धरोहरका रुपमा उठ्दैछ धरहरा (भिडियाेसहित)

 पुस ११, २०७६ शुक्रबार १३:२६:३५ | मदन पौड्याल

काठमाण्डौ – त्रिपुरेश्वरबाट रत्नपार्कतिर हिँड्दै गरेका सर्लाही हरिवनका शत्रुधन दास सुन्धारा पुगेपछि रोकिनुभयो । उहाँलाई एकपटक भित्र गएर हेर्न मन लाग्यो । तर काम भैरहेको ठाउँमा अनुमतिबिना जान नपाएपछि उहाँले बाहिरबाटै हेरेर चित्त बुझाउनुभयो । 

उहाँजस्तै सुन्धारा पुग्ने जोकोही पनि बन्दै गरेको धरहरा हेर्छन् । अनि गेटमा बसेका कामदारलाई सोध्छन् – कस्तो बन्दैछ धरहरा ? कति भयो काम ? 

‘भित्र जान अनुमति चाहिने भएकाले बाहिरबाट जति देखिन्छ हेरें’ उहाँले भन्नुभयो, ‘काम भैरहेको देखेपछि खुशी लाग्यो, सुन्धारा परिसर त एक वर्षमै फेरिएछ । अबको एक दुई वर्षमा त धरहरा बन्ला नि ।’

धरहरा भुईँचालोले भत्केपछि ठुटो मात्रै बाँकी थियो । अहिले यही ठुटो संरक्षण गरेर छेवैमा नयाँ धरहरा ठडिंंदैछ । धरहरा बनाउने काम सुरु भएको एक वर्ष दुई महिना बितिसकेको छ । एक वर्ष अघिसम्म काम सुरु हुन नसकेको धरहराले अहिले भने आकार लिन थालेको छ । 

बन्यो तीन तला : एक वर्षमा ३२ प्रतिशत काम

पुरानो धरहरा रहेको काठमाण्डौको सुन्धारा परिसर भूकम्पअघि जस्तो अहिले छैन । धरहरा बन्ने क्षेत्रभरीका टेलिकमका तार व्यवस्थापन भैसकेका छन् । टक्सार विभाग र गोश्वारा हुलाकका भवन समेत भत्काउने काम भैरहेको छ । 

पोहोर असोजमा काम सुरु भएदेखि अहिलेसम्म धरहराको झण्डै ३२ प्रतिशत काम भैसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ एवं धरहरा पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरले बताउनुभयो । २२ तला बन्नुपर्ने धरहराको तीन तलाको काम सकिएको छ । जमिनमुनीको भाग बेसमेन्ट २ तलाबाहेक धरहराको तीन तला सकिएको हो ।

‘धरहराको टावर बनाउने काम अहिले धमाधम भैरहेको छ’ मानन्धरले भन्नुभयो, ‘पुरानो धरहरा ९ तलाको थियो, नयाँ धरहरा पनि झट्ट हेर्दा ९ तला नै देखिन्छ । तर बेसमेन्ट सहित बाहिरबाट ११ तला र भित्र २२ तलाको धरहरा बन्नेछ ।’

भूकम्पपछि धरहराको अवस्था

धरहरा बनाउने चर्चामै भूकम्पपछिका तीन वर्ष ८ महिना बिते । पहिलोपटक सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म बनाउँछु मेरो धरहरा अभियान’ सुरु गरे पनि अभियान भने सफल हुन सकेन । २०७२ सालमा भूकम्पले ढलेको धरहरा बनाउन १० महिनापछि अभियान सुरु गरिएको थियो । 

त्यसपछि २०७३ पुस २१ गते सरकारले धरहरा बनाउन नेपाल टेलिकमलाई जिम्मा दिने निर्णय गर्‍याे । तर टेलिकमले पनि झण्डै १० महिनापछि २०७४ असोजमा धरहराबाट हात झिक्यो ।

अनि पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कसले नेतृत्व लिने निर्णय गर्न नै समय लाग्यो । विवादपछि अघिल्लो बर्षको असोजमा प्राधिकरण आफैंले काम सुरु गरी ठेक्का लगाएको हो ।

आधुनिक धरहरा : पुरानै स्वरुप

अघिल्लो वर्ष पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गर्नुभएको थियो । बन्दै गरेको धरहरामा इँट्टा थपेर प्रधानमन्त्री ओलीले शिलान्यास गरेपछि धरहराको काम अगाडि बढेको हो । 

प्रधानमन्त्री ओलीले ऐतिहासिकता झल्किने र आधुनिकता टल्किने गरी धरहरा बन्ने घोषणा गर्नुभएको थियो । उहाँको घोषणा र निर्देशन अनुसार नै अहिले धरहरा बनिरहेको मानन्धरले बताउनुभयो । 

‘बाहिर टिकाटिप्पणी अनेक आइरहेका छन्’ उहाँले भन्नुभयो, ‘पुरानो धरहरामा चढ्दा डराउनुपर्थ्याे तर नयाँ धरहरामा पर्दैन । धरहराको उचाइमा त्यति धेरै फरक छैन, मात्रै साइज फरक छ ।

वास्तुकलामा पनि कुनै फरक पर्दैन । मात्रै निर्माण सामग्री आधुनिक प्रयोग भएका छन् । धरहरामा पुरानै गजुर राखिनेछ भने महादेवको मूर्तिपनि राखिनेछ ।’

याे पनि पढ्नुस्

पुरानो र नयाँ धरहरामा फरक

पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । नयाँ धरहरा ४२ दशमलव ३ रोपनी क्षेत्रफलमा फैलिनेछ । पुरानो धरहराको ठुटोलाई नचलाइकन संरक्षण मात्रै गरिनेछ । त्यसका लागि रेक्ट्रोफिटिङको काम हुनेछ । अहिले छेकबार मात्रै गरेर राखिएको छ । 

भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने तयारी छ । नयाँ धरहराको हरेक तलामा गोलो सिसाका झ्याल हुनेछन् । १८ औं तलामा सानो हल पनि हुनेछ । यो हलमा भूकम्प सम्बन्धी सामग्रीको भिडियो हेर्न पाइनेछ । 

नयाँ धरहराको फेदमा दुई तलामा नेपाली उत्पादन सामग्री, हस्तकलाका बस्तु, कलाकृती, थान्का राखिनेछ । धरहराको निर्माण कार्य हेर्दै आएका मानन्धरका अनुसार पहिलाजस्तो मःम, चाउमिन, गन्जी, मोजा बेच्न राखिनेछैन ।

पर्यटकीय गन्तव्यका रुपमा धरहरालाई विकास गरिनेछ । प्राधिकरणले रानीपोखरी, त्रिचन्द्र कलेज, टुँडिखेल र धरहरा समेटेर एकीकृत क्षेत्र विकास गर्न योजना समेत बनाइरहेको छ । 

धरहराका थप आर्कषण

पुरानो धरहराले ओगटेको क्षेत्र, गोश्वारा हुलाक, टक्सार विभागसहितको जग्गामा नयाँ धरहरा बन्न लागेको हो । धरहरा क्षेत्रमा पर्ने टक्सार तथा गोश्वारा हुलाक हटिसकेका छन् । काठमाण्डौ मलको पनि दक्षिणपट्टीको केही भाग भत्काउने तयारी छ । 

सुन्धारा परिसरको ४२ रोपनीभन्दा बढी क्षेत्रफल ओगटेको धरहरा नयाँ मात्रै बन्ने छैन खुला ठाउँ पनि रहनेछ । बिहान, दिउँसो र बेलुका तीनै प्रहर अवलोकन गर्न र रमाउन सकिनेछ । म्यूजियम, थिएटर, वाटर फाउण्टेन, बगैँचा, रेष्टुराँ, पार्किङ्गको पनि सुविधा हुनेछ । 

मानन्धरका अनुसार धरहरा लिफ्ट चढेर जान सकिनेछ । अत्याधुनिक प्रविधिको प्रयोग गरी बन्दै गरेको धरहरा नढल्ने गरी सुरक्षित बन्नेछ । धरहराको टुप्पोबाट पुरै काठमाण्डौ उपत्यकाको अवलोकन गर्न सकिनेछ ।

साथै २०/२२ वटा धारा पनि बन्नेछन् । सुन्धारामा पानी ल्याइनेछ । जमिनमूनी तीनवटा तला नै पार्किङ्ग बन्नेछन् । यसले ट्राफिक चाप न्यूनिकरणमा सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ । 

उपाकु मार्ग राखिने

धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकु मार्ग खोल्ने सहमति भएको छ । उपाकु मार्ग पुरानो धरहरा र नयाँ बन्दै गरेको धरहराको बीचमा रहनेछ । उपाकु हिँड्नेहरु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । 

धरहरा काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ मा पर्छ । वडाध्यक्ष चिनीकाजी महर्जनले उपाकु मार्ग खोल्ने गरी सहमति भएकाले मार्ग ननासिने जानकारी दिनुभयो । उपाकु मार्गका लागि पुरानो धरहरा र नयाँ बनिरहेको धरहराका बीचमा झण्डै १० फिट बाटो छोडिएको छ । यहीँ स्थायी उपाकु हिँड्ने बाटो हुनेछ । 

नेवारी समुदायमा इन्द्रजात्राका बेला भाद्र शुक्ल द्वादशीका दिन हातमा दियो बालेर उपाकु हिँड्ने चलन छ । त्यसैगरी, खिचापोखरी–मचाढोका–तेबहाल हुँदै टुँडिखेल निस्कनका लागि सञ्चय कोष र साविकको गोश्वार हुलाकको बीचमा बाटो बन्नेछ ।

धरहरा अर्को वर्षसम्म निर्माण गरिसक्ने निर्माण कम्पनीको लक्ष्य छ । जीआईईटिसी रमन जेभीले २ वर्षमा काम सक्ने गरी अघिल्लो बर्ष असोजमा निर्माणको जिम्मेवारी लिएको हो ।

३ अर्ब ४५ करोड रुपैयाँ लागतमा बन्दै गरेको धरहरामा अहिलेसम्म ६६ करोड रुपैयाँ खर्च भैसकेको निर्माण कम्पनीका रमन महतोले बताउनुभयो । 

एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ : सीईओ ज्ञवाली

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली

भुईंचालोले धरहरा ढल्यो । धरहरा ढल्दा ५४ जनाको ज्यान गएको थियो । यसअघि १९९० सालमा पनि धरहरा ढलेको थियो । २०७२ सालको भूकम्पले ठुटो मात्रै बाँकी रहेको धरहरामा अहिले भव्य धरहरा बनाउने काम भैरहेको छ ।

नयाँ धरहरा अर्को भूकम्प आउँदा नभत्कने गरी सुरक्षित बन्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । साथै एक वर्षभित्रै धरहराको मुख्य संरचना तयार हुने पनि प्राधिकरणले जनाएको छ । 

‘धरहरा पुनर्निर्माण स्पष्ट कार्ययोजना र समय तोकेर नै भैरहेको छ, हरेक १५ दिनमा एक तलाको काम भैरहेको छ’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, ‘धरहरा पुनर्निर्माण निर्धारित समयमा नै हुन्छ ।’ 

भिडियाे स्राेत :- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया