च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
बैतडी – पुर्चौडी नगरपालिका ४ मा रहेको पहरौल मावि बागा भटनाले नगरपालिकाले पदस्थापन गरेको शिक्षिकालाई हाजिर लगाउन रोक लगाएको छ ।
शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिस हुनुभएकी अम्बिका जोशीलाई विद्यालयले हाजिर लगाउनमा रोक लगाएको हो ।
नगरपालिकाले पहरौल मावि बागामा पदस्थापन गरेको भए पनि विद्यालयमा हाजिर लगाउन नदिएको शिक्षिका जोशीले गुनासो गर्नुभयो । आफू त्यहाँको स्थानीय महिला भएर पनि विद्यालयमा हाजिर गर्न नदिएको उहाँको भनाइ छ ।
विद्यालयले हाजिर गर्न नदिएपछि आफू सदरमुकाम फर्किएको र शिक्षा विकास तथा समन्वय इकाइसँग समन्वय गर्ने उहाँले बताउनुभयो । आधारभूत तहको दरबन्दी खाली भएर नगरपालिकाले पदस्थापन गरियो तर विद्यालयले हाजिर लगाउन दिएन ।
यस विषयमा पुर्चौडी नगरपालिकाका शिक्षा संयोजक दिनेश नगारीले आफूहरुले मापदण्डअनुसार शिक्षकहरुको पदस्थापन गरेकाले हाजिर लगाउन दिनुपर्ने बताउनुभयो ।
यता विद्यालयका प्रधानाध्यापक प्रताप धानुकले नगरपालिकामा अङ्ग्रेजी शिक्षकको माग गरिएको त्यो माग पूरा नहुँदासम्म नयाँ शिक्षकहरुलाई हाजिर लगाउन नदिने निर्णय भएको बताउनुभयो ।
शिक्षक सेवा आयोगबाट सिफारिस भएका शिक्षकहरुलाई निर्वाधरुपमा विद्यालयले हाजिर लगाउन दिनुपर्ने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी पुष्कर शर्माले बताउनुभयो ।
'शिक्षा ऐनमै आयोगबाट सिफारिस भएर पदस्थापन भएका शिक्षकहरुलाई हाजिर लगाउन दिने, त्यसको व्यवस्थापन मिलाउने काम विद्यालय व्यवस्थापन समितिको भएकाले शिक्षिकालाई हाजिरी लगाउन नदिनु गैरकानुनी कार्य हाे', उहाँले भन्नुभयाे ।