कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. थापा नियुक्त

 पुस ११, २०७६ शुक्रबार १३:११:१५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा कर्णाली प्रतिष्ठानका एसाेसिएट प्रोफेसर डाक्टर निरेश थापा नियुक्त हुनुभएकाे छ । 

डा. थापालाई स्वास्थ्य मन्त्रालयले शिक्षाध्यक्षमा नियुक्त गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । डा. थापालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल सहितको मन्त्रीस्तरीय बैठकले थापालाई शिक्षाध्यक्ष नियुक्त गरेको हो ।

प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले थापा सहित प्रा.डा. भरतमणि पोख्रेल, प्रा.डा बद्री बडु सहितका व्यक्तिहरुको नाम शिक्षाध्यक्षका लागि सिफारिस गरेको थियो । 

प्रतिष्ठान जुम्लाको मेडिकल निर्देशकको जिम्मेवारी सम्हाली सक्नुभएका एसाेसिएट प्रोफेसर डा.थापाको कार्यसम्पादन शैलीलाई मूल्याङ्कन गर्दै यसअघि नै प्रतिष्ठानले उहाँलाई शिक्षाध्यक्ष पदमा नियुक्ति गर्ने आन्तरिक गृहकार्य बढाएको थियो ।

निवर्तमान शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठको कार्याविधि २०७६ जेठ २५ गते सकिएपछि सात महिनादेखि प्रतिष्ठान शिक्षाध्यक्षविहीन छ । प्रतिष्ठानको ऐनअनुसार उपकुलपतिले सिफारिस गर्ने र स्वास्थ्य मन्त्री तथा प्रतिष्ठानका सहकुलपतिले स्वीकृत गर्ने व्यवस्था छ । 

प्रतिष्ठानमा नै योग्यजन शक्ति भएको र कार्यरत जनशक्तिलाई स्थान दिँदा काम गर्ने ऊर्जा मिल्ने भएकोले डा.थापालाई पहिलो नम्बरमा सिफारिस गरिएको थियो । 'प्रतिष्ठान ऐन, २०६८ को दफा २१ को (१) बमोजिम उपकुलपतिबाट तीनजना सिफारिसमा सहकुलपतिले चार वर्षीय कार्यकालका लागि एक जना शिक्षाध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ', त्यहीअनुसार सिफारिस भइ नियुक्त गरिएको हो ।

विशेषगरी चिकित्सा क्षेत्रमा ठूला तथा साना दर्जनौँ शल्यक्रिया गरी कर्णालीको भयावह स्वास्थ्य अवस्थामा सुधार ल्याउन सुरुवात गरी कर्णालीबासीको मन जित्नुभएका डा. निरेश थापालाई शिक्षाध्यक्ष बनाउन जुम्ला प्रतिष्ठान परिवारसहित सेवा क्षेत्रका नागरिक तथा जिल्लाका सम्पूर्ण सरोकारवालाहरु यसअघि देखि नै एकमत हुँदै आएका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया