अब उच्च शिक्षामा छात्रवृत्ति पाउन सरकारी विद्यालयमा नै पढेकाे हुनुपर्ने !

उच्च शिक्षामा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला

 माघ २, २०७६ बिहिबार १९:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि सरकारी छात्रवृति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले केही नेपाल ऐन संशोधन सहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले समावेशी छात्रवृतिका नाममा विभिन्न विकृतिहरु बढेकाले सामुदायिक बिद्यालयमा पढ्नुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो । जुन व्यक्तिले छात्रवृति पाउनुपर्ने हो त्यसले नपाएको गुनासोहरु धेरै आएकाले कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले मात्रै उच्च शिक्षामा छात्रवृत्ति पाउने व्यवस्था गरिएको उहाँले बतानुभयो ।

सभापति घर्तीले विश्वविद्यालयका पदाधिकारी ५१ प्रतिशत सदस्यहरुले हटाउन सक्ने व्यवस्था पनि गरिएको बताउनुभयो । समितिमा छलफलका क्रममा दुई तिहाइले मात्रै हटाउन सक्ने प्रावधान राख्न सुझाव आए पनि विश्वविद्यालय र उच्च शिक्षाको छाता ऐन आउने क्रममा भएका कारण तत्काललाई ५१ प्रतिशतले नै हटाउन सक्ने प्रावधान राखिएको उहाँले बताउनुभयो ।

समितिमा छलफलका क्रममा उच्च शिक्षा निः शुल्क गर्नुपर्ने संशोधन पनि परेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले तीन वटा नयाँ विधेयक आउने जानकारी गराएपछि नयाँ विधेयकमा नै छलफल गर्नेगरी उच्च शिक्षा नि:शुल्कसम्बन्धी विषय समावेश गरिएन ।

अब उच्च शिक्षामा मातृभाषामा अध्ययन गर्ने बाटो पनि खुला भएको छ । समितिले उच्च शिक्षामा मातृभाषामा पढ्न पाउने व्यवस्था गरेको हो ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया