वरिष्ठ नेता पाैडेललाई फकाउन सभापति देउवा बाेहाेराटारमा !

 मंसिर २८, २०७६ शनिबार १४:३५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन उहाँकै निवास पुग्नुभएको छ । 

बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्नुभएका नेता पौडेललाई फकाउन देउवा शनिबार बिहान बोहराटार पुग्नुभएको हो । भेटमा चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानुको विकल्प नभएको भन्दै सबै कुरा मिलाएर अगाडि बढ्ने विषयमा कुराकानी नेताहरुले बताएका छन् ।

सभापति देउवालाई हतारमा अगाडि बढ्नुभन्दा पनि संयमतापूर्वक र उदारतापूर्वक पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्ने सुझाव देउवालाई आफूले दिएको पौडेलले बताउनुभयो । ‘चुनौतीपूर्ण घडीमा पार्टी एक भएर जानु जरुरी छ । पार्टीलाई एक बनाउनका लागि पार्टीभित्रका केही समस्याहरुर्लाइ न्यायपूर्ण र पारदर्शी ढंगले मिलाएर अगाडि लानुपर्छ । यही विषयमा सभापतिज्यूसँग कुरा भएको छ । उहाँलाई धेरै हतारमा नजानुहोस् संयमतापूर्णक र उदारतापूर्वक पार्टीलाई कसरी समेटेर लान सकिन्छ ? यो सभापतिको जिम्मेवारी हो । हामी सबैले साथ दिन्छौँ’, उहाँले भन्नुभयो ।

सभापतिको कार्यकाल कति थप हुने भन्ने कुरा महाधिवेशन कार्यतालिकाले निर्धारण गर्ने भएकाले यो एजेण्डा बैठकमा प्रस्तुत हुनुपर्ने उहाँको धारणा थियो ।

पार्टीभित्र देखिएको असमझदारीलाई हल गर्न पौडेल समूहबाट प्रकाशमान सिंह र देउवा समूहबाट विमलेन्द्र निधिको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । ‘उहाँहरु (वार्ता समिति) ले बसेर छलफल गरेर सबै कुरा मिलाउँछन् । सबैभन्दा पहिले महाधिवेशनको एजेण्डा पहिलो सर्त हो । यसलाई अगाडी राखेर अरु पनि संगठनात्मक समस्याहरुलाई थुईथरी बसेर पारस्परीकताका आधारमा न्यापूर्ण र पारदर्शी ढंगले समाधान गर्दै जानुपर्छ’, उहाँले भन्नुभयो ।

छलफलमा सहभागी उपसभापति विमलेन्द्र निधिले समायोजनको काम सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने विषयमा पहिले नै सहमति भइसकेकाले यो विषयलाई अन्यथा लिन नहुने बताउनुभयो ।

महाधिवेशन कार्यतालिका बनाउन एक वर्षको समय थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले महाधिवेशनको कार्यतालिका नै नबनाउने नभनेको बताउनुभयो । पार्टी सभापति र वरिष्ठ नेता पौडेलबीचको छलफल सकारात्मक भएको उहाँको भनाइ छ ।

‘निर्वाचन समितिले अन्तरिम संरचनाको समायोजनको काम गर्दै छ । समायोजनको काम सकिएपछि कार्यतालिका पनि हामी बनाउँला । कार्यतालिका बनाउन एक वर्षको अवधि थप्नुपर्छ । अवधि थपेपछि कार्यतालिका बनाउने काम निर्वाचन समितिको हो । महाधिवेशन कार्यतालिका नबनाउने कहाँ भन्या छ र ?’, उहाँले भन्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य हृदयराम थानीले प्रजातान्त्रिक पार्टीभित्र लाइभ म्याण्डेटका कुराहरु आउने भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । ‘जीवन्त पार्टीभित्र लाइभ म्याण्डेटका कुराहरु आउन सक्छन् । यसलाई प्रजातान्त्रिक पार्टीभित्र केही मान्ने कुरा पनि छैन् । अन्ततः हाम्रो उद्देश्य एउटै हो, हामी पुग्ने विन्दु एउटै हो । त्यसैले एकजुट भएर जाने परिस्थिति निर्माण गर्नुपर्छ', उहाँले भन्नुभयो ।

बिहीबारको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने विषयमा प्रस्ताव पेश नभएपछि पौडेल समूहले बैठक बहिष्कार गरेको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया