सीमा बचाउ अभियानले नापी विभागमा बुझायाे भारत अतिक्रमित ७१ ठाउँका भूभागसहितकाे नक्सा

 मंसिर २९, २०७६ आइतबार २०:९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सीमा बचाउ अभियानले सुगौली सन्धीअनुसारको नेपालको नक्सा नापी विभागलाई बुझाएको छ ।

अतिक्रमित नेपाली भूभागसहित समेटेर तत्काल नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै अभियानले विभागलाई नक्सा बुझाएको हो । सुगौली सन्धीको ५ नम्बर बुँदामा महाकाली नदिको पूर्वपट्टीको वारीका सबै नेपाली भूभाग रहने उल्लेख गरिएको छ । महाकाली नदी वारीको भूभागमा लिम्पियाधुरासहित पर्छ ।

सरकारी कार्यालयदेखि विद्यालयसम्म गलत नक्सा चलनमा रहेको भन्दै अभियानले दबाबस्वरुप आइतबार नापी विभागलाई सुगौली सन्धीअनुसारको नक्सा बुझाएको हो । नक्सा बुझाउन अभियानका संयोजक स्वनाम साथी, हिरण्यलाल श्रेष्ठ, भैरव रिजाल लगायत अभियानकर्मी विभागमा पुगेका थिए ।

अभियानले बुझाएको नयाँ नक्सामा भारतबाट अतिक्रमण भएका विभिन्न ७१ ठाउँको भूभाग समेटिएको छ । यस्तै अभियानले नेपाली भूमीबाट भारतीय सेना तत्काल हटाउन पनि आग्रह गरेको छ ।

अभियानकर्मीसँगको भेटमा नापी विभागका महानिर्देशक प्रकाश जोशीले माथिल्लो तहको निर्देशन आउनेबित्तिकै तत्काल नयाँ नक्सा सार्वजनिक गर्न तयार रहेको बताउनुभयो ।

अतिक्रमित भूभागसहित समेटेर नयाँ नक्सा सार्वजनिक गर्न आफूहरुले माथिल्लो तहको निर्देशन कुरेर बसेको पनि उहाँले बताउनुभयो । अभियानले अव प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि भेटेर अतिक्रमित भुमीसहित समावेश गरी तत्काल नयाँ नक्सा सामर्वजनिक गर्न दबाब दिने तयारी गरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया