कोरोना भाइरस संक्रमणको शंका गरिएका नेपाली अस्पतालबाट डिस्चार्ज

 माघ ३, २०७६ शुक्रबार १७:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको संक्रमण भएको आशंकामा अस्पताल भर्ना गरिएका एक जना नेपालीलाई डिस्चार्ज गरिएको छ । चीनमा अध्ययन गरिरहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको शंका गरेर शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो ।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना गरिएका ती विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य भएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । 

ती विद्यार्थीको रगत जाँचका लागि पठाइएकोले प्रतिवेदन आएपछि मात्र रोगबारे एकिन हुने पुनले बताउनुभयो । कोरोना भाइरसको परीक्षण गर्ने प्रविधि नहुँदा परीक्षणका लागि विदेश पठाउनुपर्छ । 

पहिलो पटक देखिएको कोरोना निम्त्याउने भाइरसहरुको मूहमा पर्ने भएकोले सजगता अपनाउन भनेको छ । 

यो भाईरस जनावर र मानिसबीच सर्ने भाइरस भएको डाक्टरहरुले बताएका छन् । कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

छिमेकी देश चिनमा कोरोना भाइरसका कारण मानिसको ज्यान गएको र चिनियाँ पर्यटक नेपाल धेरै आउने भएकोले सुरक्षा सतर्कता अपनाउनुपर्ने डाक्टरहरुले बताएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया