प्रधानमन्त्रीले कार्यकर्ताहरुको ज्यान लिन तरवार र गोलीको माला बोकेर हिँड्नुहुन्छ भन्ने सोच गलत हाे : सञ्चारमन्त्री बाँस्काेटा

 माघ २, २०७६ बिहिबार १८:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेता भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की दिएको कुरा गलत भएको बताउनुभएको छ । 

बिहीबार मन्त्रालयमा आयोजना भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले बालुवाटारबाट नेता रावललाई ज्यान मार्ने धम्की दिएको कुरा सत्य नभएको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बहस गर्न रुचाउने कुरा कसैले मन पर्नु/नपर्नु छुट्टै भए पनि ज्यान मार्ने धम्कीबारे कुनै सत्यता नभएको बाँस्कोटाले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री त्यस्तो खालको हुनुहुन्छ र ? कसैको ज्यान नै लिने । प्रधानमन्त्री बहस गर्न रुचाउनुहुन्छ । त्यो मन पर्नसक्छ । मन नपर्न सक्छ । टिप्पणी हुन सक्छ । आलोचना हुन सक्छ । विरोध हुन सक्छ । कार्टुन बन्न सक्छ अथवा नेताहरुको पनि भाषणको विषय बन्न सक्छ । तर ज्यान मार्ने धम्कीको कुनै सत्यता छँदा पनि छैन, हुँदा पनि होइन ।’

उहाँले भीम रावलजीले यस्तो नम्बरबाट फोन आयो वा यस्तो गरियो भनेर बताए त्यसलाई कारबाही हुने बताउँदै विचार व्यक्त गर्ने कुरामा सहमति/असहमति जनाएकै आधारमा कसैमाथि ज्यानको धम्की दिन नमिल्ने प्रष्ट पार्नुभयाे ।

मन्त्री बाँस्कोटाले रावलको सुरक्षाका लागि सरकारले सुरक्षाकर्मी खटाएको स्मरण गर्दै साथमा पछुवा सुरक्षाकर्मी भएकाले उहाँमाथि कुनै सुरक्षाको खतरा नभएको बताउनुभयो । प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुको ज्यान लिन तरवार बोकेर हिँड्ने वा खल्तीभरी गोलीको माला बोकेर हिड्नुहुन्छ भनेर सोच्नु नै गलत भएको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले ललिता निवासको जग्गा कब्जा गर्ने विप्लव नेकपाको धम्की चर्चामा आउनका लागि मात्रै भएको बताउनुभएको छ । पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै बाँस्कोटाले सरकारले नै त्यस जग्गामाथि छानबिन चलाएको उल्लेख गर्दै नेपाली जनता र नेपाल सरकारको उक्त जग्गा कुनै व्यक्तिलाई नदिइने बताउनुभयो ।

‘विप्लवले कब्जा गरेर कब्जा हुँदैन नेपाल सरकार आफैले त्यस उपर छानबिन चलाएको छ । त्यो अरु कसैले भनेर होइन सरकार आफैले थाहा पाएपछि त्यसउपर छानबिन गरेको हो । त्यो जग्गा जसले जे भनेपनि नेपाली जनताको हो, नेपाल सरकारको हो । हामी त्यही नै गर्छौ र व्यक्तिहरुर्लाइ दिन सकिँदैन् । जो सुकैको परेपनि’, बास्कोटाले भन्नुभयो।’

बाँस्कोटाले विप्लव समूहका गतिविधहरु आतंकवादी भएको बताउनुभएको छ । लुकेर हमला गर्ने, छिपेर हमला गर्ने कुराले उनीहरुलाई नराम्रो गर्ने बास्कोटाले बताउनुभयो । सरकारले सार्वजनिक सम्पत्तिहरु, टेलिकमका टावरहरुमा आगजनी गर्न नभएको भन्दै बास्कोटाले जनताको सम्पत्तिमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । बास्कोटाले विप्लव समूहका त्यस्ता गतिविधिहरु प्रति सहनशील बन्न नसकिने बताउनुभयो ।‘

मन्त्री बाँस्कोटाले स्थानीय तहहरुमा विकास निर्माणका नाममा भइरहेको डोजर आतंकका विषयमा भने कामचलाउ जवाफ दिनुभएको छ । ‘अनावश्यक दोहनलाई रोक्न विभिन्न निकायहरु रहेको र उनीहरुले काम गरिरहेका होलान्’, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

विकास जनता र वातावरणका लागि भएको उल्लेख गर्दै बाँस्कोटाले विकास निर्माणका क्रममा अलिकित विनास हुने भए पनि त्यसको रोकथामका लागि पत्रकारहरुलाई खबरदारी गर्न आग्रह गर्दै सरकारले पनि आफ्नो तर्फबाट दोहनका काम रोक्न आग्रह गर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया