विराटनगरमा जलाउन घाटमा लगेको शव प्रहरीले नियन्त्रणमा लियो

 माघ २, २०७६ बिहिबार १९:५७:७ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरी - विराटनगरमा बिहबार घाटमा जलाउन लगेकाे शव प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

घटना शंकास्पद रहेको जानकारी आएपछि पोष्टमार्टमको लागि शवलाई नियन्त्रणमा लिइएको मोरङमा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । घाँटीमा शंकास्पद डाम देखिएपछि साहको शव नियन्त्रणमा लिइएको  प्रहरीले जनाएको छ ।

यस्ताे थियाे घटना

विराटनगर महानगरपालिका-८, बलुवाइकी २८ वर्षीया प्रेमदेवी साहको बिहीबार बिहान ४ बजे ज्यान गयो । मध्यान्ह घरका परिवार र छरछिमेक भेला भए र उनको शव दाहसंस्कारका लागि नजिकै रहेको सिँघिया खोलामा लगे ।

साहको परिवारले प्रेमदेवीको सुनसरीको बराह नगरपालिका ४ चतरामा रहेका माइती पक्षलाई बिहान साढे ५ बजेतिर खबर गरे ।  प्रेमदेवीको मृत्युको खबर पुगे लगत्तै त्यहाँबाट मृतककी दिदी श्यामकुमारी साह सहितका आफन्त विराटनगर आए ।

मृतक प्रेमदेवीको घटना शंकास्पद लागेर उनीहरुले प्रहरीलाई खबर गरे । बहिनीको  कालगतीले ज्यान नगई हत्या भएको हुनसक्ने श्यामकुमारीको आरोप छ ।प्रेमदेवीको माईती पक्षले उनको मृत्यु शंकास्पद देखिएको भन्दै शव जलाउन दिएनन् ।  

शव जलाउनको लागि चिता समेत बनाइसकेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक रामबहादुर ढकाल र वडा प्रहरी कार्यालय हाटखोलाबाट प्रहरी नायब निरीक्षक मनोज अधिकारी सहितको  टोली सिँघिया खोलामै पुग्यो ।

त्यहाँ पुगेको प्रहरी टोलीले विराटनगर ८ बलुवाई भाथिगछ जाने पुल नजिकै रहेको सिँघीया खोलको घाटबाट जलाउन लागेको साहको शवको मुचुल्का बनाई नियन्त्रणमा लियाे ।

तर स्थानीयले मृतक साह मानसिक बिरामी भएका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान लगाएका छन् । प्रहरीले साहको शव नियन्त्रणमा लिएपछि मलामी गएका गाउँले अचम्म मान्दै घर फर्किए । 

प्रहरीले प्रेमदेवीका श्रीमान् गोविन्द साहलाई पनि नियन्त्रणमा लिएको छ । गोविन्दसँग उनको १२ वर्ष अघि मागी विवाह भएको थियो । उनीहरुका दुई छोरा छन् ।साहको शवलाई पोस्टमार्टमका लागि  कोशी अञ्चल अस्पतालमा राखिएको छ । पोष्ट मार्टमको रिर्पोट आएपछि मात्र घटनाको बारे यथार्थ पत्ता लाग्ने मोरङ प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया