धनुषा बम विस्फाेट : अनुसन्धानका क्रममा तीन जना पक्राउ

 मंसिर २८, २०७६ शनिबार १३:५७:१० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा भएको बम विस्फोट प्रकरणमा संलग्न भएकाे आराेपमा तीन जनालाई पक्राउ गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा दुई महिला र एक पुरुष गरी तीन जनालाई पक्राउ गरेको हो । घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा ७ सदस्यीय अनुसन्धान टोली पनि गठन गरेकाे गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

यसैबीच शनिबार बिहान जिल्ला सुरक्षा समन्वय समितिकाे बैठक बसेकाे छ । बैठकमा गएराति भएको घटना र जिल्लाको सुरक्षा अवस्थाबारे समीक्षा गरिएको कुरा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिनुभयाे ।

समीक्षामा प्रहरी निकायबाट भएका कमीकमजोर बारे बृहत् रुपमा छलफल गर्नुका साथै आगामी दिनमा यस्ता घटना नदोहरियोस् भन्ने सुरक्षा समितिलाई सचेत हुन भनिएको छ । बैठकमा जिल्लाको सुरक्षा व्यवस्था सुदृढ पार्न सुरक्षा समितिमा रहेका तीनवटै निकायबीचको समन्वय बढाइने निर्णय समेत गरिएको प्रजिअ कणेलले बताउनु भएको छ ।

बम विस्फोटमा परि प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान गएकाे छ । इलाका प्रहरी कार्यालय नजिकै रहेको राजेश्वर साहको घरको शौचालयमा फेला परेको बम हो होइन भनेर यकिन गर्ने समयमा प्रहरी निरीक्षक दाहाल घाइते हुनु भएकाे थियाे ।

घटनामा घरधनी राजेश्वर साह र उहाँका छोरा आनन्द साहको घटनास्थलमै ज्यान गएकाे थियो भने गम्भीर घाइते भएका प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा बिहान ७ बजे मृत्यु भएको थियो ।

विस्फाेटमा परि प्रहरी जवान रिजन महतो, राजेश्वरका छोरा प्रकाश साह र छोरी अञ्जली साह घाइते भएका छन् । उनीहरुको उपचार धरानमै भइरहेको छ । घटना पश्चात यस क्षेत्रको अवस्था तनावग्रत बनेको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया