सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५ जना जुगल गाउँपालिकाका

 मंसिर २९, २०७६ आइतबार २०:३३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १५ जनामध्ये ८ जना सिन्धुपाल्चोककै रहेकाे खुलेकाे छ । ८ जनामध्ये सात जना सिन्धुपाल्चोककाे एउटै जुगल गाउँपालिकाका रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाएकामा जुगल गाउँपालिका ७ का ५ जना छन् । जुगल ७ का रेश्मा तामाङ, १५ महिने बालिका रोशनी तामाङ, सुकबहादुर तामाङ, सबिना तामाङ तथा मञ्जु तामाङको ज्यान गएको हो ।

सिन्धुपाल्चोककै बलेफी गाउँपालिका ७ की फुलमाया तामाङ, लिसंखुपाखर गाउँपालिका ४ की गंगामाया लामा र मेलम्चीकी सुनिता तामाङको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा दोलखाका २ जनाले ज्यान गुमाएका छन् । दोलखाको भिमेश्वर नगरपालिका ९ की लक्ष्मी श्रेष्ठ, शैलुङ गाउँपालिका ६ का रंजित बस्नेतको ज्यान गएको हो ।

रामेछापको सुनापति गाउँपालिका ६ कि जुनुमाया तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का महेश तामाङ, काभ्रे बेथान गाउँपालिका ५ का रामशरण खत्री र मैया केसीको पनि दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिनुुभयो ।

घाइते १९ जनामध्ये हेम्समा १४, धुलिखेलमा २, बीएण्डबी, केएमसी र सिन्धु सदाबहार अस्पतालमा एक-एक जनाको उपचार भैरहेको छ ।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र बस चालक भने फरार रहेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

 प्रहरीका अनुसार यो सडकखण्डमा चालकको अनुभव कम हुँदा दुर्घटना भएको हो । दोलखाको कालिन्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस बिहान घुम्ती नै घुम्ती रहेको लामोसाँघु जिरी सडकखण्डको ६ किलोबाट पल्टिएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया