भारतीय अभिनेता बच्चनलाई 'दादा साहेब फाल्के पुरस्कार'

 पुस १५, २०७६ मंगलबार १२:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय चलचित्र उद्योगका दिग्गज अभिनेता अमिताभ बच्चनलाई दादा साहेब फाल्के पुरस्कारबाट सम्मानित गरिएको छ । 

आइतबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बच्चनलाई पुरस्कारबाट सम्मानित गरेका हुन् । सम्मान कार्यक्रममा ७७ वर्षीय अभिनेता बच्चनसँगै उनकी श्रीमती जया बच्चन र छोरा अभिषेक बच्चन पनि सहभागी भएका थिए ।

अमिताभ बच्चनले समारोहमा आफू भविष्यमा अझै धेरै काम गर्न उत्सुक रहेको बताए । बच्चनले पुरस्कार ग्रहणका क्रममा ठट्टा गर्दै भने ‘यो पुरस्कारको घोषणा भइरहँदा कतै मलाई अब घरमै बसेर आराम गर्नुस् भनेको हो कि भन्ने शङ्का उब्जिएको थियो ।’ 

बच्चनले यस विषयमा अगाडि भने, ‘अझै धेरै कामहरु बाँकी नै छन्, जसलाई मैले पूरा गर्नु छ । साथै अगाडि कैयौं सम्भावनाहरु बनिरहेका छन्, भविष्यमा पनि मैले कैयौं कामहरु गर्नुपर्नेछ ।’ 

अमिताभ बच्चनले सन् १९६९ मा चलचित्र ‘सात हिन्दुस्तानी’ मार्फत आफ्नो करियरको सुरुवात गरेका थिए । उनको ५० वर्षे लामो करियरमा हिन्दी चलचित्रदेखि विज्ञापन र टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोड पति’ मा पनि देखिएका छन् । बच्चनको यति लामो करियरमा झण्डै ३ सय ३४ पुरस्कार तथा नोमिनेसनहरु उनको नाममा छ । उनले चार वटा राष्ट्रिय पुरस्कार तथा १२ वटा फिल्मफेयर पुरस्कार पनि जितेका छन् । 

अमिताभ बच्चन बाहेक भारतीय सिनेमा जगतमा कुनै पनि अभिनेतालाई सर्वश्रेष्ठ अभिनयका लागि चार वटा राष्ट्रिय पुरस्कार दिइएको छैन । 

बच्चनलाई सन् १९९० को चलचित्र ‘अग्निपथ’, सन् २००५ को चलचित्र ‘ब्ल्याक’, सन् २००९ को चलचित्र ‘पा’ र सन् २०१५ को चलचित्र ‘पिकू’ मा उत्कृष्ट अभिनय गरे बापत राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया