नेपालका होटलको २५ लाख पर्यटक राख्ने क्षमता छ

 पुस २५, २०७६ शुक्रबार १५:१८:४१ | विनायक शाह
unn.prixa.net

काठमाण्डौ - २० लाख पर्यटक भित्र्याउने सरकारको महत्वकांक्षी लक्ष्यकासाथ भ्रमण वर्ष २०२० सुरु भइसकेको छ । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ । अर्कोतर्फ भ्रमण वर्षको देश विदेशमा भइरहेको प्रचार-प्रसारले नेपाल घुम्न आउनुपर्छ भनेर विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्ने काम भइरहेको छ । 

सन् २०१९ मा झण्डै ११ लाख जति पर्यटक नेपाल भ्रमणमा आएको भन्ने तथ्यांकलाई आधार मान्दा यो वर्ष हामीले यसलाई दोब्बर बनाउनुपर्ने चुनौती छ ।  
अर्थात होटल व्यवसायीले पनि अहिलेको तुलनामा दोब्बर पर्यटकलाई राख्नुपर्छ भन्ने नै हो । 

हाम्रो होटल इण्डस्ट्री अहिलेको अवस्थामा नै पूर्ण रुपमा सक्षम छौँ । सरकारले लिएको २० लाख पर्यटकलाई सेवा दिन हाम्रा देशैभर रहेका होटलहरु सक्षम छन् । हामी त २५ लाख पर्यटकलाई खाने, बस्ने, मनोरञ्जन गराउने, सभा सम्मेलन गराउने जस्ता उनीहरुको जस्तो आवश्यकता हुन्छ ती कुराहरु स्तरीय ढंगबाट पूरा गर्न तयार छौँ । 

देशमा आएर बिताउने समयको ६० प्रतिशत समय पर्यटकहरुले होटलमा नै बिताउँछन् । त्यो ६० प्रतिशत समयमा हामीले गुणस्तरीय सेवा प्रदान गर्न तत्पर छौँ । बाँकी ४० प्रतिशत समय पर्यटकहरु पदयात्रामा जाने, बिभिन्न मठ मन्दिर घुम्ने जस्ता काम गर्छन् । घुम्ने समय अझै बढाउन सक्यौँ भने भ्रमण वर्ष सफल बन्छ । 

हामीले प्रतिदिन ७ हजारलाई सेवा दिएको अनुभवले प्रतिदिन ५ हजारलाई दिन नसक्ने भन्ने हुँदै हुँदैन । 

हामीसँग होटलको कुनै कमी छैन । हामी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपकै सेवा दिन सक्षम छौँ । 

प्रतिदिन ७ हजार राखेको अनुभव

दक्षिण एसियाली खेलकुद (साग) हुने बेला दैनिक ७ हजार खेलाडी तथा प्रशिक्षकलाई हामीले काठमाण्डौ भित्रै राखेका हौँ । डिसेम्बर १ देखि ७ सम्म प्रतिदिन ७ हजार खेलाडी तथा एथलेटहरुलाई हामीले सेवा दिइसकेका छौँ । 

त्यसैलाई आधार मान्ने हो भने पनि प्रतिदिन ५ हजार ४ सय ८० पर्यटक आउँदा वर्षमा २० लाख पुग्छन् । हामीले प्रतिदिन ७ हजारलाई सेवा दिएको अनुभवले प्रतिदिन ५ हजारलाई दिन नसक्ने भन्ने हुँदै हुँदैन । 

अहिले नेपालमा १५ वटा पाँच तारे होटल सञ्चालनमै छन् । अन्य ५/७ वटा थपिने क्रममा छन् । काठमाण्डौभन्दा बाहिर भैरहवा, बुटवल, नेपालगञ्ज, विराटनगरमा ठूलठूला होटलहरु खुलिसकेका छन् । 

अहिले क्षमताको ५० प्रतिशत मात्रै उपयोग

सन् २०१९ को तथ्यांकले करिब ११ लाख जति मात्रै पर्यटकहरु नेपाल आइरहेका छन् । तर हाम्रो क्षमता भनेको यसको दोब्बर हो । यो भनेको त हाम्रो क्षमताको ५० प्रतिशत मात्रै उपयोग भइरहेको छ भन्ने हो । ५० प्रतिशत क्षमता त त्यसै खेर गइरहेको छ । 

हाम्रो चाहना त बाँकी रहेको ५० प्रतिशत पनि खपत होस् भन्ने हो नि । अहिले कतै कतै होटलका ८० प्रतिशतसम्म कोठाहरु खाली छन् । कतै २० प्रतिशत खाली छन् । यो वार्षिक अनुपातको कुरा हो । 

सबैभन्दा ठूलो कुरो भनेकै पर्यटक कसरी भित्र्याउने भन्ने हो । हाम्रा बाटोघाटा र अहिले रहेको एअरपोर्टबाट २० लाख सजिलै भित्र्याउने बातावरण छैन ।

यो भनेको अन्तर्राष्ट्रिय पर्यटकको हिसाब गर्दा हो । हामीसँग डोमेस्टिक टुरिष्ट पनि छन् । यसका साथै भारतीय पर्यटकहरु पनि छन् । होटल इण्डस्ट्रीको कोठा खाली भयो भन्ने कुरा मात्रै पनि हुँदैन । त्यसको सभा सम्मेलन, भोजभतेर, ब्यांकेटिङ लगायत अरु बिजनेस पनि हुन्छ ।

कतै एक्जिभिसन, कतै मिटिङ, कन्फ्रेन्स भन्ने हुन्छ । यी सबै कुरा हेर्नु पर्ने हुन्छ । रुम मात्रैको कुरा गरेर मात्रै पनि हुँदैन नि । तर क्षमताको ५० प्रतिशत मात्रै अहिले उपयोगमा आइरहेको छ । 

अहिलेकै पूर्वाधारले २० लाख पर्यटक भित्र्याउन चुनौती

हाम्रो देश ठूला छिमेकी देश भारत र चीनको बीचमा छ । यसर्थ २० लाख पर्यटक भित्र्याउनु कुनै ठूलो कुरो होइन । तर उनीहरुलाई भित्र्याउने कसरी भन्ने मात्रै चुनौती हो । भारत र चीनबाट सडक मार्ग हुँदै पनि लाखौँ पर्यटक भित्र्याउन सक्थ्यौँ । तर बाटो खराब छ । स्तरीय छैन । यसले गर्दा सडक मार्ग हुँदै आउने पर्यटक न्यून छन् ।

उत्तरी छिमेकी चीनसँगको सडक सञ्जालको कुरा गर्दा तातोपानी नाका भूईँचालोले बिग्रेपछि अहिलेसम्म राम्रोसँग उठ्न सकेको छैन । रसुवाको बाटो सानो गाडीका लागि मात्रै हो । त्यो पनि राम्रो बनाइएको छैन । 

नेपालमा सडक मार्गबाट जाने भनेपछि त्यहाँबाट आउने पर्यटक हच्किने गर्छन् । हुन त पूर्वाधार भन्ने कुरा हिजोको आजै भैहाल्ने भन्ने कुरा पनि होइन । बन्न त अहिले बनिरहेको छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । अब छिट्टै उडान नै सुरु गर्ने भन्ने कुरा छ । यस्तै पोखरा एअरपोर्ट पनि बनिरहेको छ ।   

काठमाण्डौको विमानस्थलको क्षमता बढाउने काम भइरहेको छ । काम त भइरहेको छ तर चाँडो गर्नु पर्ने चुनौती छ । समयमै काम हुन सकिरहेको छैन । हाम्रो व्यवस्थापकीय कमजोरीका कारण काम ढिलो भइरहेको छ । त्यसलाई सुधार गर्दै चाडो काम सकेर सञ्चालन गर्न सके भ्रमण वर्षमा लक्ष्यअनुरुप काम हुनसक्छ । 

सबैभन्दा ठूलो कुरो भनेकै पर्यटक कसरी भित्र्याउने भन्ने हो । हाम्रा बाटाघाटा र अहिले रहेको एअरपोर्टबाट २० लाख सजिलै भित्र्याउने वातावरण छैन । २०१९ को पर्यटक आगमन ११ लाख जति छ । अब हामीले यसलाई दोब्बर गर्नुपर्छ । दोब्बर गर्नलाई अहिलेको पूर्वाधारले साथ देला त भन्ने नै हो । हामीले एकै वर्षमा आमूल परिवर्तन गर्न त सक्दैनौँ ।

२० लाख पर्यटक भित्र्याउने कुरा गर्दै गर्दा हामीलाई फाइदा नभएर आम्दानी घट्ने अनि हाम्रा हिमाल तथा शहर बजारमा फोहोर थुप्रने मात्रै हुन पनि सक्छ ।

तर सरकारले साना साना कुरा सुधार गरे पनि आगमन केही अवश्य बढ्नेछ । विमानस्थलमा इमिग्रेसन क्लियर गर्नै समय लाग्ने गरेको पर्यटकको गुनासो छ । यस्तै ब्यागेज आउन त्यस्तै ढिला हुन्छ । अब सरकारले यो सबै कुरा समयमै हुनेगरी प्रतिबद्धता जनाएर काम गर्ने हो भने सहज हुने थियो । यस्ता कुराले पनि पर्यटककाे संख्या बढाउन सकिन्छ ।  

भ्रमण वर्ष त हामीले घोषणा गर्‍याैँ । तर हाम्रो काम भने विगतकै झैँ रह्यो भने हुनेवाला  केही छैन । सक्दो छिटो सुधार हुनुपर्छ । अहिले पर्यटकलाई एकदमै झिंजो बनाउने भनेको ट्राफिक व्यवस्थापन हो । ट्राफिक लाइट राख्न त गाह्रो कुरा होइन नि । तर देशकै राजधानीको रुपमा रहेको काठमाण्डौ महानगरमै यसको व्यवस्थापन छैन ।   

अहिलेको रणनीतिले हिमालमा फोहोर थुपार्ने मात्रै हुन्छ 

२० लाख पर्यटक भित्र्याउने कुरा गर्दै गर्दा हामीले त्यो बाट के फाइदा हुन्छ भन्ने पनि सोच्नुपर्ने हुन्छ । तर फाइदा नभएर आम्दानी घट्ने अनि हाम्रा हिमाल तथा शहर बजारमा फोहोर थुप्रने मात्रै हुन पनि सक्छ । त्यस्तै हाम्रा कल्चर बिग्रनेजस्ता पनि हुन सक्छ । 

पहिलो कुरो भनेको यसबाट नेपालले के फाइदा पाउँछ भन्ने हेर्नुपर्छ । खाली आँकडामा मात्रै केन्द्रित हुनुभन्दा पनि हामीले क्वालिटी पर्यटक कसरी भित्र्याउने भन्नेतर्फ ध्यान दिनु जरुरी छ ।  

अहिले भ्रमण वर्ष सुरु भयो । तर हामीले एक दशकलाई नै हेरेर हामीले नयाँ काम गर्नु जरुरी छ । टुरिजम भनेको एउटा पक्षले हेरेर मात्रै पनि हुँदैन । सबैले आफ्नो आफ्नो क्षेत्रबाट रेस्पोन्सिबल तरिकाले योगदान दिनुपर्छ । 

आज भनेर भोलि नै क्वालिटी पर्यटक आउँछन् भन्ने हुँदैन । तर त्यसका लागि आवश्यक काम गर्नु जरुरी छ । आज हाम्रो देश विश्वमा आफ्नो जीवनकालमा एक पटक नगई नहुने देश भनेर चिनिन्छ ।  

हाम्रो डेस्टिनेशन ‘वन अफ दि मोस्ट प्रिफर्ड’ भनेर चिरपरिचित छ । तर सँगसँगै ‘वन अफ दि चिपेस्ट डेस्टिनेशन’ भनेर पनि प्रचार प्रसार भइरहेको छ । यसलाई सुधार गर्नु जरुरी छ । यसले गर्दा हाम्रो देशमा कम बजेटका पर्यटक ज्यादा आउने गरेका हुन् । 

स्थानीय, प्रदेश र केन्द्र सरकारले लिने करका विषय स्पष्ट नहुँदा होटल व्यवसायीले लगानी गर्न आँट गरिरहेका छैनन् ।

हाम्रो अहिले काठमाण्डौ, चितवन, पोखरा र केही हिमाली क्षेत्र बाहेक अन्य ठाउँमा पर्यटकलाई घुमाउन लैजान सकेका छैनौँ । देशमा प्रसस्त रमणीय ठाउँ छन् । तर पहिलेका रुट बाहेक अन्य ठाउँमा हामीले पर्यटकलाई लैजानै सकेनौँ ।  

पर्यटकलाई यहाँ ल्याइसकेपछि बढी भन्दा बढी ठाउँ घुमाउन सक्यौँ भने हाम्रा लागि फाइदाजनक हुन्छ । अहिले सरकारले देशभरका १ सय वटा ठाउँलाई घुम्नै पर्ने पर्यटकीय ठाउँको रुपमा सूचीकृत गरेको छ । सँगसँगै ती ठाउँमा आवश्यक पूर्वाधार निर्माणको तयारीलाई पनि अघि बढाएको छ । यसमा काम राम्रोसँग भए हामीले फाइदा लिन सक्छौँ । 

महत्वपूर्ण पर्यटकीय गन्तव्यमा होटल छैन

महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु रारा, फोक्सुण्डोजस्ता क्षेत्रमा पर्यटक बस्ने सुविधाजनक होटलहरु नै छैनन् । त्यो भनेको सरकारको दोहोरो कर नीतिका कारण लगानी गर्न नसकिएको हो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले लिने करका विषय स्पष्ट नहुँदा होटल व्यवसायीले लगानी गर्न आँट गरिरहेका छैनन् । काठमाण्डौकै कतिपय ठूला होटलहरुले राजधानी बाहिर लगानी चाहिँ गरिरहेका छन् । तर वातावरण नबन्दा त्यो हुन सकेको छैन । 

हामी भर्खर संघीयतामा प्रवेश गरेको २/४ वर्ष भयो । अहिले नीति नियम बन्ने काम भइरहेको छ । पर्यटन ऐन २०३५ अनुसार अहिले चलि रहनु परेको छ । यसलाई सुधार गरेर अघि बढ्नु जरुरी छ । लगानी ल्याउन गार्हो कुरा होइन तर त्यसका लागि आवश्यक नीति नियम हुनु जरुरी छ । 

पर्यटकीय गन्तव्यसम्म सहज रुपमा पुग्ने व्यवस्था मिलाउनु पर्छ । त्यहाँ जाने पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन सक्नु पर्छ ।    

पहिल्यै जानकारी लिएर आउँछन् पर्यटक

नेपाल भ्रमणमा आउने पर्यटकले यहाँको बारेमा सबै जानकारी लिएर नै आउने गर्छन । त्यसैले यहाँको धुलो, धुवाँ तथा यहाँको अवस्थाले खासै असर त गर्दैन । तर पनि त्यस्ता कुरा हामीले सुधार गर्दिने हो भने अझै दोहोर्याएर उनीहरु आउने थिए । 

खुट्टामा चप्पल नभए पनि पर्यटकलाई हँसिलो मुहारले स्वागत गर्ने नेपालीको बानी नै हो । यसैले उनीहरुलाई लोभ्याउने गर्छ ।

धेरैजसो पर्यटकहरु पैदल यात्राका लागि नेपाल भ्रमणमा आउने गर्छन् । त्यसका साथै यहाँको रहनसहन, सँस्कृति हेर्न पर्यटक आउने गरेका छन् । यहाँ आउने पर्यटकलाई लोभ्याउने भनेकै यहाँका मानिसले गर्ने सत्कार नै हो । खुट्टामा चप्पल नभए पनि पर्यटकलाई हँसिलो मुहारले स्वागत गर्ने नेपालीको बानी नै हो । यस्तै जात्रा तथा पर्वले पनि पर्यटकलाई तान्ने काम गरेको छ ।   

छिटो समयमा आर्थिक समृद्धि ल्याउने बाटो नै पर्यटन व्यवसाय हो । अहिले पर्यटन व्यवसायमा पनि धेरै परिवर्तन भएको छ । नेपाल पनि धेरै विकसित बन्दै गइरहेको छ । विभिन्न भौतिक निर्माणका कामसँगै पर्यटन व्यवसायले पनि विस्तारै फड्को मार्दै छ । 

अहिले सरकारले भ्रमणका लागि नयाँ नयाँ गन्तव्य तय गरेसँगै कहिल्यै त्यो ठाउँमा नपुगेका पर्यटक पनि जान थालेका छन् । चितवनमा त पहिलेदेखि नै पर्यटक पुग्ने गरेका छन् । अब मिथिला नगरी जनकपुरमा पनि पर्यटक जाने क्रम बढेको छ । धेरै जसो भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् । बर्दिया लगायतका ठाउँमा पनि पर्यटकको संख्या विस्तारै बढ्दै छ । 

यसरी नयाँ भन्दा नयाँ ठाउँहरु बढाउँदै लैजान सकिए पर्यटक आउने क्रम बढ्दै जानुका साथै पर्यटकलाई बढी समयसम्म राख्न सकिने अवस्था रहन्छ । अब सरकारले पर्यटन प्रवर्द्धनका लागि स्पष्ट नीति ल्याउन जरुरी छ । यो सँगै भएका नीति नियम कार्यान्वयन हुनुपर्‍याे ।

यति भयो भने अवश्य पनि पर्यटन व्यवसायले फड्को मार्नेछ । देश समृद्धिको आधार पर्यटन व्यवसाय हुनेछ । सरकारले आधारभूत पूर्वाधारको काम गरे होटल व्यवसायीले जहाँ पनि लगानी गर्छन् ।  

(होटल संघ नेपाल (हान)का उपाध्यक्ष विनायक शाहसँग उज्यालाेका लागि नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १, २०८०

विनायक शाह

शाह होटल एशोसियशन अफ् नेपाल (हान)का उपाध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया