अभिभावक शिक्षामा आधारित धारावाहिक रेडियाे नाटककाे शुभारम्भ

 पुस ७, २०७६ सोमबार १८:२५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अभिभावक शिक्षामा आधारित धारावाहिक रेडियो नाटकको शुभारम्भ भएको छ ।

संयुक्त राष्ट्र बाल आपतकालीन काेष (युनिसेफ) नेपालको आर्थिक सहयोगमा एन्टेना फाउण्डेशन नेपालले उत्पादन गरेको नेपाली भाषाको रेडियो नाटक ‘रोपेगुना फल’ र मैथिली र भोजपुरी भाषाको रेडियो नाटक ‘चोंचा के खोंता’ को साेमबार शुभारम्भ भएको हो ।

तीन वटै भाषाका रेडियो नाटक १५/१५ मिनेटको रहने र विभिन्न ३३ वटा रेडियोबाट ३० हप्तासम्म प्रसारण गरिने एन्टेना फाउण्डेशनका कार्यकारी निर्देशक विनयशेखर गुरागाईँले जानकारी दिनुभयो ।

नाटकमा अभिभावकले शिशुको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमताअनुसार सिकाइ, उचित स्याहार सुुसार गर्ने ज्ञान, सीप र दक्षतासम्बन्धी शिक्षा केन्द्रित विषयवस्तु समेटिने कार्यकारी निर्देशक गुरागाईँको भनाइ छ ।

नेपाली भाषाका ५२, मैथिली भाषाका ५२ र भोजपुरी ५२ गरी १५६ वटा नाटक श्रृङ्खला रेडियोमार्फत प्रसारण हुनेछ । अभिभावक तथा स्याहारकर्ताको सक्रिय संलग्नतामा गर्भावस्थादेखि ८ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकासका लागि रेडियो नाटकले सहयोग पुर्‍याउने एन्टेना फाउण्डेशनले जनाएको छ ।

रेडियो नाटक शुभारम्भ कार्यक्रममा कार्यक्रम रेडियो नाटक ‘रोपोगुना फल’ काे उत्पादन टोलीका सदस्य अनन्त घिमिरेले जस्तो रोपिन्छ, त्यस्तै फल आउने भएकोले बालबालिकाको भविष्य सुन्दर बनाउन त्यस्तै खालको सिकाइ उपलब्ध गराउनुपर्ने उद्देश्य नाटकले लिएको बताउनुभयो ।

रेडियो नाटक ‘चोंचा के खोंता’ उत्पादन टोलीका सदस्य माधवी कर्णले नाटकले बालबालिकाको रेखदेखमा बुवाको भूमिका बढाउने उद्देश्य राखेको बताउनुभयो । यो नाटक 'उज्यालो रेडियो' बाट सोमबार र बिहीबार बेलुकी सवा ७ बजेदेखि साढे ७ बजेसम्म प्रसारण हुनेछ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया