एनसेलका टावरमा रोकिएन आक्रमण : दूरसञ्चार प्राधिकरणले भन्यो- आक्रमण बन्द गर्नू

 माघ १, २०७६ बुधबार १६:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलका टावरहरुमा पुर्‍याएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

‘विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएकोप्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’, प्राधिकरणले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ ।  नेपाली नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षति नपुर्‍याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धिक सबैमा अनुरोध गरिन्छ ।’

सोमबार मात्रै काठमाण्डौको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको एनसेलको टावरमा आक्रमण भएको थियो ।
एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । यसबाट २ सय ५० भन्दा बढी टावरहरुले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित भएको एनसेलले जनाएको छ।

यसअघि एनसेलको टावरहरुमा लगातार आक्रमण विप्लव समूहले नै गरेको पाइएको छ । 
एनसेलले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ३४ अर्बभन्दा बढी कर दाखिला गरेको र स्थापनादेखि अहिलेसम्म २१० अर्ब कर तिरेको जनाएको छ ।

सर्वोच्च अदालतको फैसला र ठूला करदाता कार्यालयले निर्धारण गरे बमोजिम पूँजीगत लाभकर पनि पहिलो किस्ताका रुपमा ४ अर्ब ५० करोड रुपैयाँ दाखिला गरिसकेको एनसेलको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया