काँग्रेसकाे १४औँ महाधिवेशन :  देउवा पक्ष १ वर्ष कार्यावधि थप्ने तयारीमा, पाैडेल पक्ष महाधिवेशन गर्न दबाब दिँदै

 मंसिर ३०, २०७६ सोमबार ७:५९:५२ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हुँदै आएको छ । 

गएको मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा १४औँ महाधिवेशनको कार्यतालिका पेस गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू बैठकमा उपस्थित भएनन् । 

त्यही विषयमा सहमतिका लागि छलफल गर्न सभापति शेरबहादुर देउवा शनिबार वरिष्ठ नेता पौडेल निवास बोहराटार पुग्नुभएको थियो । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल झण्डै एक घण्टा चले पनि उहाँहरूबीच सहमति जुट्न सकेन । 

भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याउनु भएको थियो । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताउनु भएको थियो । 

सहमतिकै प्रयासस्वरूप उपसभापति निधि र नेता प्रकाशमान सिंहलगायत नेताहरूबीच शनिबार साँझ तथा उपसभापति निधि र महामन्त्री डा. शशांक कोइरालाबीच आइतबार बिहान छलफल भएको थियो । 

१४धौँ महाधिवेशनको कार्यतालिका ‘बटम लाइन’  

नेता पौडेल पक्ष निकट केन्द्रीय सदस्य दिलेन्द्र बडूले १४औँ महाधिवेशनको कार्यतालिका यही बैठकबाट सार्वजनिक गर्नुपर्ने आफूहरूको ‘बटम लाइन’ भएको बताउनु भयो । आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षका नेताहरू आइतबारको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् । नेता पौडेल पक्षको उपस्थिति नभए पनि बैठक नियमित सञ्चालन भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

नेता पौडेल पक्ष निर्धारित समयमै पार्टीको १४औँ महाधिवेशन गर्नका लागि दबाब दिन महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडानमा छ । सभापति शेरबहादुर देउवा पक्ष भने विधानको सुविधाअनुसार एक वर्ष कार्यावधि थप्ने तयारीमा देखिन्छ । 

पार्टीको विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४औँ महाधिवेशन हुनुपर्ने हो । तर अहिलेसम्म महाधिवेशनका लागि कुनै तयारी नदेखिएकाले विधानअनुसार वर्तमान केन्द्रीय समितिको अवधि एक वर्ष थपिने लगभग निश्चित छ ।

कांग्रेसको १३औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाण्डौमा सम्पन्न भएको थियो । कांग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै त्यही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।   

जिल्ला समितिका कारण समायोजनामा ढिलाइ

कांग्रेसले देशको संघीय संरचनाअनुसार पार्टीका साङ्गठनिक एकाइ गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले परिमार्जित विधानअनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका बनाइ कार्यान्वयन गरेको हो । गएको मंसिर २६ गतेको केन्द्रीय समिति बैठकमा केन्द्रीय निर्वाचन समितिले अन्तरिम समायोजनसम्बन्धी सम्पन्न भएका र बाँकी कार्यका बारेमा अवगत गराएको थियो ।

समयमै केही जिल्ला सभापतिहरूले बैठक बोलाउन नसकेका कारण अन्तरिम समायोजनसम्बन्धी कार्यमा ढिलाइ भएको केन्द्रीय निर्वाचन समितिको आरोप छ । समायोजन बाँकी रहेका जिल्ला समितिले समयमै बैठक बोलाइ सहजीकरण गरे अबको एक हप्तामै समायोजनको कार्य सम्पन्न हुने समिति सचिव केशव रिजालले जानकारी दिनुभयो ।  

पार्टी केन्द्रीय समितिले यसअघि सबै जिल्लालाई गएको मंसिर २५ गतेभित्र समायोजनको कार्य सम्पन्न गर्न निर्देशन गरेको थियो । 

गएको मंसिर २६ गतेको बैठकमा यस बाहेक विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पुर्‍याउने,  उपनिर्वाचनको समीक्षालगायत प्रस्ताव प्रस्तुत गरिएको थियो । 

त्यस्तै भातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरूपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव बैठकमा प्रस्तुत गरिसकिएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया