सन् २०१९ मा बलिउड डेब्यू गरेका १० नयाँ अनुहार

 पुस १५, २०७६ मंगलबार २०:४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म उद्योगका लागि २०१९ सुखमय नै रह्यो । सन् २०१९ले बलिउडलाई केही नयाँ अनुहारहरु दियो, जसमा भारतीय सिनेमाका लागि कैयौँ सम्भावनाहरु देख्न सकिन्छ ।

बलिउड डेब्यू गर्नेमध्ये केहीले आफू स्टारकिड हुनुको फाइदा उठाए भने केहीले आफ्नो कडा मेहनतका कारण बलिउडको यात्रा सुरु गर्न सफल भए । यी हुन् बलिउड डेब्यू गरेका १० नयाँ अनुहार :

१. अनन्या पाण्डे



अभिनेत्री अनन्या पाण्डेका यस वर्ष २ वटा फिल्म रिलिज भए । उनले करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरिन । यो फिल्मपछि उनले फिल्म ‘पति पत्नी और वो’ मा काम गरिन् । यि दुवै फिल्मबाट अनन्याको अभिनयको प्रशंसा भयो । यतिबेला उनी अभिनेता इशान खट्टरका लागि तेस्रो फिल्म ‘खाली–पीली’ को छायांकनमा व्यस्त छिन् । २१ वर्षीया अनन्या पाण्डे अभिनेता चंकी पाण्डेकी छोरी हुन् ।

२. तारा सुतारिया

अभिनेत्री तारा सुतारियाले पनि फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट डेब्यू गरिन् । ताराको सुन्दरता र अभिनय क्षमताका कारण उनले त्यसपछि खाली बस्नु परेन । उनले दोस्रो फिल्म ‘मरजावाँ’ काम गरिन् । यो फिल्म पनि बक्स अफिसमा सफल रह्यो । यतिबेला तारा उनको सुन्दरता, अभिनयको मात्रै नभइ प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन्।

३. सिद्धान्त चतुर्वेदी

सिद्धान्तले रणवीर सिंहको फिल्म ‘गली ब्वाय’ बाट बलिउड डेब्यू गरे । फिल्ममा उले निर्वाह गरेको एमसी शेरको भूमिकाको निकै चर्चा भयो । यसै फिल्मबाट उनले उत्कृष्ट सहनायको अवार्डहरु पनि जिते ।

उनको अभिनयको तारिफ गर्दै महानायक अमिताभ बच्चनले उनलाई आफ्नै हातले लेखेको चिट्ठी समेत पठाएका थिए । बलिउडका अन्य कलाकारले समेत उनको प्रशंसा गरे । सिद्धान्त छिट्टै अभिनेत्री दीपिका पादुकोण तथा अनन्या पाण्डेको आगामी फिल्ममा देखिनेछन् । यसका साथै यशराज ब्यानरको फिल्म ‘बन्टी और बब्लीका लागि पनि उनी अनुबन्धित भइसकेका छन् । 

४.सई मान्ज्रेकर

सई मान्ज्रेकरले यस वर्ष सलमान खानकी जोडीको रुपमा फिल्म ‘दबंग ३’ मार्फत बलिउड डेब्यू गरिन । यस फिल्ममा निर्वाह गरेको अभिनयका कारण उनी चर्चामा छिन् । सई अभिनेता तथा फिल्म निर्देशक महेश मान्ज्रेकरकी छोरी हुन् ।

अझै रोचक कुरा त यो छ कि जति बेला सलमानले बलिउड डेब्यू गरेका थिए, त्यसको एक दशक पछि उनको जन्म भएको थियो ।

५.प्रनुतन बहल

प्रनुतन बहललाई पनि सलमान खानले नै बलिउड डेब्यू गराए । सलमान खानको प्रोडक्शनमा बनेको फिल्म ‘नोटबुक’ मार्फत सलमानले उनलाई लन्च गरेका हुन् । तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । फिल्म असफल भए पनि प्रनुतनको अभिनयको भने प्रशंसा भयो ।

उनी यतिबेला उनको दोस्रो फिल्म ‘हेलमेट’को छायांकनमा व्यस्त छिन् । प्रनुतन बलिउडकी दिग्गज अभिनेत्री नुतनकी नातिनी हुन भने अभिनेता मोहनीश बहलकी छोरी हुन् । 

६.करण देवल

अभिनेता सनी देवलका छोरा तथा धमेन्द्रका नाति करण देवलले फिल्म ‘पल पल दिल के पास’ मार्फत डेब्यू गरे । तर फिल्म फ्लप सावित भयो । करणको अभिनयमा पनि आलोचना भयो ।

७. जहीर इकवाल



सलमान खानले आफ्ना बाल्यकालका साथी इकबाल रतनसीका छोरा जहिर इकबाललाई फिल्म ‘नोटबुक’ मार्फत मुख्य अभिनेताको रुपमा डेब्यू गराए । तर जहीरको बलीउड यात्रा सुखद भएन । 

८. करण कपाडिया



अभिनेत्री डिम्पल कपाडियाका भतिजा करण कपाडियाले फिल्म ‘ब्ल्यांक’ मार्फत डेब्यू गरे । उनले पनि बलीउडमा कुनै प्रभाव देखाउन सकेनन् । फिल्म फ्लप भयो । 

९.मीजान जाफरी

जावेद जाफरीका छोरा मीजान जाफरीको डेब्यू गर्नु अघिदेखि नै बलिउडमा निकै चर्चा थियो । उनले संजयलीला भन्सालीको फिल्म ‘मलाल’ मार्फत डेब्यू गरे । तर यो फिल्म बक्स अफिसमा फ्लप भयो । पहिलो फिल्म असफल भएपनि मीजाले खाली बस्नु परेन । उनी फिल्म ‘हंगामा २’ को तयारी गरिरहेका छन् । 

१०. शर्मिन सहगल

मीजान जाफरीसँगै शर्मिन सहगलले फिल्म ‘मलाल’ मार्फत डेब्यू गरिन् । शर्मिनका लागि पनि बलिउडको यात्रा सुखद रहेन । शर्मिन सहगल निर्देशक संजयलीला भन्सालीकी भान्जी हुन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया