व्यवसायिक सुन्तला खेतीबाट लखपति बने किसान

 पुस १४, २०७६ सोमबार १६:५८:४० | विमल बिष्ट
unn.prixa.net

डोटी– छोराछोरीको पढाइलेखाइदेखि घरव्यवहारको सबै आवश्यकता टार्न कमाइकाे सिलसिलामा भारतपुग्ने डोटीका स्थानीय बासीन्दाको जीवनस्तरमा निक्कै परिवर्तन आएको छ । सुन्तलाको व्यवसायिक खेती गर्न थालेपछि यहाँका किसान आत्मनिर्भर बन्न थालेका छन् ।

सुन्तला खेतीबाट एक सिजनमा नै लाखौँ कमाइ गर्न थालेपछि भारत जानेहरुको संख्यामा कमी आउन थालेको छ । अहिले यहाँका किसानहरुलाई बगानमा फलेको सुन्तला बिक्री गर्न भ्याइ नभ्याइ भइरहेको छ ।

एक सिजनमा बेचेको सुन्तलाको पैसाले वर्षभरिको खर्च धान्ने बताउँनुहुन्छ, स्थानीय चित्रराज भट्ट । भट्ट भन्नुहुन्छ, ‘एकजना किसानले कम्तीमा एक लाख रुपैयाँ कमाइ गर्छन् । कतिपयले दुई लाख रुपैयाँसम्म कमाउँछन् । हाम्रो सम्पूर्ण खर्च यसैले धानेको छ ।’ 

अर्का किसान तीर्थ साउदले डेढ लाख रुपैयाँको सुन्तला बेचिसक्नु भएको छ । ‘यो वर्ष तीन लाखभन्दा बढीको सुन्तला बेच्ने लक्ष्य थियो’ उहाँले भन्नुभयो, ‘मौसम परिवर्तनले सुन्तला केही कम फल्यो । अहिले पनि ४०/५० हजारको सुन्तला बारीमा नै होला ।’

वडाका प्रायः सबैले सुन्तला खेती गर्दै आएका छन्। वडामा करिब ७० घरधुरी रहेका छन् । सुन्तला छिमेकी जिल्ला कैलाली, कञ्चनपुरका विभिन्न बजारमा बिक्री हुने गरेको स्थानीय सुरेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुन्तला बेच्न अन्त जानै पर्दैन । व्यापारीहरु बारीमा नै आइपुग्छन् ।’ 

सुन्तला किसान भिमदत्त भट्टले यो वर्ष ८० हजार रुपैयाँको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो । याे गाउँपालिकामा मात्रै होइन, जिल्लाको बोगटान फुड्सिल, बडीकेदार, केआइसिंह गाउँपालिकाका विभिन्न गाउँहरुमा व्यावसायिक रुपमा सुन्तला खेती हुँदै आएको छ । 

गाउँमा सुन्ताल ८० देखी १०० रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदै आएको किसानहरु बताउँछन् । जिल्लामा उत्पादन भएका सुन्तला बिपीनगर, शिवनगर तथा सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्गको शहजपुर बजारमा पुग्नेगर्छ ।

सुन्तला खरिदका लागि व्यापारीहरु किसानको बगानमा नै पुग्छन् । सुन्तला बिक्री नहुँने चिन्ता कुनै किसानमा देखिदैन् । पछिल्लो समय सुन्तलाको उत्पादनमा कमी आएको भएता पनि मूल्य भने राम्रो पाएको किसानहरुले बताएका छन् ।  

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया