमसोमको तापक्रम २ डिग्रि सेल्सियस मापन गरिएको थियो भने जिरीको ६ दशमलव ८ डिग्री सेल्सियस, ताप्लेजुङको ६ डिग्री सेल्सियस, दाङको १० डिग्री सेल्सियस, जुम्लाको ३ दशमलव ९ डिग्री सेल्सीयस, डडेलधुराको ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । 

राति बादल लागेकाले जमिनको तातो हावा बाहिर नगएकाले न्यूनतम तापक्रम बढेको महाशाखाले जनाएको छ ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया