नेकपाका नेता कार्यकर्ताले ‘तँ’ भन्न नपाउने, परिवारका सबै सँगै बसेर खानुपर्ने

 माघ ६, २०७६ सोमबार १८:५८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता, कार्यकर्ता र सदस्यहरुको लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ ।

११ बुँदे आचारसंहितामा परिवारमा गर्नुपर्ने व्यवहारदेखि देशकै हितका लागि गर्नुपर्ने काम उल्लेख गरिएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको आचारसंहिता आइतबारदेखि नै लागू भएको नेकपाले जनाएको छ ।

आचारसंहितामा पार्टीका सबै तहका नेता, कार्यकर्ता र पार्टी सदस्यले परिवारभित्र कसैलाई पनि तँ भन्न नपाइने उल्लेख छ । ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाँहोचो, एकारान्त तथा तँ भन्न पूर्णरूपले बन्द गर्नुपर्छ,’ आचारसंहितामा भनिएको छ ।

आचारसंहितामा लेखिएको छ, ‘बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकपूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपछ ।’

यस्तै परिवारका सदस्यहरु सबै सँगै बसेर खाना खान पनि नेकपाले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आचारसंहितामा १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्ने तथा कार्यविभाजन गर्दा सबैभन्दा अप्ठ्यारो काम आफूले लिनुपर्ने भनिएको छ ।

महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख छ । यस्ता कार्यक्रममा मद्यपान, धुमपान वा छाडा व्यवहार गर्न भने प्रतिबन्ध लगाउन भनिएको छ ।

मनोरञ्जनका निम्ति शुभकामना आदानप्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्न नेकपाले पार्टी नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।

छोराछोरीको बिहे मितव्ययी ढंगले गर्न पनि नेकपाले निर्देशन दिएको छ । यस्तै पार्टी सदस्यहरूले आफ्नो कमाइबाट राज्यलाई कर तिर्न, जीवन निर्वाह गर्न र पार्टीलाई नियमित लेबी बुझाउन पनि भनिएको छ ।

समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरूद्ध सधैं खडा हुन पनि नेकपाले आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । 

घरेलु श्रमिक नराख्न, पाँचवर्ष पुगेका बालबालिकालाई अनिवार्य स्कुल पठाउनसमेत नेकपाले भनेको छ । नेकपाले यो आचारसंहिता लागू गर्न र गराउन सबै तहका कमिटीलाई निर्देशनसमेत दिएको छ ।

यस्ताे छ नेकपाकाे सर्कुलर  

अन्तिम अपडेट: बैशाख ७, २०८१

1 Comments

  • jAnardan Dahal

    Jan. 21, 2020, 7:09 a.m.

    राम्रो निर्देशन जारी भएछ । आजका कार्यकर्तालाई यो सिकाउनु आबस्यक थियोे । तर पार्टी कमिटीको मै लागुगर्न नसकिने अबस्थामा ब्यक्ति ब्यक्तिमा, उनीहरुको बुझाइमा एकरुपता ल्याउन सक्ला र ? एकातिर राजस्व लुकाउने, छल्ने र अर्कोतिर नक्कली परियोजनामा अनुदान लिने अनि बांडिचुडी खाने सांसद र जनप्रतिनिधि आँखै अगाडी देखिएको छन त्यो पनि सरकारी गुटमा । मानव तस्कर, भुमाफिया, अबैध उत्खननकर्ता, काम नसक्ने ठेकेदार र तिनलाई सघाउने कर्मचारी धेरै त पार्टी कार्यकता छन । निर्देशनलाई बङ्याउन थालिसके ।जब गलत गर्नेको बाहुल्यता हुन्छ तब सहि कुरा समेत मजाक बन्छ । यो सूचना त्यस्तो नबनोस शुभकामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया