सिताराम ‘गुरु’ : गितार बाेकेर गाउँ गाउँ, संगीतमार्फत समाजसेवा

 माघ ५, २०७६ आइतबार १३:१२:७ | साजन सुबेदी
unn.prixa.net

ललितपुर - कहिले ललितपुरको दुर्गम गाउँहरु गिम्दी, प्युटार त कहिले सिन्धुपाल्चोकका सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरुलाई संगीत सिकाउन पुग्नुहुन्छ सिताराम ‘गुरु’ ।

उहाँको पूरा नाम सिताराम गौतम हो, तर लामो समयदेखि थुप्रैलाई संगीत (विशेष गरी) गितार सिकाउँदै आउनभएकाले सबैले उहाँलाई ‘गुरु’ भनेर सम्बोधन गर्दागर्दै उहाँले उपनाम नै गुरु राख्नुभयो ।

बाल्यकालदेखि नै संगीतमा रुची राख्ने सिताराम गुरुले विक्रम सम्वत २०५२ सालदेखि गितार सिक्न थाल्नुभएको हो । सुरुमा रहरले सिकेको गितारमा बिस्तारै मन बस्न थाल्यो ।

गितार सिक्न थालेको पाँच वर्षपछि २०५७ सालमा लण्डनकाे ट्रिनिटी कलेजकाे काेर्समा आधारित वेस्टर्न क्लासिकल गितारमा ६ ग्रेडसम्मको अध्ययन काठमाण्डाै पूरा गर्नुभयो । त्यसपछि २०५८ सालमा आफैँले पहिले गितार सिकेको ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टर सञ्चालन गर्न थाल्नुभयो । 

‘त्यतिबेला ट्रिनिटी कलेज लण्डनकाे काेर्स यहीँ नेपालमै गर्न पाइन्थ्याे, परीक्षा लिन भने लण्डनबाटै आउने गर्थे’, उहाँले सम्झनुभयाे । ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टर त्यसबेलासम्म सितारामका गितार गुरु बिमल राइले काठमाण्डौको न्यूरोडमा चलाउने गर्नुहुन्थ्यो ।

गौतमले वेस्टर्न क्लासिकल गितारमा ६ ग्रेडसम्मको अध्ययन पूरा गर्नु र गुरु बिमल राई अमेरिका जाने समय सँगै पर्‍याे । त्यसपछि ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टर चलाउने जिम्मा गौतममाथि आइपर्‍याे ।

घर पायक हुने र समय पनि बढी दिन सकिने भएकाले गौतमले पहिले न्यूराेडमा रहेकोे ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टरलाई भैँसेपाटीमा सार्नुभयो । रहर र विस्तारै बानी बनेको गितार सिकाउने कामलाई उहाँले ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टरमार्फत अगाडि बढाउनुभयो ।

पुस्तक प्रकाशन

सिकाउँदै गर्ने क्रममा गितारहरु उपलब्ध भए पनि त्यससम्बन्धी सैद्धान्तिक ज्ञान समेटिएका पुस्तकहरुको अभाव खड्कियो ।

आफूले सिक्दा पनि पुस्तक अभावले गर्दा परेको कठिनाइ सम्झेर गौतम आफैँले पुस्तक लेख्नुपर्छ भन्ने हुटहुटी जाग्यो र २०५९ सालमा गितार सिक्न चाहनेहरुका लागि पहिलो र आधारभूत पुस्तक प्रकाशन गर्नुभयो जसको नाम थियो इजी गितार गाइड फर लर्नर्स ।

पुस्तक अभाव खड्किरहेको बेला आधारभूत सैद्धान्तिक ज्ञान र नोटेशनसहितको पुस्तक बजारमा ल्याइएकाले यो पुस्तक रामो बिक्री भयो र धेरै संगीत सिक्दै गरेकाले पुस्तकमा हेरेर अभ्यास गरेरै आफूलाई निखार्न सफल भए ।

‘बेसिक सिकाएपछि विद्यार्थीले किताबमा हेरेर अभ्यास गर्न र आफूलाई निखार्न सकुन् भनेर किताब दिएर आउँछु’, उहाँले भन्नुभयाे, ‘मेराे उद्देश्य नै गाउँगाउँका प्रतिभालाई उजागर गर्नु हाे ।’

आधारभूत पुस्तकको बिक्री र त्यसको ज्ञानबाट गितार सिक्दै गरेकाहरुलाई मिलेको फाइदाका कारण गौतममा अब अलि एड्भान्स्ड (माथिल्लो श्रेणीको) पुस्तकहरु पनि निकाल्नुपर्छ भन्ने आँट दियो ।

पहिलो पुस्तकलाई ध्यानमा राख्दै उहाँले बेसिकदेखि एडभान्ससम्म अरु चारवटा पुस्तक निकाल्नुभयो । यी पुस्तकहरु पनि पहिले पुस्तक झैँ राम्रै बिक्री भए । सबै किताबहरु गरी हालसम्म झण्डै एक लाखभन्दा बढी प्रति बिक्री भइसकेका छन् ।

२००० भन्दा बढी औपचारिक शिष्यहरु

२०५८ सालमा ट्रिनिटी म्युजिक ट्रेनिङ सेन्टरको जिम्मेवारी लिइसकेपछि झण्डै दुइ हजारभन्दा बढीलाई औपचारिक रुपमा गितार सिकाइसक्नुभएको छ गौतमले । 
ती सिक्नेहरुमध्ये कोही यतै बसेर संगीतकै क्षेत्रमा काम गरिरहेका छन् भने कोही विदेशतिर छन्, तर गितार गुरुका रुपमा गौतमलाई सम्झिरहन्छन् ।

गौतमसँग गितारको प्रशिक्षण लिएका केही प्रशिक्षण लिएकामध्ये प्रख्यात अनुहारहरुमा अनमोल केसी र नितेशजंग कुँवर पनि हुन्, जो हिजाेआज चलचित्र र संगीतको क्षेत्रमा चर्चित छन् ।

गाैतमले अनमाेललाई उनकै घर महाराजगञ्जमा २०६३ सालतिर र नितेशजंग कुँवरलाई २०६० सालमा भैँसेपाटीमा गितारकाे आधारभूत प्रशिक्षण दिनुभएकाे हाे ।

‘झण्डै २००० जतिलाई सिकाएँ हाेला । काेही यतै छन्, काेही विदेशतिर छन् । अहिलेका नाम चलेका अनमाेल केसी र नितेशजंग कुँवरलाई पनि मैले गितारकाे औपचारिक प्रशिक्षण दिएकाे हुँ’, गाैतम सम्झनुहुन्छ ।

संगीतमार्फत समाजसेवा

व्यावसायिक रुपमा थुप्रै वर्ष गितार प्रशिक्षण दिँदै गर्दा उहाँलाई संगीतको पहुँचलाई भूगोल, आर्थिक अवस्था वा अन्य कुनै तत्वले रोक्नुहुन्न भन्ने लाग्यो ।

संगीत प्रशिक्षण केन्द्रहरु बढी शहरकेन्द्रित हुने र आर्थिक रुपमा सबलहरुको मात्र पहुँच हुने हुँदा लुकेका प्रतिभाहरुकाे सिर्जनशीलता पहिचान गर्ने उद्देश्यले उहाँले दुर्गम गाउँहरुका सामुदायिक विद्यालयहरुमा गएर स्वेच्छिक रुपमा संगीत सिकाउने प्रण गर्नुभयो ।

यसैलाई मूर्तरुप दिन गएको वैशाखदेखि उहाँ प्रत्येक महिना कुनै न कुनै जिल्लाको दुर्गम गाउँहरुमा गएर त्यहाँका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई गितारको आधारभूत प्रशिक्षण दिन सुरु गर्नुभयाे ।

यस सिलसिलामा हरेक महिना एक हप्ताकाे लागि कुनै जिल्लाकाे दुर्गम गाउँका सामुदायिक विद्यालयमा बस्नेगरी नै जानुहुन्छ गाैतम । २५ देखि ३० जनाकाे विद्यार्थीकाे समूहलाई एउटा गितारका दरले विद्यालयले नै व्यवस्था गरिदिनुपर्छ भने त्यहाँ बसुञ्जेल गाैतम र उहाँसँगै गएका साथीलाई बस्ने र खाने व्यवस्था गरिदिनुपर्छ । त्यस बाहेक कुनै शुल्क लिने गर्नुभएकाे छैन ।

अहिलेसम्म आफ्नाे र साथीभाइकाे सहयाेगमा निशुल्क प्रशिक्षण दिइरहेकाे र भविष्यमा कुनै व्यक्ति वा संस्थाकाे सहयाेग भए अझ धेरै ठाउँका धेरै विद्यालयहरुमा प्रशिक्षण दिन सकिने उहाँकाे भनाइ छ ।

‘प्रत्येक विद्यालयकाे ७, ८, ९ र १० कक्षाका एक-एक जनालाई छात्रवृत्ति दिने याेजना छ’, उहाँले भन्नुभयाे, ‘विद्यालयले केही निश्चित रकम जुटाउन खासै गाह्राे हुँदैन, तर आर्थिक अभावका कारण पढ्न असजिलाे भएका एक दुई जनाले भए पनि पढ्न पाए भने भविष्य उज्ज्वल बन्न सक्छ ।’

जुन ठाउँमा प्रशिक्षण दिनुहुन्छ त्यहाँ आफ्ना पुस्तक नि:शुल्क दिनुहुन्छ भने भ्याएसम्म महिनाकाे एक पटक ती विद्यालयहरुमा पुग्नुहुन्छ ।

‘बेसिक सिकाएपछि विद्यार्थीले किताबमा हेरेर अभ्यास गर्न र आफूलाई निखार्न सकुन् भनेर किताब दिएर आउँछु’, उहाँले भन्नुभयाे, ‘मेराे उद्देश्य नै गाउँगाउँका प्रतिभालाई उजागर गर्नु हाे ।’

गएकाे वैशाखदेखि गाैतमले विभिन्न ठाउँका पाँच वटा विद्यालयका झण्डै एक हजार विद्यार्थीलाई गितारकाे आधारभूत प्रशिक्षण दिइसक्नुभएकाे छ । उहाँले निशुल्क प्रशिक्षण दिएका विद्यालयहरुमा ललितपुर गिम्दीकाे नारायणी मावि र जनक मावि, प्युटारकाे कालीदेवी मावि, सिन्धुपाल्चाेककाे भिमेश्वर मावि हुन् ।

गरिब र जेहेन्दारलाई छात्रवृत्ति

अहिलेसम्म निशुल्क गितार प्रशिक्षण दिँदै आए पनि केही समयपछि निश्चित शुल्क लिने र त्यसकाे २५ प्रतिशत रकम त्यही विद्यालयका निम्न आर्थिक अवस्था भएका चार जना विद्यार्थीहलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्य रहेकाे उहाँले बताउनुभयाे ।

‘प्रत्येक विद्यालयकाे ७, ८, ९ र १० कक्षाका एक-एक जनालाई पढाइका लागि छात्रवृत्ति दिने याेजना छ’, उहाँले भन्नुभयाे, ‘विद्यालयले केही निश्चित रकम जुटाउन खासै गाह्राे हुँदैन, तर आर्थिक अभावका कारण पढ्न असजिलाे भएका एक दुई जनाले भए पनि पढ्न पाए भने भविष्य उज्ज्व‍ल बन्न सक्छ ।’

अन्तिम अपडेट: बैशाख ८, २०८१

साजन सुबेदी

 प्रविधि र न्यूमिडियामा रुची राख्ने सुबेदी उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Ashis thiing

    June 8, 2021, 5:55 p.m.

    सिताराम गुरुको यो साङ्गितिक अभियान एकदम राम्रो लाग्यो, नेपालमा धेरै प्रतिभाहरु छन जस्लाई उहाँले बाहिर ल्याउने कोसिस गर्दै हुनुहुन्छ। उहाँ जस्ता समाजसेवीलाई सरकार द्वारा सम्मानित गर्नु पर्छ। उहालाई धेरै धेरै धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया