प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण, टाउकाेमा ४ वटा टाँका

 पुस ३, २०७६ बिहिबार ११:५९:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कार्यालयबाट काम सकेर फर्कँदै गर्दा आठबीसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ । 

बुधबार बेलुका ६ बजे कार्यालयको काम सकेर फर्किँदै गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सी.माथि कार्यालय नजिकैको राडी बजारमा आक्रमण भएको हो । 

आक्रमणमा परेका केसीको टाउकामा ४ वटा टाँका लगाइएको छ । उहाँसँगै रहनु भएका सूचना प्रविधि अधिकृत गणेश चन्दमाथि पनि आक्रमण भएको जनाइएको छ । 

आठबीसकोट नगरपालिका ३ का गोपाल वि.क.ले केसीमाथि आक्रमण गरेको बताइएको छ । गोपालको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गोपाल वडा नम्बर ३ का वडाध्यक्ष केशरमान वि.क.का भाइ हुन् ।

आठबीसकोट नगरपालिकाका उपप्रमुख गीता नेपालीले विज्ञप्ति जारी गर्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीमाथि भएको आक्रमणको भत्र्सना गर्नुभएको छ । उपप्रमुख नेपालीले विज्ञप्ति जारी गरी दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । दुई तीन दिनदेखि आक्रमण गर्ने गोपाल वि.क.ले पिछा गरेर केसीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता नगरपालिकामा कार्यरत कर्मचारीले छुट्टै विज्ञप्ति जारी गरेर वडा नम्बर ३ का अध्यक्षको योजनालाई लिएर कार्यकारी अधिकृतमाथि आक्रमण भएको बताएका छन् । दोषीमाथि कारबाहीको माग गर्दै कारबाही नभएसम्मका लागि बिहीबारदेखि नगरपालिकाको कुनै पनि काम नगर्ने भन्दै विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । 

सोधपुछका लागि भनेर वडाध्यक्ष केशरमान विकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । टाउकामा चोट लागेका केसीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया