दृष्टिमा राजनीति नदेखियोस् : डाक्टर सन्दुक रुइत

 मंसिर २८, २०७६ शनिबार २०:१६:२७ | सुमन गुरुङ
unn.prixa.net

कास्की – डाक्टर सन्दुक रुइतले राजनीति प्रवेश गर्न नदिएकै कारण तिलगंगा आँखा प्रतिष्ठान सफल भएको बताउनुभएको छ ।

पोखरामा शुक्रबारदेखि सुरु भएको नेपाल साहित्य महोत्सवको दोस्रो दिन शनिबार ‘दृष्टिदान’ शीर्षको सत्रमा डाक्टर सन्दुकले भन्नुभयो, ‘हे भगवान राजनीति नलागोस्, हामी गर्न सक्छौँ ।’ 

उहाँको यो अभिव्यक्तिमा प्रष्ट झल्किन्थ्यो नेपालको राजनीति पार लाग्दैन भन्ने कुरा । यसैमा जोडेर उहाँले आफ्नो सफलताको पछाडि अन्य धेरैको हात रहेको र उहाँहरुको भूमिकालाई मनैदेखि सम्झनुभयो । ‘निर्णय क्षमता हुनुपर्‍यो, हाम्रोजस्तो संस्था राजनीतिबाट टाढा बस्नुपर्‍यो । मेरो उपलब्धिको कुरा गर्दा मैले मेरो संस्थालाई राजनीतिबाट टाढा राख्न सकेँ’, उहाँले भन्नुभयो,‘सक्दो रहेछौँ । फेरि एकचोटि के भन्छु भने, यो काम म एक्लैले गरेको होइन ।

रुइतका अनुसार स्वास्थ्यमा धनीलाई एउटा र गरिबलाई अर्को सुविधा हुँदैन । अहिले राज्यले सञ्चालन गरेको स्वास्थ्य संस्थाहरुमा केही न केही समस्या भएर गुणस्तर कम भएकोमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले धेरै आँखा नदेख्ने तर अप्रेशनपछि संसार देखेकाहरुको कथा सुनाउनुभयो, जहाँ उहाँको योगदान धेरैनै झल्किन्थ्यो । उहाँले तिलगंगा आँखा अस्पतालको लागि जग्गा सानो भएको पनि सुनाउनुभयो । ‘तिलगंगामा हामीले ५ रोपनी मात्र जग्गा पाएको छाैँ, अझै धेरै पाएको भएर अझै धेरै गर्न सक्थ्यौँ’, उहाँले भन्नुभयो । 

आईएमई नेपाल सहित्य महोत्सवअन्तर्गत दोश्रो दिन ‘दृष्टिदान’ शीर्षकको सत्रको सहजीकरण सञ्चारकर्मी रवि लामिछानेले गर्नु भएको थियो ।

डाक्टर सन्दुक रुइतले आफ्नो विगत र वर्तमानबारे पनि केही भन्नुभयो, ‘ताप्लेजुङको ओलाङचुङगाेलाबाट मेरा पिताले मलाई दार्जीलिङ पढ्न लैजानुभयो, कोलम्बो प्लानअन्तर्गत पढेँ, नेपाल आएर देशका कुनाकाप्चा पुगेँ र फेरि भारतमा पढ्न जान पाएँ । म कहाँ थिएँ र के भएँ, आफैले पनि सोच्न सक्दिनँ ।’ 

तिलगंगा आँखा अस्पतालले १ लाख २५ हजारलाई दृष्टिदान दिइसकेको बताउँदै डाक्टर रुइतले हरेक क्षेत्रमा इमान्दारिता र प्रतिबद्धता चाहिने कुरालाई बढी जोड दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया