सुदूरपश्चिमका हिमाली तथा लेकाली क्षेत्रमा हिमपात

 मंसिर २७, २०७६ शुक्रबार ८:५८:४० | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको बुधबारदेखि मौसममा आएको परिवर्तनका कारण डोटीलगायतका पहाडी तथा हिमाली जिल्ला बझाङ र बाजुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । 

हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । डोटीकोे खप्तड क्षेत्रको झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी भागमा हिमपात भएपछि चिसो बढेको छ । 

चिसो बढेसँगै गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै जोडिएको पूर्वीचौकी गाउँपालिकाका स्थानीय जोगीसिंह विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाले वस्तु गोठबाहिर निकाल्नसमेत समस्या भएको छ ।’

हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी नपुग्ने यहाँका लेकाली क्षेत्रमा अहिले हिउँ परेका कारण हिउँदे बाली सप्रिने आशामा स्थानीय खुशी छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ । 

हिमपातका कारण स्थानीयवासी घरबाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको ध्वजबहादुर विष्टले जानकारी दिनुभयो । हिमपातल चिसो बढेसँगै वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । 

यहाँका उच्च लेकाली भेगमा बाक्लो हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका ठाउँमा मसिनो पानी परिरहेको छ । हिमपातसँगै पानी परेपछि यहाँको तापक्रम निकै घटेको छ । 

चिसोका कारण विभिन्न रोग तथा समस्याले सताउने भएकाले चिसोबाट बच्न सर्तकता अपनाउनु पर्ने शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका निर्देशक तथा चिकित्सक आइजङ्ग कुँवरले सुझाव दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया