४ वटा खोप एकैपटक लगाउँदा डेढ महिने शिशुको ज्यान गयो

 पुस ४, २०७६ शुक्रबार १९:३४:२७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – एकै पटक ४ वटा खोप लगाएपछि इलामको माङसेबुङ गाउँपालिकामा डेढ महिने शिशुको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर-४ सिमलटारमा रहेको सिमलटार सामुदायिक स्वास्थ्य इकाइले डेढ महिने शिशु बुनु देवानलाई एकै पटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसीको खोप लगाइदिँदा उनको ज्यान गएको हो ।  

एकै पटक चार वटा खोप लगाएपछि बिरामी परेकी शिशुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइएको थियो । अस्पतालले शिशुको अवस्था जटिल रहेको भन्दै सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार प्रकृया अघि बढायाे । तर आर्थिक अवस्था कमजोर भएका कारण सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्न नसक्ने भन्दै परिवारले शिशुलाई घर फर्काएपछि उनको मृत्यु भएको बताइएको छ । 

शिशुलाई जन्मनसाथ दिनुपर्ने खोप दिन छुटेको थियो । त्यो समय लगाउने खोप बिसिजी सहित ६ हप्ता भित्रमा लगाइ सक्नुपर्ने एफआईटिभी, डीपीटी र पीभीसी एकै पटक लगाइएको थियो । बीसीजी लगाउन ढिला भएको भन्दै स्वास्थ्य इकाइले शिशुलाई एकैपटक ४ वटै खोप लगाइदिएको थियो ।  

तर स्वास्थ्यकर्मीहरुले भने खोपकै कारण शिशुको मृत्यु भएको भन्ने प्रमाण नभएको बताएका छन् । मृतकको परिवार र स्वास्थ्यकर्मीबीच भएको छलफलका सहभागी स्थानीय आदिपुर स्वास्थ्य चौकीका अहेब सुरेन्द्र साम्बाले खोपकै कारण बच्चाको मृत्यु भएको प्रमाण नभएको बताउनुभयो ।  

साम्बाले नेपाल सरकारको तालिका अनुसार नै स्वास्थ्यकर्मीहरुले खोप दिएकाले मृत्युको कारण खोप नभएको बताउनु भयो । यदि खोपकै कारणले शिशुको मृत्यु हुन पुगेको भए खोप लगाएको आधा घण्टादेखि नै प्रतिक्रिया देखिन्थ्यो,’ साम्बाले भन्नु भयो, ‘तर भोलिपल्टदेखि मात्र बच्चा रुन थालेको भन्ने सुनियो । त्यसैले शिशुको मृत्यु खोपको कारणले भएको भन्न सकिँदैन ।’

यता गाउँपालिकाले मृतकका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराईदिने भएको छ । बिहीबार मृतकको परिवार, माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखा, सामुदायिक स्वास्थ्य इकाइ, जनप्रतिनिधि र नागरिक समाज लगायतको छलफलमा मृतकको परिवारलाई गाउँपालिकाबाट राहत उपलब्ध गराउने सहमति बनेको छ  ।

मृतकको परिवार र स्वास्थ्यकर्मीलाई राखेर छलफल गरियो । मृत्युको कारण यही हो भन्ने यकिन नभएकाले सबैको सहमति भयो,’ वडाअध्यक्ष अमृत राईले भन्नुभयो, ‘शिशुको पोष्टमार्टम भएको भए सहज हुने थियो । सबै सदगद गरिसकेपछि भने मृत्यूको कारण यकिन हुन सकेन ।

त्यसैले विपन्न परिवार भएकाले गाउँपालिकाको राहत कोषबाट आर्थिक सहयोग उपलब्ध गराउने गरी सबै सहमत भएपछि समस्याको समाधान भएको हो ।’ मृतकका परिवारले राहत लिनका लागि वडा कार्यालयबाट सिफारिस समेत लिइसकेको वडाअध्यक्ष राईले जानकारी दिनु भएको छ  ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • कविता

    Dec. 20, 2019, 9:19 p.m.

    नेपाल सरकारको खोप तालिका अनुसार खोप दिइएको छ र बच्चाको मृत्युको कारण प्रमाणित भएको छैन, यो तपाइँकै समाचारमा छ। तर शिर्षकमा किटानिका साथ लेख्नुभाछ कि "चारवटा सुई एकैपटक लगाउँदा डेढ महिने शिशुको मृत्यु"!! यो कस्तो पत्रकारिता हो?? उज्यालो बाट मलाई यो आशा थिएन।

  •  0 Reply

तपाईको प्रतिक्रिया