कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित : अब बुधबार बस्ने

 मंसिर ३०, २०७६ सोमबार १९:९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो ।

उहाँले पार्टीभित्र हुने विवादहरु स्वाभाविक र लोकतान्त्रिक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पुर्‍याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

कांग्रेसभित्र रहेका विभागहरुको संख्या बढाएर २८ बाट ४१ पुर्‍याउने र १४ औंँ महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समूहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ । तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडि बढ्ने गरी बैठक सारिएको बताउनुभयो ।  

दुई पक्षबीचको विवादका कारण बिहीबारदेखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया